मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
भरतपुर महानगरपालिका– ६, केसरबागस्थित किसान प्रगति सहकारीमा युरिया मल लिन लाइनमा बसेका किसान । फोटो सौजन्य : उमेशराज तिवारी
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o६:२२:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मल अभावले उत्पादन घट्ने चिन्तामा किसान

Read Time : > 7 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o६:२२:oo

अहिले धान हुर्किने वेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन् । ‘धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ । तर, सहकारी जाँदा मल छैन भन्छन्,’ कैलालीको भजनी नगरपालिका– १, चकुलियाका किसान मनोज कुमालले भने, ‘एक बोरा मल पाएको थिएँ । साढे तीन बिघालाई एक बोरा मलले पुग्दैन ।’ 

मल नपाएपछि आक्रोशित किसानले गत बुधबार मात्र धनगढी उपमहानगरपालिका– ११ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

जोशीपुर गाउँपालिकाको जोशीपुर बजारस्थित मल बिक्री गरिरहेका केही गल्लामा मल आएपछि पाँच दिनअघि किसानको ठुलो लाइन लागेको थियो । मल थोरै र किसानको संख्या धेरै भएपछि कतिपय विक्रेताले १०–१० किलो लिने गरी ५० किलोको बोरा समूहमा पाँचजनासम्म र कतिपयले एक बोरा दुईजनालाई बिक्री गरेका थिए ।  

जोशीपुरका किसान मन्नु चौधरीले युरिया मलको खोजीमा भौँतारिनुपरेको गुनासो गरे । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले सहकारीले मागेअनुसार मल दिन सकिने अवस्था नरहेको बताए ।

यद्यपि, उपलब्ध मल निर्धारित कोटाअनुसार सरकारी र बिक्रेतालाई मल बिक्री गरिरहेको उनले बताए । कार्यालयमा अहिले एक सय ८० टन मौज्दात रहेको बोगटीले दाबी गरे ।  

बोगटीका अनुसार देशमा आउने कुल मलको ९.२२ प्रतिशत सुदूरपश्चिमको पाउँछ । सुदूरपश्चिममा आउने मलमध्ये ५२ प्रतिशत कैलाली र ३२ प्रतिशत कञ्चनपुरमा बिक्री गरिन्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवको नेतृत्वमा हुने समितिले कुन पालिकालाई कति मल दिने भनेर तोकेको कोटाका आधारमा कृषि सामग्रीले सूचीकृत सहकारी र बिक्रेता र सहकारीलाई मल बिक्री गर्दै आएको छ ।

बाँकेको अवस्था पनि उस्तै छ । एकातिर पर्याप्त पानी नपरेर खेतमा धाँजा फाटेको छ भने अर्कोतिर मलको अभाव छ ।

युरिया मलका लागि नेपालगन्ज उपमहानगरपालिका–१७, परसपुरका बाबादिन साहु २५ र २६ साउनमा दुई दिन लाइनमा बसे । एक दिन सय बोरा र अर्को दिन २० बोरा युरिया आए पनि उनले पाएनन् । युरिया मलका लागि साहुले सहकारीलाई पैसासमेत बुझाइसकेका छन् । तर, मल पाएका छैनन् । ‘पाँच किलोका दरले बाँड्ने भन्थे, त्यति लिनुभन्दा लिन्न भनेर घर आएँ,’ उनले भने, ‘पाँच किलोले खेतको एउटा कुनामा पनि पुग्दैन । एक बिघा खेत छ ।’

राप्तीसोनारी गाउँपालिका–५, बिनौनाका हरिप्रसाद थारू युरिया मल खोजिरहेका छन् । ‘दुई–चार दिनपछि पाए मलको कुनै काम छैन । समयमा मल नपाउँदा धान बिग्रिने निश्चित छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका–१५, भवनियापुरका हिरालाल यादवको धान पहेँलो भएको छ ।  ‘बोरिङबाट पानी सिँचाइ गरेर युरिया हाल्ने योजना थियो । मल नै पाइँदैन । खेतमा धाँजा फाटिसक्यो,’ उनले भने ।

मल अभाव त छँदै छ, सहकारीको पनि बदमासी 
सिराहा औरही गाउँपालिका– ४, गणेशपुरका किसान मोतीलाल यादवललाई धानबालीमा हाल्न कम्तीमा ६ बोरा चाहिएको छ । तर, उनले एक बोरा डिएपी मात्र पाएका छन् । ‘रोपिसकेको धानको बोटको वृद्धि विकासका लागि प्रयोग गरिने डिएपी मल दुईपल्ट हाल्नुपर्छ,’ उनले भने, ‘सहकारी जाँदा मल पाइँदैन । गणेशपुरकै अमितकुमार यादवले दुई बिघा धान खेतमा छर्न तीन बोरा मल चाहिने भए पनि एक बोरा डिएपी मात्र पाएको गुनासो गरे । ‘वडा कार्यालयको सिफारिसमा गाउँको सहकारीबाट एक बोरा मल ल्याएर छरेको छु ।’ उनले भने ।

औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले आफ्नो वडा क्षेत्रका किसानका लागि एक लटमा कम्तीमा दुई हजार बोरा डिएपी मल चाहिने बताए । तर, वडाको कृषि सहकारीलाई कोटामा पारिएको पौने दुई सय बोरा डिएपी मल तीन दिनअघि मात्र वितरण गरिएको उनले बताए । ‘संघीय सरकारले आपूर्ति गर्ने रासायनिक मल प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको कोटा भाग लगाउँदा न्यून परिमाणमा मल आउँछ,’ उनले भने, ‘किसानको आक्रोशको निशाना जनप्रतिनिधि बन्नुपरिरहेको छ ।’ गाउँपालिकाको कृषि शाखाले ७ साउनको लटमा लहानस्थित कृषि सामग्री कम्पनीबाट गाउँपालिका क्षेत्रका ६ वटा कृषि सहकारीका लागि आठ सय ९० बोरा युरिया र पाँच सय ६२ बोरा डिएपी वितरण गरेको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक चेबनकुमार खड्काले कतिपय पालिकाको कृषि शाखाले बिक्रेता रहेका स्थानीय सहकारीलाई समयमा सिफारिस नदिने, सिफारिस पाएका सहकारीले पनि आफ्नो कोटामा परेको मल समयमा नलैजाने र आवश्यकताअनुसार वितरण नगर्दा समस्या भएको बताए । ‘७ साउनको लटमा कोटा पाएका सहकारीले आन्दोलन, कर्फ्युजस्ता कारणले समयमा मल उठाएनन्,’ उनले भने, ‘गाउँका किसानले त त्यो कुरा बुझ्दैनन् नि ।’ साउनमा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ पालिकामा रहेका एक सय ७१ वटा बिक्रेता कृषि सहकारीलाई २० हजार ५०० बोरा युरिया र १३ हजार ३० बोरा डिएपी मलको कोटा छुट्याएको थियो । तर,  कतिपय सहकारीले वेलामा मल नलैजाँदा समस्या भएको उनले बताए ।

उनका अनुसार १ भदौमा अर्को लटको मलको कोटा सूची सार्वजनिक गरिँदै छ । ‘त्यसपछि किसानहरूलाई युरिया र डिएपी मलको अभाव हुँदैन । सिराहामा १७ पालिकाका लागि २१ हजार ४४० बोरा (१ हजार ७२ टन) युरिया र २२ हजार ६८० बोरा (एक हजार १३४ टन) डिएपी आउने उनले जनाए ।

फारम भरे, मलको टुंगो छैन
रुपन्देही शुद्धोधन गाउँपालिका–३ का किसान टीकाराम अधिकारी डेढ बिघा खेतमा रोपेको धानमा रासायनिक मल हाल्न एक साता ढिला भइसकेपछि चिन्तामा छन् । टोल सुधार समितिमा आबद्ध ९० किसानले युरिया मल माग्दै फारम वडा कार्यालयमा बुझाएका छन् । तर, मल कहिले पाइने हो टुंगो छैन । ‘डेढ बिघा खेत छ । डेढ बोरा मल चाहिन्छ । तर, कहिले पाइने हो, टुंगो छैन,’ उनले भने, ‘अहिले मल हाल्न नपाए ढिलो हुन्छ ।’ ९० जनाले सय बोराभन्दा पनि धेरै माग गरिएकामा जम्मा ८ बोरा मल आएको आफूले सुनेको उनले बताए । आठ बोराबाट १० किलोका दरले वितरण हुने सुनाइए पनि वितरण नभएको उनले बताए ।

साल्ट टेडिङ कर्पोरेसन भैरहवाका प्रमुख देवराज भट्टराईले चालू आवमा ५ हजार ८५४ टन डिएपी बाँडिए पनि युरिया नआएको बताए । ‘एक महिनाभित्रमा युरिया आउने सम्भावना छ,’ उनले बताए । गत आवमा युरिया मल ६ हजार ३९० टन, डिएपी १७ हजार ९२३ टन र पोटास १ हजार ९०७ टन बिक्री भएको थियो ।  लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुमपूर्व अर्गानिक जिल्ला भएकाले त्यहाँ रासायनिक मल जाँदैन । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका निमित्त प्रमुख सुमन पन्थीले मागअनुसार मल उपलब्ध हुन नसकेको बताइन् । ‘मल पनि आउने क्रममा छ,’ उनले भनिन् ।

