Skip This
प्रेरक प्रसंग : साँचो र झुटको आयु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २७ बुधबार o५:४५:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : साँचो र झुटको आयु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o५:४५:oo

एकपटक खराब आत्माहरूले भगवान्सित असल आत्मालाई सानदार महलमा र आफूहरूलाई चाहिँ खण्डहरमा राखेर विभेद गरिएको गुनासो गरे । 

ईश्वरले भने– मैले त सबैलाई एकै प्रकारका घर बनाएको थिएँ । तिमीहरू आफ्नै कर्मले खराब बनेका हौ । तर, भगवान्ले सम्झाउँदा पनि खराब आत्माहरूले आफूहरूमाथि विभेद भएको गुनासो गरिरहे । भगवान्ले केहीबेर सोचे र असल र खराब दुवै आत्मालाई भने– खराब आत्माहरूको अनुरोध र गुनासो सुनिसकेपछि मैले एउटा निर्णय लिएको छु । अब तिमीहरूका सबै महल ध्वस्त हुनेछन् । त्यसपछि तिमीहरूले आफ्ना लागि अलग–अलग सहरको आफैँ निर्माण गर्नुपर्नेछ । पृथ्वीमा मानिसले साँचो या झुटो बोलेपछि यहाँ (स्वर्गमा) इँटा तयार हुनेछन् । सबै इँटा समान र उत्तिकै मजबुत हुनेछन् । झुटो बोल्दा तयार हुने इँटा प्रयोग गर्ने कि साँचो बोल्दा तयार हुने इँटा प्रयोग गर्ने, योचाहिँ तिमीहरूले नै तय गर्नुपर्नेछ । 

खराब आत्माहरूले सोचे– पृथ्वीमा साँचो बोल्नेभन्दा झुटो बोल्ने मानिस नै बढी छन् । त्यसैले, त्यही इँटा प्रयोग गरियो भने विशाल सहर छिटो तयार हुन सक्छ । त्यसैले, उनीहरूले झुटो बोल्दा तयार हुने इँटा रोजे । दुवै सहरको निर्माण एकसाथ सुरु भयो । प्रशस्त इँटा प्राप्त भएकाले खराब आत्माहरूको विशाल सहर छिटै तयार भयो । असल आत्माहरूको भने निकै ढिलो गरी सहर निर्माण हुँदै थियो । 

खराब आत्माहरूको सहर निर्माण सम्पन्न भइसकेपछि एउटा अचम्मको घटना देखिन थाल्यो । उनीहरूका महलबाट अचानक इँटाहरू गायब हुन थाले । हुँदाहुँदा नयाँ र भव्य सहर पुनः खण्डहरमा परिणत भयो । फेरि उनीहरू भगवान्का अगाडि उपस्थित भएर आफ्नो सहर खण्डहर भएको, भवनका इँटा गायब भएको गुनासो गरे । 

भगवान्ले मुस्कुराउँदै भने– भनेपछि जजसले झुटो बोलेका थिए, तिनको झुट पक्रियो । त्यसैले, तिनले झुटो बोल्दा बनेका इँटा गायब भए । किनकि, झुटको आयु छोटो हुन्छ । झुट एक न एक दिन पक्राउ पर्छ । झुट र बेइमानीको बाटो हिँड्न सजिलो हुन्छ । तर, अन्त्य दुःखद हुन्छ । साँचो बोल्नेहरूको सफलता ढिलो हुन्छ । तर, चिरस्थायी हुन्छ ।