खाना पकाउने एलपिजी ग्यासको अभावले उपभोक्ता हैरान भइरहेका वेला कम तौल राखेर सिलिन्डर पठाउने उद्योग र अनुगमनमा असहयोग गर्ने बिक्रेतालाई मोरङ प्रशासनले जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमनका क्रममा सिलिन्डरमा कम तौल राख्ने कोशी ग्यास उद्योग र अनुगमनमा असहयोग गर्ने बिक्रेतालाई जरिवाना गरेको हो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार अनुगमन गर्ने क्रममा बुढीगंगा गाउँपालिका–४, निमुवामा रहेको कोशी ग्यास उद्योगले सिलिन्डरमा कम तौल राखेको फेला परेपछि दुई लाख २९ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, अनुगमनमा असहयोग गर्ने विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको हो।
सहायक प्रजिअ कोइरालाका अनुसार कोशी ग्यास उद्योगपरिसरमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३ केजी ७८४ ग्राम मात्र ग्यास रहेको भेटिएको थियो। परीक्षण गरिएका अन्य ६३ वटा सिलिन्डरको तौलसमेत औसत १४ केजी १८५ केजी ग्राम मात्र रहेको पाइएको थियो।
साथै, उद्योगपरिसरमा रहेका खाली सिलिन्डरको तौल परीक्षण गर्दा पनि १० वटामध्ये नौवटा सिलिन्डरमा तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल पाइएको थियो।
जिल्ला प्रशासन कार्यालयले एलपिजी ग्यासको अभाव देखिएपछि ग्यास उद्योग, डिपो, सबडिपो तथा बिक्री केन्द्रमा तीनवटा टोली परिचालन गरेर निरन्तर अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा मात्र नभएर सार्वजनिक रूपमै मोरङ प्रशासनले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गरेको पाइए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।