पूर्वी तराईमा मौसमले साथ दियो, किसानले पाएनन् मल

मोरङको कानेपोखरी गाउँपालिकाको भौँसाबारीमा मलका लाइनमा बसेका किसान

अन्य क्षेत्रको तुलनामा यसपालि बर्खामा पूर्वी तराईमा पर्याप्त पानी परेको छ । त्यही भएर रोपाइँ पनि राम्रो भएको छ । कोशी प्रदेशमा २५ साउनसम्म  ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ । गत वर्ष यही अवधिमा ७४.४२ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । समयमै रोपाइँ गर्न पाएर खुसी भएका मोरङका किसान मल नपाउँदा दुःखी बनेका छन् ।

बुढीगंगा गाउँपालिका–१, खापटोलका रमेश ऋषिदेवले एक बिघामा अघियाँ धान खेती गर्दै आएका छन् । ‘धान त असारमै रोप्नुपर्ने थियो । तर, मल आएपछि रोपौँला भनेर मध्य साउनमा रोपाइँ गरे,’ उनले भने, ‘रोपोमा हरियो फर्कन थालेको छ । मल छैन ।’

कानेपोखरी गाउँपालिका–१, होक्लाबारीका किसान रमेश थापा र रावन मुर्मु, मनोज मण्डल र शम्भु खड्का पनि रोपो हरियो फर्काउने वेलामा चाहिने मल नपाउँदा दुःखी छन् । दिनहुँ स्थानीय साना किसान सहकारीमा धाइरहे पनि मल नपाएको थापाले गुनासो पोखे ।

ग्रामथान गाउँपालिका–४ का शिक्षक नरेन्द्र बस्नेतले चार बिघा खेतका लागि मल खोजिरहेको बताए । ‘मलाई कम्तीमा चार बोरा मल चाहिएको छ । तर, एक बोरा मात्र पाएको छु,’ उनले भने । बुढीगंगा गाउँपालिका–१, करैया गाउँमा १० बिघा लिएर ठेक्कामा खेती गर्दै आएका उमालाल माझीले रोपाइँका बेला जेनतेन खोजेर काम चलाइए पनि हरियो फर्काउने वेलामा अभाव रहेको बताए ।

मल आएको थाहा पाएपछि हजार किसान लाइन लाग्ने गरेको मोतीपुर लोहन्द्र बचत तथा सहकारी संस्थाका सचिव सुदेशकुमार चौधरीले बताए । ‘मलको आपूर्ति सहज भएको छैन । किसान एक किलोमिटरसम्म लाइनमा हुन्छन् । तर, सबैले मल पाउँदैनन्,’ उनले भने, ‘अनि किसान हामीलाई गाली गरेर जान्छन् ।’

सुनवर्षी नगरपालिका–६ स्थित नवीन बचत तथा कृषि सहकारीमा साउन पहिलो साता भिड व्यवस्थापन गर्न गाह्रो हुँदा मल लिन आएका किसानबिच कुटाकुट नै भएको थियो ।

कृषि कम्पनी कोशी प्रदेश कार्यालय विराटनगरका सूचना अधिकारी डिल्लीराम पौडेल युरिया मलको माग बढी रहे पनि आपूर्ति कम रहेको बताए । विराटनगर गोदाममा युरिया मल १३ सय  टन मौज्दात रहेको उनले सुनाए । ‘अब तीन सिफ्टमा थप २४ हजार टन युरिया आउँदै छ । डिएपी १५ सय टन आउँदै छ,’ उनले भने, ‘यो मल आएपछि सहज हुन्छ ।’

विराटनगरस्थित साल्ट ट्रेडिङ डिपो प्रमुख राधेश्याम चौधरीले ६ हजार ९५५ टन डिएपी मल आएको र वितरण भइरहेको बताए  । ‘हामीकहाँ युरिया मल आइपुगेको छैन । ७ हजार टन युरिया भदौ दोस्रो हप्तासम्म आउँछ होला,’ उनले भने । कृषि ज्ञान केन्द्रका अनुसार मोरङमा धान सिजनमा मात्र ६ हजार टन डिएपी र १० हजार टन युरिया मल आवश्यक पर्छ । तीन सय ३६ कृषि सहकारीले मल वितरण गर्दै आएका छन् । कोशी प्रदेशमा धानबाली लगाउने कुल क्षेत्रफल २ लाख ७६ हजार ३६६ हेक्टर छ ।  साउन २५ गतेसम्म २ लाख ६८ हजार १०० हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  धान उत्पादन बढी हुने तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा रोपाइँ लगभग सकिएको छ ।

झापामा आवश्यकताअनुसार आएन युरिया मल
झापामा किसान सहकारीमा लाइन लाग्दासमेत बर्खे धानका लागि आवश्यक मल पाएका छैनन् । धानको एउटा सिजनमा किसानलाई दुईपटक युरिया मल आवश्यक पर्छ । धान रोपेको २१ दिनदेखि २५ दिनसम्म पहिलोपटक युरिया लगाइन्छ भने त्यसको एक महिनापछि दोस्रोपटक युरिया लगाइन्छ ।

