न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने विषयमा आफ्नो कार्यालयले अझै पनि विचार गरिरहेको बताएका छन् । ‘द न्युयोर्क टाइम्स’ को ‘द इन्टरभ्यु’ पोडकास्टमा बोल्दै मेयर ममदानीले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क सहरको भ्रमण गरेमा नेतन्याहुलाई पक्राउ गर्ने चेतावनी दिएका हुन् ।
आफ्नो प्रशासनको कानुनी विभागले नेतन्याहुको सम्भावित गिरफ्तारीबारे सक्रिय रूपमा छलफल गरिरहेको उनले बताए । आफ्नो निर्वाचन अभियानका क्रममा पनि उनले सोही प्रतिबद्धता जनाएका थिए । ‘मेरो विचारमा प्रधानमन्त्री नेतन्याहु द हेग (अन्तर्राष्ट्रिय अदालत)मा पेस गरिनुपर्ने व्यक्ति हुन्,’ ममदानीले भने, ‘उनी एक युद्ध अपराधी हुन् जसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले अभियोग लगाएको छ । र, धेरै मानिसहरूको यस्तै धारणा छ, यसको मुख्य कारण विगत धेरै वर्षहरूमा उनले गरेका कार्यहरूको परिणाम नै हो ।’
कानुनले आफूलाई पक्राउको अनुमति दिन्छ भन्ने प्रश्नमा ममदानीले जवाफ दिए, ‘यस विषयमा हाम्रो कानुनी विभागसँग निरन्तर छलफल भइरहेको छ । यद्यपि, राष्ट्रियस्तरमा कहिलेकाहीँ आफ्नै कानुन बनाउने वा कानुनी दायराभन्दा बाहिर जाने चाहना देखिने गरेको छ । त्यस्तो कार्यमा हाम्रो कुनै रुचि छैन ।’
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा र त्यसपछि युद्ध अपराध गरेको आरोप लगाउँदै आइसिसीले सन् २०२४ मा नेतन्याहु र अन्य इजरायली नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनले आइसिसीको उक्त पक्राउ पुर्जीको निन्दा गरेका छन् ।
अमेरिकाले ‘रोम विधान’लाई अनुमोदन गरेको छैन । यस विधानले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई पक्राउ गर्न सम्बन्धित देशहरूलाई बाध्य पार्छ । ट्रम्प प्रशासनले आइसिसीविरुद्धको आफ्नो लामो समयदेखिको संघर्षलाई अझ तीव्र बनाएको छ । हालै विदेशमन्त्री मार्को रुबियोले उक्त अदालतलाई ‘विघटन’ गर्ने प्रतिबद्धता जनाउँदै अदालतले ‘अमेरिकाविरुद्ध गोली वा क्षेप्यास्त्रको सट्टा तथाकथित अन्तर्राष्ट्रिय कानुनको बल प्रयोग गरेर युद्ध छेडेको’ आरोप लगाएका छन् ।
ममदानी इजरायली सरकारका कडा आलोचक हुन् । उनले गाजामा इजरायलले गरेको युद्धलाई बारम्बार ‘नरसंहार’ भन्दै आलोचना गर्दै आएका छन् । इजरायलले भने त्यस अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले शनिबार मेयरको टिप्पणीलाई ‘पूर्णतया राजनीतिक नाटक’को संज्ञा दिँदै अमेरिका आइसिसीको सदस्य नरहेको कुरा औँल्याए ।
यसै साताको सुरुमा डब्लुएबिसी रेडियोका प्रस्तोता सिड रोजेनबर्गसँग कुरा गर्दै नेतन्याहुले आफूलाई पक्राउ गर्नुपर्ने ममदानीको मागलाई अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले शनिबार सामाजिक सञ्जालमा भने, ‘नेतन्याहु न्युयोर्क आउनेछन्, गर्वका साथ संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् र इजरायलको सत्य तथा आफ्ना नागरिकहरूको रक्षा गर्ने यसको अडिग अधिकारबारे विश्वसमक्ष आफ्नो कुरा राख्नेछन् ।’
मेरो विचारमा प्रधानमन्त्री नेतन्याहु अन्तर्राष्ट्रिय अदालतमा पेस गरिनुपर्ने व्यक्ति हुन् । उनी एक युद्ध अपराधी हुन् जसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले अभियोग लगाएको छ ।
सिएनएनका लागि एलिना फायजको रिपोर्ट