सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउँबाट करिब ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गणबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार बिहान करिब सवा ३ बजेतिर मोटरसाइकलमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेका हो ।
गाँजा लोड भएको भारतीय बिआर ३२ एम ३०५७ नम्बरको मोटरसाइकलका चालक भने प्रहरीलाई देखेपछि फरार भएकाले मोटरसाइकल र गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनले बताए।
साढे आठ क्विन्टल गाँजासहित चार पक्राउ
पछिल्लो २३ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट आठ क्विन्टल ४६ किलो ७१५ ग्राम गाँजा बरामदसँगै एक भारतीयसहित चारजना पक्राउ परेको सिराहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ साउनको बिहान इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका– ४ बाट ९१ किलो २५ ग्रामसहित एकजना पक्राउ गरेको थियो । त्यसको अघिल्लो दिन सोही क्षेत्रबाट इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद गरेको थियो ।
त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका– ३, नयाँबस्तीस्थित स्थानीयको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजाजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले स्थानीय श्यामकुमारी साहको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको बा.२१च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लास्टिक क्रेटहरूमा ३१ वटा बोरा र दुईवटा प्लास्टिकमा लुकाएको गाँजाजस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको थियो ।