मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
अजित अधिकारी काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o६:१३:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रोपाइँमा आधा मल, गोड्ने वेला झन् हाहाकार

Read Time : > 5 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o६:१३:oo
  • धान रोप्ने वेला दुई लाख टनभन्दा बढी मल चाहिन्छ, सरकारले किसानलाई १,१५,१८४ टन मात्रै वितरण गर्‍यो
  • अहिले धान गोड्ने वेला युरिया मात्रै कम्तीमा एक लाख टन चाहिन्छ, तर सरकारी गोदाममा १४,०५५ टन मात्रै मौज्दात छ, चर्को घाममा दिनभरि लाइन लाग्दा पनि किसानले मल पाइरहेका छैनन्

कृषि विभागका अनुसार देशभर ९६ प्रतिशतभन्दा बढी भूभागमा रोपाइँ सकिएको छ । धमाधम मैझारो गरिरहेका किसानले यो वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाइँ सकाएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा दुई लाख टनभन्दा बढी रासायनिक मल आवश्यक पर्छ । तर, यी दुई महिनामा सरकारले एक लाख १५ हजार १८४ टन मल मात्रै वितरण गरेको छ ।

कुल खपतको आधा मात्रै वितरण गर्दा किसान मलका लागि लामो लाइनमा लाग्न बाध्य भएका थिए । रोपाइँका वेला मल नपाएका किसान अहिले फेरि धान गोड्ने वेला ‘टप ड्रेसिङ’का लागि युरियाको खोजीमा कृषि सहकारी संस्थाको गेटसम्म पुगेर लामो लाइन बस्न बाध्य छन् । तर, अहिले पनि मागेजति मल सरकारले दिन सकेको छैन ।

कृषि मन्त्रालयले गोदाममा भने रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा ४८ हजार ६२७ टन मल छ । यसमध्ये युरिया १४ हजार ५५ टन, डिएपी १८ हजार ६३१ टन र पोटास १५ हजार ९४१ टन मौज्दात छ । कुल मौज्दातमध्ये कृषि सामग्रीको गोदाममा ३० हजार ६०२ टन र साल्ट ट्रेडिङको गोदाममा १८ हजार २५ टन रहेको मन्त्रालयले जनाएको छ ।

टप ड्रेसिङका लागि युरिया मात्रै कम्तीमा एक लाख टन आवश्यक पर्छ । तर, अहिले सरकारको गोदाममा १४ हजार ५५ टन मात्रै छ । पश्चिम क्षेत्रका किसानले अगुवा धान लगाउने भएकाले अहिले नै ‘टप ड्रेडिङ’ गर्ने वेला भइसकेको छ । रोपाइँ हरियो भएर आउना साथ युरिया छरेर हलक्कै बढाउने गरिन्छ । तर, युरियाको अभावमा ‘रोपो’ अग्लो हुन नसकेको किसानको गुनासो बढ्दै गएको छ । अन्यत्रका किसानले भने भदौ लागेपछि टप ड्रेसिङका लागि मल खोज्ने गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले अहिले गोदाममा भएको मल ‘टप ड्रेसिङ’का लागि वितरण गर्दागर्दै थप मल आपूर्तिसमेत हुने दाबी गरे । रोपाइँका वेला पनि सकेसम्म धेरै मल वितरण गरिएको उनको दाबी छ । ‘रासायनिक मलको माग उच्च छ, त्यसैले हाम्रो क्षमताले भ्याएसम्म बढी आयात गरेर किसानलाई वितरण गरेका छौँ,’ उनले भने, ‘टप ड्रेसिङलाई पनि जतिसक्दो धेरै मल वितरण गर्ने गरी काम भइरहेको छ ।’

एक लाख ८० हजार टन आउँदै
कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलले एक लाख ८० हजार टन रासायनिक मल बाटोमा आउँदै गरेको बताए । यसमध्ये एक लाख ३० हजार टन युरिया र ५० हजार टन डिएपी रहेको उनले जानकारी दिए । ‘९० हजार टन युरिया कोलकाता आइसक्यो,’ उनले भने, ‘उक्त मल नेपालमा क्रमशः भित्रिरहेको छ । त्यस्तै, डिएपी ५० हजार टनसमेत कोलकाता आइपुगेको छ ।’

