मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ कार्तिक २२ शनिबार
  • Monday, 31 August, 2026
एड पिल्किङ्टन
२o८२ कार्तिक २२ शनिबार o७:३८:oo
Read Time : > 6 मिनेट
विश्व प्रिन्ट संस्करण

पुँजीवादको राजधानीमा समाजवादी कमान्डर

आखिर पुँजीवादको राजधानीको कमान्ड यी समाजवादी भनिने नेताले कसरी हासिल गरे ?

Read Time : > 6 मिनेट
एड पिल्किङ्टन
नयाँ पत्रिका
२o८२ कार्तिक २२ शनिबार o७:३८:oo
  • ममदानीको विचार र सञ्चार क्षमताबाट तानिएर उनको पक्षमा प्रचार गर्न तयार पैदल सेनाको संख्या चुनावको रातसम्ममा एक लाखभन्दा बढी पुगेको थियो । यस विशाल परिचालनलाई केहीले न्युयोर्क सहरको इतिहासकै ठुलो राजनीतिक अभियानको संज्ञा दिएका छन् ।

मंगलबार अमेरिकी राजनीतिमा एकखालको तरंग आयो । देशको सबैभन्दा ठुलो तथा सम्पन्न सहर न्युयोर्क सिटीमा एकजना ३४ वर्षीय युवा, मुस्लिम र समाजवादी बताउने नेताले मेयर निर्वाचन जिते । सन् १९९१ अक्टोबरमा युगान्डामा जन्मिएका जोहरान ममदानी नामका ती नेता गुजराती मुस्लिम पिता र पन्जाबी हिन्दु आमाका सन्तान हुन् । उनी सात वर्षको उमेरमा मात्र अभिभावकसँगै अमेरिकाको न्युयोर्क सरेका थिए । 

मेयर पद जित्ने क्रममा ममदानीले डेमोक्र्याटिक पार्टीको आन्तरिक निर्वाचनमा पार्टीका पुराना दिग्गज नेतालाई पछि पारेर उम्मेदवारी हासिल गरे । र, पछि पार्टीको आन्तरिक निर्वाचनमा हारेपछि स्वतन्त्र उम्मेदवारी दिएका न्युयोर्क राज्यका पूर्वगभर्नर एन्ड्रयु क्वोमोलाई पनि हराए । जितसँगै उनले न्युयोर्क सहरको पहिलो मुस्लिम मेयरको इतिहास बनाएका छन् । त्यस्तै, अमेरिकी संस्थापनको आक्रमणको तारो हुने थाहा पाउँदापाउँदै पनि उनले आफ्नो लोकतान्त्रिक समाजवादी विचार लुकाएनन् । आखिर पुँजीवादको राजधानीको कमान्ड यी समाजवादी भनिने नेताले कसरी हासिल गरे ? 

यो सफलता उनले न्युयोर्कको गल्ली–गल्ली गएर मतदाताको घरघर पुगेर तिनको ढोका ढकढक्याउने विशाल स्वयंसेवीको बलमा हासिल गरेका थिए । ममदानीको विचार र सञ्चार क्षमताबाट तानिएर उनको पक्षमा प्रचार गर्न तयार पैदल सेनाको संख्या चुनावको रातसम्ममा एक लाखभन्दा बढी पुगेको थियो । यस विशाल परिचालनलाई केहीले न्युयोर्क सहरको इतिहासकै ठुलो राजनीतिक अभियानको संज्ञा दिएका छन् । ममदानीले आफ्नो विजय भाषणमा यो समूहप्रति सम्मान व्यक्त गर्दै यसलाई ‘रोक्न नसकिने शक्ति’को संज्ञा दिए । हुन पनि सो समूह अनवरत रूपमा हरेकजसो न्युयोर्कवासीको घरको ढोका ढकढक्याउन पुगेको थियो । जुन, चुनावी सक्रियताबाट प्रेरित भएर यसपटक आधा शताब्दीयताकै ठुलो स्तरमा नगरवासी मतदानमा सहभागी भएका थिए । 

