नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी नीतिकै कारण व्यवसायमा अनेकौँ समस्या आउने गरेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट हेर्दा चम्किलो देखिए पनि भित्र चुनौतीले भरिएको बताए । विगतमा उत्कर्षमा पुगेको कार्पेट, गार्मेन्ट, पस्मिनाजस्ता व्यवसाय खस्किएको उदाहरण दिँदै उनले भने, ‘कुन वेला कुन व्यवसायमा चुनौती आउँछ, थाहा नहुने रहेछ, समस्या सरकारी नीतिले नै ल्याउने गरेको छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय समस्यै–समस्याले जेलिएको र बढी जोखिमपूर्ण कारोबार भएको बताए । सुनचाँदी र आभूषण व्यवसायीले सरकारी नीतिका कारण चाहेर पनि सही किसिमले काम गर्न नसक्ने अवस्था रहेको उनले बताए । महासंघका अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पनि हिरा र बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने र विलासिता कर तथ्यांक राख्ने प्रयोजनका लागि मात्र न्यूनतम दरमा लगाउनुपर्ने बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपाली ग्राहक हिराजडित गरगहना किन्न बाहिर नजाने वातावरण बनाउन हिरा र बहुमूल्य पत्थरमा लाग्ने मूल्य अभिवृद्धि कर हटाएर सुनको विलासिता कर एक प्रतिशत गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष तथा आयोजक संघकी निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठले मूल्य अभिवृद्धि कर नहटाए हिरा र रत्न पत्थरको व्यवसाय धराशायी हुने बताइन् ।
महासंघका कोषाध्यक्ष तथा संघका पूर्वअध्यक्ष मनीषलाल प्रधानले सुनचाँदी र आभूषणको क्षेत्रले असाध्यै धेरै सम्भावना बोकेको भए पनि सरकारी बेवास्ताको सिकार बनेको बताए । चार लाख परिवार आश्रित रहेको गरगहना क्षेत्र अपर्याप्त कच्चा पदार्थ, बाहिरबाट किन्दा बिल नपाउने र बिल नहुँदा समस्यामा परिने, खुला सिमानाबाट हुने चोरी–पैठारीजस्ता समस्याबाट आक्रान्त रहेको उनको भनाइ छ । व्यवसायीको वासलातका आधारमा सुन देऊ भन्दा पनि नपाएको गुनासो गरे । प्रधानले बिल बनाउनका लागि परिचयपत्र माग्दा ग्राहक भाग्ने अवस्था रहेको भन्दै सुनचाँदी र गरगहना खरिदमा क्युआरबाट भुक्तानी गर्न मिल्ने सीमा १० लाख रुपैयाँ पुर्याउन माग गरे ।