जहाजमा कोलकाता आइपुगेको मल प्याकिङ गरेर नेपाल पठाउन करिब १५ दिन लाग्छ । त्यसपछि भने दुई–तीन दिनको अन्तरमा २५ सय टनका दरले मल नेपाल पठाउने गरिन्छ । साउन महिनामा मात्रै २३ हजार ७०५ टन मल भित्रिसकेको उनले जानकारी दिए ।

‘बाटोमा रहेको मल नेपाल भित्रिन थालेकाले माग भएका ठाउँमा आपूर्ति परिमाण बढाउन सकिन्छ,’ उनले भने, ‘गोदाममा भएको मल पनि सबै क्षेत्रमा समान हिसाबले वितरण भइरहेको छ ।’ भारतबाट जिटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय भएको ५० हजार टनमध्ये २० हजार टन डिएपी पनि आउने क्रममा रहेको उनले बताए ।

यो वर्ष साढे पाँच लाख टन खरिद गर्ने लक्ष्य
कृषि मन्त्रालयका अनुसार यो वर्ष साढे पाँच लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखिएको छ । यसमध्ये दुई लाख ४० हजार टनको आर्थिक वर्ष सुरु हुनुअगावै अर्थ मन्त्रालयबाट स्रोत सहमति लिएर टेन्डर भइसकेको छ । यसरी टेन्डर भएकोमध्ये पनि एक लाख ८० हजार टन आउने क्रममा छ । यो वर्ष ३२ अर्ब ४६ करोड १९ लाख रुपैयाँ रासायनिक मल अनुदानका लागि विनियोजन भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा भने रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान विनियोजन भएको थियो । त्यसबाट चार लाख ९१ हजार तीन सय टन खरिद भएको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलले रासायनिक मलको माग उच्च रहेकाले सरकारले वितरण गरिरहेको परिमाण अपुग भएको बताए । ‘वार्षिक करिब १३ लाख टन रासायनिक मलको माग छ, तर हामीले ५–६ लाख टन खरिद गर्ने गरी बजेट विनियोजन गर्दै आएका छौँ,’ उनले भने, ‘लक्ष्यअनुसार खरिद गर्न कहिलेकाहीँ बजेट नै अपुग हुन्छ । जसकारण किसाने मागेजति वितरण गर्न नसकिएको हो ।’

कृषि सामग्रीको सात प्रदेशको गोदाममा कहाँ कति छ मौज्दात ?
कृषि सामग्री कम्पनीको देशभर ४१ स्थानमा कार्यालय छन् । यी कार्यालयहरूमा रहेका गोदाममा मंगलबारसम्म ३० हजार ६०२ टन मल मौज्दात रहेको कृषि कम्पनीको बिक्री विभाग प्रमुख विष्णुप्रसाद केसीले जानकारी दिए । यसमध्ये युरिया १० हजार ८७१, डिएपी १० हजार १०८ र पोटास नौ हजार ६२३ टन मौज्दात रहेको केसीले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा आठ हजार ४४ टन युरिया, चार हजार १८ टन डिएपी र एक हजार ८७४ टन पोटास मौज्दात छ । त्यस्तै, मधेशमा पाँच हजार २३५ टन युरिया, तीन हजार १९५ टन डिएपी र चार हजार नौ टन पोटास मौज्दात छ । बागमतीमा दुई हजार २० टन युरिया, एक हजार ४१८ टन डिएपी र २२९ टन पोटास, गण्डकीमा २१६ टन युरिया, ५३८ टन डिएपी र ८५० टन पोटास तथा लुम्बिनीमा दुई हजार ३०६ टन युरिया, चार हजार ७१० टन डिएपी र तीन हजार २०२ टन पोटास मौज्दात छ ।

त्यस्तै, कर्णालीमा १९ टन युरिया, ४५ टन डिएपी र १९ टन पोटास तथा सुदूरपश्चिममा २८८ टन युरिया, ८० टन डिएपी र २०१ टन पोटास मौज्दात रहेको केसीले जानकारी दिए । उनका अनुसार एक सातायता रासायनिक मल आपूर्ति सन्तोषजनक रहेकाले बिक्री पनि बढिरहेको छ । ‘पछिल्लो समय रासायनिक मलको आयात बढेको छ । त्यसैले बिक्रीमा पनि सुधार भइरहेको छ,’ उनले भने, ‘मंगलबार मात्रै देशभर दुई हजार ३३६ टन मल बिक्री भएको छ ।’