ममदानीको जित गत नोभेम्बरमा डोनाल्ड ट्रम्पबाट कमला ह्यारिसको पराजयप्रति विश्वासको संकटबाट गुज्रिरहेको डेमोक्र्याटिक पार्टी निराशामा व्याप्त भएको समयमा आएको छ । यसमा ममदानीले विजयका लागि अपनाएको रणनीतिमाथि अहिले डेमोक्रेटिक पार्टीका रणनीतिकारहरूले नजिकबाट ध्यान दिएको हुनुपर्छ । आखिर उनीहरू पार्टीलाई अहिलेका निराशाको दलदलबाट बाहिर निकाल्ने विकल्पमाथि खोजीमा जो छन् । 

सन् १९९१ अक्टोबरमा युगान्डामा जन्मिएका जोहरान ममदानी नामका ती नेता गुजराती मुस्लिम पिता र पन्जाबी हिन्दु आमाका सन्तान हुन् । उनी सात वर्षको उमेर मात्र अभिभावकसँगै अमेरिकाको न्युयोर्क सरेका थिए । 

नौ महिनाको छोटो समयमा, ममदानी न्युयोर्क राज्यका एक अज्ञात सभासद्बाट न्युयोर्क सहरको मेयर पदमा पुगे । मेयर पदको उम्मेदवारी दिँदा ममदानी मतसर्वेक्षणमा सबैभन्दा पुछारमा थिए । तर, तल्लो तहमा खट्न स्वतस्फूर्त रूपमा अघि आएका स्वयंसेवीकेन्द्रित चुनावी अभियानले प्रभाव देखायो । यस अभियानमा बेतलबी न्युयोर्कवासीहरू नै ममदानीका प्रगतिशील परिवर्तनको सन्देशका संवाहक बने । ठुलो संख्यामा न्युयोर्कवासी, अझ विशेषत: युवायुवती, विपन्न र श्रमिक वर्गसहित ‘सबैले बाँच्न सक्ने सहर’ बनाउन सकिने ममदानीको प्रभावकारी सन्देशबाट उत्साहित भएर सहभागी भएका थिए । 

ममदानीका सल्लाहकार समूहले सुरुवाती दिनमै किफायती सहर निर्माणको नाराले मतदातालाई प्रभावित बनाएको महसुस गरेको थियो । यो सहरका नामी अखबरहरूले ठुलो युवा समर्थकहरूको सेना परिचालित गरिरहेको एकजना अपरिचित मेयर उम्मेदवारबारे समाचार छाप्न थाल्नुभन्दा पनि अघिको कुरा हो ।

अल्भारो लोपेज डिसेम्बरमा ममदानीको पक्षमा सम्पन्न पहिलो ठुलो प्रचार अभियानअन्तर्गत घरदैलो अन्तरक्रिया सरिक थिए । लोपेज ममदानी जोडिएको राजनीतिक समूह ‘डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका (डिएसए)’को न्युयोर्क शाखाका चुनावी संयोजक हुन् । ममदानीको चुनावी अभियानमा डिएसएस सबैभन्दा बढी खटेको थियो । डिसेम्बरको अभियान डेमोक्रेटिक पार्टीको उम्मेदवार छान्ने प्राथमिक चुनावको लगभग ६ महिनाअघि भएको थियो । त्यतिवेला उनको टिमले ममदानीको चुनावी नारा कत्तिको प्रभावकारी छ भनेर परीक्षण गर्न न्युयोर्कका सात स्थान छनोट गरेका थिए । मुख्यत: घरभाडाको सिमा तोक्ने (रेन्ट फ्रिज) मुद्दालाई डिएसएको प्रभाव रहेको श्रमिकबस्तीको घरघरमा गएर उठाइयो । परीक्षण सफल भए लक्षित समूहमा थप अन्य न्युयोर्कवासीहरूलाई समावेश गर्ने लक्ष्य राखिएको थियो । 

लोपेजले त्यो दिन नसोचेको प्रतिक्रिया देखे । उनी एस्टोरिया क्षेत्रको एउटा अपार्टमेन्ट ब्लकमा घरदैलोका क्रममा भेट भएको एकजना महिलासँगको अन्तरक्रिया सम्झछन् । ती महिला ‘रेन्ट फ्रिज’को कुराले यति उत्साहित भइन् कि उनले केही नभई आफ्नो पर्स निकाले केही नगद चन्दा दिइन् । जबकि ती महिला त्यस नीतिले प्रभाव नपर्ने क्षेत्रमा बस्थिन् । लोपेज यस्तो उत्साही प्रतिक्रिया देखेर छक्क परे । 

