तीन वर्षमा करिब एक हजार दुई सय उद्योग–व्यवसाय बन्द भएका छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा एक हजार एक सय ९३ उद्योग–व्यवसाय बन्द भएका हुन् ।
उद्योग तथा व्यवसाय बन्द गर्नेको संख्या बढ्दै गएपछि अर्थतन्त्रमा संकट पर्नुका साथै उद्योगी–व्यवसायी पलायन हुँदै गएका छन् । तीन वर्षको तथ्यांक हेर्दा गत आव ०८२/८३ मा ३०६, आव ०८१/८२ मा पाँच सय २२ र आव ०८०/८१ मा तीन सय ६५ उद्योग तथा वाणिज्य फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उद्योग–व्यवसाय बन्द भएसँगै स्थानीयस्तरमा रोजगारीका अवसर गुम्न थालेका छन् । बन्द हुने उद्योग–व्यवसायको तुलनामा नयाँ दर्ता हुने उद्योग–व्यवसायको संख्या भने निकै कम छ । कार्यालयको तथ्यांकअनुसार गत आव ०८२/८३ मा १३, ०८१/८२ मा १२ र ०८०/८१ मा १५ उद्योग तथा वाणिज्य फर्म दर्ता भएको कार्यालयले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख इन्द्रराज खत्रीले कार्यालयमा उद्योग–व्यवसाय दर्ता गर्न आउनेभन्दा बन्द गर्ने आउनेको संख्या बढी रहेको बताए । उनले भने, ‘स्थानीय तहमा पनि व्यापार–व्यवसाय दर्ता गर्न सकिने व्यवस्था भएको हुँदा यहाँ उद्योग–व्यवसाय दर्ता गर्न आउनेको संख्यामा कमी आएको हुन सक्छ ।’ उद्योग–व्यवसाय स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भए पनि स्थायी लेखा नम्बर लिन कर कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय आउनुपर्ने हुन्छ ।
गत आवमा तीनवटा साझेदारी फर्म तथा ३० वटा प्राइभेट कम्पनी, त्यसैगरी आव ०८१/८२ मा ६ वटा साझेदारी फर्म, १७ वटा प्राइभेट कम्पनी र आव ०८०/८१ मा दुईवटा साझेदारी फर्म, २६ वटा प्राइभेट कम्पनीले स्थायी लेखा नम्बर लिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त प्रमुख कोष नियन्त्रक सुरेन्द्रबहादुर थारूले बताए ।
‘कतिपय उद्योग–व्यवसाय स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भए पनि स्थायी लेखा नम्बर लिन नआउने समस्या रहेको छ । स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर पनि स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ । तर, कतिपय व्यवसायीले स्थायी लेखा नम्बर नलिएको र कारोबार नगरेको पाइएको छ । स्थायी लेखा नम्बर नलिएको र कारोबारमा नगएको उद्योग–व्यवसायलाई आर्थिक विधेयक ०८३ अनुसार विभिन्न छुट दिएर दर्ता प्रक्रियामा आउन आह्वान गरिएको छ । यो सेवा लिन आन्तरिक राजस्व कार्यालय र कोष तथा नियन्त्रक कार्यालयबाट लिन सकिन्छ ।’
उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले स्थानीय उपभोक्ता सीमावर्ती बजारमा किनमेल गर्न जाने हुँदा बर्दियाको व्यापार घटेको बताए । ‘कोभिडको समयमा व्यापार–व्यवसाय ठप्प भयो,’ उनले भने, ‘व्यवसाय चल्न सकेन । लामो समयसम्म व्यापार–व्यवसाय बन्द हुँदा धेरै व्यवसायीले बैंकबाट लिएको ऋण तिर्न सकेनन् । त्यसको असर अहिले देखिन थालेको छ ।’