साल्ट ट्रेडिङका २३ गोदाममा १८ हजार टन मौज्दात
साल्ट ट्रेडिङका देशभर रहेका २३ गोदाममा मंगलबारसम्म १८ हजार २५ टन रासायनिक मल मौज्दात छ । साल्ट ट्रेडिङको सेक्टर १ अन्तर्गतको बिर्तामोड, राजविराज, लाहान र विराटनगर कार्यालयमा तीन हजार ३५५ टन मौज्दात छ । यसमध्ये युरिया एक हजार १७९ टन, डिएपी ८१९ टन र पोटास एक हजार ३५७ टन रहेको छ ।

त्यस्तै, सेक्टर २ अन्तर्गतको कालीमाटी, कोटेश्वर, नुवाकोट, बनेपा, पोखरा, बागलुङ, जनकपुर, हेटौँडा, नारायणगढ र वीरगन्ज कार्यालयमा कुल सात हजार ५९८ टन मौज्दात छ । यसमध्ये युरिया एक हजार ३८३ टन, डिएपी तीन हजार ३३९ टन र पोटास दुई हजार ८७५ टन मौज्दात छ ।

सेक्टर ३ अन्तर्गतको कृष्णनगर, नेपालगन्ज, गुलरिया, धनगढी, दाङ, सल्यान, सुर्खेत, महेन्द्रनगर र भैरहवाका कार्यलयमा कुल सात हजार ७० टन मल मौज्दात छ । यसमध्ये युरिया ६२० टन, डिएपी चार हजार ३६४ टन र पोटास दुई हजार ८५ टन मौज्दात छ ।

किसान भन्छन्– समयमा नपाएको मलको के अर्थ ? अझै दुई–चार दिन नपाए काम छैन
युरियाका लागि नेपालगन्ज उपमहानगर– १७, परसपुरका बाबादिन साहु २५ र २६ साउनमा दुई दिन लाइनमा बसे । एक दिन सय बोरा र अर्को दिन २० बोरा युरिया आए पनि उनले पाएनन् । मलका लागि उनले सहकारीलाई पैसासमेत बुझाइसकेका छन् । ‘पाँच किलोका दरले बाँड्ने भन्थे, त्यति लिनुभन्दा लिन्नँ भनेर घर आएँ,’ उनले भने, ‘एक बिघा खेत छ, पाँच किलोले खेतको एउटा कुनामा पनि पुग्दैन ।’ राप्तीसोनारी गाउँपालिका– ५, बिनौनाका हरिप्रसाद थारू पनि मल खोजिरहेका छन् । ‘समयमा नपाएको मलको के अर्थ ? अझै दुई–चार दिन नपाए काम छैन । समयमा मल नपाउँदा धान बिग्रिने निश्चित छ,’ उनले भने । मल पाएपछि सिँचाइ गर्छु भनेर पर्खेका नेपालगन्ज भवनियापुरका हिरालाल यादवको धान पहेँलो मात्रै भएको छैन, खेतमा धाँजा फाट्न थालिसक्यो ।

सरकार भन्छ– ९० हजार टन युरिया कोलकाता आइसक्यो, नेपाल आइपुग्न १५ दिन लाग्छ
कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले एक लाख ३० हजार टन युरिया र ५० हजार टन डिएपी मल आउँदै गरेको बताए । ‘९० हजार टन युरिया र ५० हजार टन डिएपी कोलकाता आइपुगिसक्यो,’ उनले भने, ‘उक्त मल नेपालमा क्रमशः भित्रिरहेको छ । जहाजमा कोलकाता आइपुगेको मल प्याकिङ गरेर नेपाल ल्याउन करिब १५ दिन लाग्छ ।’ साउनमा मात्रै २३ हजार ७०५ टन मल भित्रिसकेको उनले बताए । ‘बाटोमा रहेको मल नेपाल भित्रिन थालेकाले माग भएका ठाउँमा आपूर्ति परिमाण बढाउन सकिन्छ,’ पोखरेलले भने, ‘गोदाममा भएको मल पनि सबै क्षेत्रमा समान हिसाबले वितरण भइरहेको छ ।’ उनका अनुसार यसबाहेक भारतबाट जिटुजी प्रक्रियामार्फत खरिद गरिने ५० हजार टनमध्ये २० हजार टन डिएपी पनि आउने क्रममा छ ।