समाजको तत्कालीन माग र आवश्यकताअनुसार पत्रकारिताका लागि भाषाशैली र प्रस्तुतिको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई हरेक पत्रकारले आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा सिराहाको लहानमा आइतबार आयोजित ‘विश्वसनीय, मर्यादित र विश्वसनीय पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता र भाषाशैलीसम्बन्धी अभिमुखीकरण’सम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा वक्ताहरूले नागरिक पत्रकारिताको रूपमा लिइने सामाजिक सञ्जालको बढ्दो प्रयोगअनुसार भाषाशैली र आचारसंहितालाई नजरअन्दाज गरिँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा आयोजित कार्यक्रममा मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले डिजिटल र छापा माध्यममा कार्यरत पत्रकारहरू भाषाशैली र प्रस्तुतिमा चुक्न थालेको औँल्याए । ‘त्यसलाई पत्रकारितासम्बन्धी पेसागत तालिमले निखार्न सक्छ,’ उनले भने, ‘सामाजिक सञ्जाल होस् वा अन्य सञ्चारमाध्यम, कतै पनि मर्यादाहीन र सामाजिक मूल्यमान्यताविपरीतका सामग्री सम्प्रेषण नगरौँ ।’ पत्रकारिता चुनौतीपूर्ण हुँदाहुँदै सामाजिक विकासका लागि अपरिहार्य क्षेत्र भएकाले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने अन्यथा विश्वसनीयता गुम्दै टिक्न कठिन हुनेतर्फ सजग गराए ।
महासंघका सिराहा शाखा अध्यक्ष मनोज बनैता यादवले घट्दो साख जोगाउँदै मर्यादित पत्रकारिताका लागि अभिमुखीकण उपलब्धिमूलक रहने चर्चा गरे । काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाले स्रोत पुष्टि नगरी अमर्यादित रूपले लेखिएका समाचारले पत्रकारिताको मर्यादा खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । ‘चौथो अंग भनिएको पत्रकारितामा स्वनियम, आचारसंहिता पालना र भाषिक शुद्धतामा ध्यान दिनैपर्ने भएको छ,’ उनले भनिन्, ‘प्रविधिसँग बढी नजिक रहेको नयाँ पुस्तालाई स्वच्छ पत्रकारिताको अभ्यास, मर्यादित पत्रकारिता कसरी बुझाउने र सिकाउने भन्ने विषय पुराना र अनुभवी पुस्ताको पनि जिम्मेवारी हो ।’
अभिमुखीकरणमा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले समाचार, समाचार खोज्ने दृष्टिकोण, समाचारमा भाषाशैलीको महत्त्व, डिजिटल र भाइरल पत्रकारिता, नागरिक पत्रकारिता, पत्रकार आचारसंहिताको कसीमा जिम्मेवार पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा महासंघका शाखा अध्यक्ष बनौतालाई उत्तम सहकार्यका लागि मायाको चिनो प्रदान गरिएको थियो ।