अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका– ९, ताम्सुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। पहिरोका कारण दर्जनौँ स्थानीय विस्थापित भएका छन्।
बिहीबार रातिदेखि परेको अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोमा परी दुईजना घाइते भएको र एकजना बेपत्ता भएको खबर प्राप्त भएको छ। बेपत्ता तथा घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले बताए।
त्रिवेणी नगरपालिका– ९ का वडाध्यक्ष नन्द थापाले रातिदेखि निरन्तर वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको बताए। उनका अनुसार बेपत्ता व्यक्तिको खोजी भइरहेको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहराको कमान्डमा १७ जना प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।
तर, अविरल वर्षाका कारण ताम्सु खोलामा पानीको बहाव बढेकाले प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन। घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।