रोल्पा पहिरो अपडेट : प्युठानमा भेटिएका पाँचै शवको पहिचान, मृतकको संख्या १० पुग्यो
रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको पहिरोमा परी मृत्यु भएका मध्ये प्युठानमा फेला परेका पाँचै शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बेपत्ता भएका व्यक्तिमध्ये प्युठानमा फेला परेका शवहरू थबाङ गाउँपालिका–५ का स्थानीयको रहेको पुष्टि भएको हो ।
पहिचान हुनेमा थबाङ–५ निवासी अन्दाजी ३८ वर्षीया जुनकुमारी पुन मगर (उपनाम विष्णु पुन), अन्दाजी ५ वर्षीय अशोक पुन मगर, अन्दाजी ८० वर्षीय बलबहादुर पुन मगर, अन्दाजी ६६ वर्षीया मनि पुन मगर र अन्दाजी ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् ।
देउवालाई स्वागत गर्दै कांग्रेसले भन्यो– अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वस्त छौँ
नेपाली कांग्रेसले लामो समयपछि स्वदेश फर्किएका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठक देउवालाई स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ।
केन्द्रीय कार्यसमितिले पार्टीको गर्विलो इतिहास निर्माणमा देउवाको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गरेको नेतृत्वप्रति सम्मान प्रकट गर्दै निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएका देउवाले आफू कुनै शक्ति प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका हुन्।
देउवाले कांग्रेस एकताबद्ध भएर देशका क्रियाशील सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिबिच सहकार्य आवश्यक रहेको बताएका छन्।
नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
भूमि समस्या समाधान समितिले नापजाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
साबिक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो।
‘कृषि उपजको आपूर्ति श्रृंखलामा पाँच तहसम्मका बिचौलिया’
नेपालमा कृषि उपजको आपूर्ति श्रृंखलामा पाँच तहसम्मका बिचौलियाहरू संलग्न रहेको देखिएको छ। कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधारका लागि गठित सुझाव कार्यदलको प्रारम्भिक अध्ययनअनुसार कृषि उपज किसानदेखि उपभोक्तासम्म पुग्दा पाँच तहसम्मका बिचौलिया हुँदै जाने गरेको छ।
सरकारले यी अनावश्यक तहहरूलाई घटाएर दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। आपूर्ति श्रृंखला सुधारका सिफारिसहरू कार्यान्वयनमा आए किसानले प्राप्त गर्ने मूल्यमा करिब ३० प्रतिशतसम्म वृद्धि हुन सक्ने कार्यदलको प्रारम्भिक अनुमान छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरिएको थियो।
अब सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अनधिकृत व्यक्तिको भर पर्नुनपर्ने
सरकारी कार्यालयमा निवेदन लेख्न, फारम भर्न वा आवश्यक कागजात मिलाउन सेवाग्राहीले अब अनधिकृत व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले सरकारी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
२० हजार घुससहित पक्राउ परेका मालिगाउँ वृत्तका सइलाई एक महिना कैद
२० हजार रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी वृत्त मालीगाउँका प्रहरी नायब निरीक्षक(सइ)लाई अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले बुधबार उनलाई दोषी ठहर गरी एक महिना कैद, २० हजार जरिवाना र आठ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको हो ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले गत २५ वैशाखमा दायर भएको मुद्दामा फैसला सुनाएको हो। गत १७ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो।
दीपक भट्टसँगको सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी गुप्ता जेल चलान
बिचौलिया दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी रोहित गुप्ता जेल चलान भएका छन्। विशेष अदालतले उनलाई बिहीबार थुनामा पठाउने आदेश दिएको छ।
उनी हिमालयन रि-इन्स्योरेन्सका पूर्वसञ्चालक हुन्। सो कम्पनीको रकम दुरुपयोग गरी दुई अर्ब ७३ करोडको अवैध रूपमा सेयर खरिद गरिएको र यसमा गुप्ताको पनि संलग्नता रहेको भन्दै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो।
समाचारमार्फत व्यक्तिगत गोपनीयता हननको कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत, काठमाडौंले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतले पहिलोपटकका लागि अनुमति दिएको हो।
उनलाई प्रहरीले बुधबार ललितपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो। एक युवतीले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले फौजदारी कसुरमा पक्राउ गरेको हो। प्रहरीले बिहीबार उनको कार्यालय र घरमा समेत खानतलासी लिएको छ।
मुख्यमन्त्री शाहले दिए पदबाट राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका हुन्।
यसअघि सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिने घोषणा गरेका थिए। प्रदेश सभालाई सम्बोधनपछि राजीनामापत्र बुझाउन उनी सरकारका मन्त्रीहरूसहित सिधै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका हुन्।