झापामा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी र डिलरमार्फत मल किसानलाई उपलब्ध गराउँदै आएका छन् । तर, किसानलाई भने मल पाउन नै महाभारत रहेको छ । ‘पहिलो लटमा मल हाल्ने वेला बितिसक्यो । अब कहिले आउँछ थाहा छैन,’ कमल गाउँपालिका– ७ का किसान हरिप्रसाद सेढाईं भन्छन्, ‘जहिले आए पनि पर्खिएर हाल्नै पर्‍यो । हरियो भएसम्म हाल्न पाइयो भने अलिअलि फल्छ कि ?’

धानमा यस वेला युरिया मल लगाइन्छ । डिएपी भने खेती तयारी गर्दाको अवस्थामा लगाइन्छ । अहिले सबैले धान लगाइसकेकाले युरिया मलको आवश्यकता पर्छ । तर, धानमा युरिया लगाउने वेलामा नै मलको अभाव छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा बर्खे धान हुन्छ । यसका लागि १७ हजार ११७ टन युरिया आवश्यक पर्छ । तर, झापामा यो साउन महिनामा एक हजार ३७९ दशमलव ३५० टन मात्रै मल आएको छ । यो कृषि सामग्री कम्पनी लिमिटेडमार्फत आएको मल हो । ‘झापालाई कोटामा परेकोमध्ये अब १२० टन मल आउन बाँकी छ,’ कम्पनीका झापा प्रमुख दीपक राजवंशीले भने, ‘सोमबार नयाँ कोटा आउँछ ।’ 

साल्ट ट्रेडिङको झापा कार्यालयमा भने युरिया मलको मुख्य सिजनमा पनि मल आएको छैन । युरिया मल आउन अझै १० दिन लाग्ने साल्ट ट्रेडिङ झापाले जनाएको छ ।

चितवनमा बल्लबल्ल दुई किलो मल

भरतपुर महानगरपालिका– ६, केसरबागस्थित किसान प्रगति सहकारीमा युरिया मल लिन लाइनमा बसेका किसान । फोटो सौजन्य : उमेशराज तिवारी

चितवन धान खेत गोड्ने काम चलिरहेको छ । यही वेला धानलाई आवश्यक पर्ने युरिया मलको अभाव छ । खैरहनीका किसान तारा चौधरीले डेढ बिघा खेतमा धान लगाएका छन् । गोड्ने वेला युरिया मल छैन । ‘हाम्रो टोल विकास संस्थाले कुपनका आधारमा कट्ठाको दुई किलोका दरले मल दिएको छ । त्यो पर्याप्त हुँदैन । डेढ बिघा खेतमा मैले कम्तीमा दुई बोरा मल हाल्नुपर्छ । तर, पाएको छैन,’ उनले भने । भरतपुर–११ का किसान विष्णु अधिकारीले बिहानैदेखि लाइन बस्दा पनि मल नपाउने गरिएको बताए । ‘एक–दुई किलो मलका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ,’ उनले भने । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर कार्यालयका प्रमुख राजन बगाले भने पर्याप्त मल नपाइएको भनेर किसानले गरेको गुनासो स्वाभाविक रहेको बताए । ‘मागअनुसार आपूर्ति छैन । ५०० बोरा चाहिने ठाउँमा २०० बोरा मात्रै आउँछ,’ उनले भने, ‘भदौको पहिलो सातामा थप युरिया मल आउने तयारी छ ।’ धान सिजनमा कार्यालयले तीन चरणमा एक हजार ६२५ टन मल बिक्री गरिसकेको उनले बताए । अब ४५५ टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका कार्यालय प्रमुख बुद्धिविनोद दाहालले भदौको पहिलो साताभित्र थप युरिया मल आउने जानकारी आएको बताए । साल्ट ट्रेडिङले साउनमा मात्र पाँच हजार ३३९ बोरा युरिया, दुई हजार ८९० बोरा डिएपी र ३३५ बोरा पोटास मल बिक्री गरेको छ । ‘डिएपी मलमा अहिले समस्या छैन । युरिया पनि केही दिनभित्र आउँछ,’ उनले भने, ‘प्रदेशबाट कोटा निर्धारण भएपछि मात्रै परिमाण थाहा हुन्छ ।’

धनगढीमा तेजराज भट्ट, बाँकेमा विश्वराज पछल्डङ्ग्या, बुटवलमा विष्णु घिमिरे, हेटौँडामा पोष्टराज अधिकारी, लहानमा मणिलाल विश्वकर्मा, विराटनगरमा गणेश लम्साल, झापामा चिरञ्जीवी घिमिरे