त्यतिवेला ममदानीको समूहले चुनावी अभियानका लागि कोष संकलन च्यानलसमेत स्थापना गरेको थिएन । वरिपरि गएका अन्य समूह सदस्यले पनि लोपेजलाई उस्तै उत्साहप्रद प्रतिक्रिया पाएको जवाफ दिए । उनीहरूलाई पनि मानिसले ५, १०, २० डलरका नोट दान गरेका थिए, जुन त्यतिवेला मागिएकै थिएन । ‘मतदाताहरूले सहर सबै बस्न सक्ने सस्तो हुनुपर्छ भन्ने चुनावी वाचाप्रति धेरै सकारात्मक देखियो,’ लोपेजले भने । 

त्यो सुरुवात मात्र थियो । छिट्टै ममदानीको चुनावी अभियान विशाल कोष संकलन र भुइँतहमा स्वयंसेवक परिचालन अभियानमा परिणत भयो । उता, त्यही समय ममदानीका प्रतिद्वन्दी क्वोमोको अभियान भने व्यावसायिक स्वार्थ समूहबाट ठुलो रकम चन्दा आकर्षित गर्नमा केन्द्रित थियो । यता, ममदानी भने धेरैबाट ससाना चन्दा रकम संकलनमा लागिरहे । ममदानीको समूहले सन् २०१६ को राष्ट्रपतिको उम्मेदवारीमा भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले अपनाएको रणनीति पछ्याएका थिए । स्यान्डर्स ममदानीलगायत अमेरिकाभर लोकतान्त्रिक समाजवादी विचारधाराका प्रेरणासमेत हुन् । 

डिसेम्बरको फिल्ड परीक्षणको ठीक तीन महिना अर्थात् मार्चसम्ममा ममदानीले रेकर्ड थोरै समयमा कानुनले तोकेको खर्च संकलन भएपछि प्राथमिक चुनावका लागि कोष संकलन स्थगित गरे । उनले त्यतिवेलासम्म १८०,००० दाताहरूबाट ८० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेका थिए । डेमोक्रेटिक पार्टीको उम्मेदवार चुनिएपछि फेरि नोभेम्बर आमचुनावका लागि खोलिएको चन्दा संकलन अभियान अभूतपूर्व छिटो समयमा सेप्टेम्बरमै ८० लाख डलर सिमामा पुग्यो र पुन: संकलन बन्द गरियो । 

ममदानीको चुनावी अभियानले केवल कोष संकलनमा मात्र रेकर्ड हासिल नगरी स्वयंसेवी भर्तीमा पनि उस्तै रेकर्ड बनायो । उनको चुनावी अभियान सञ्चालन गर्ने टिमले घरदैलो प्रचार गर्ने ‘क्यानभासर’ भनिने समूहको सञ्जाल निर्माणका लागि २५० ‘फिल्ड लिडर’ माग गरेका थिए । तर, फिल्ड लिडरका लागि आह्वान गरिएको एक हप्ताभित्र ५०० जनाभन्दा बढी सम्पर्कमा आए । यही कुरा पछि सामान्य स्वयंसेवकहरूको हकमा पनि दोहोरियो । ‘सामान्य स्वयमसेवीको संख्या नसोचेको दरमा बढेपछि हामीले तिनलाई नेतृत्व गर्ने फिल्ड लिडरको संख्यासमेत बढाउँदै लानुपरेको थियो,’ लोपेजले भने । ठुला संख्यामा स्वयंसेवा गर्न चाहनेको दरखास्त आफैँमा असामान्य थियो । 

प्राय: डेमोक्र्याटिक उम्मेदवारको चुनावी अभियान टिभीमा देखाइने ३० सेकेन्डको विज्ञापनमा निर्भर हुन्छ । उठेको चन्दाको ठुलो हिस्सा यही विज्ञापन देखाउन टिभी राइट किन्नमै खर्च हुन्छ । चुनाव नजिकिएपछि मात्र अन्तिम दिनतिर मतदाताका घरदैलोमा ढोका ढकढक्याएर सम्पर्क स्थापित गर्ने अभियान सञ्चालन गरिन्छ। 

क्वोमोले यही पुरानो शैली पछ्याएका थिए । यो ‘टपडाउन’ शैलीअन्तर्गत उनले घरदैलो गर्ने ‘क्यानभासर’समेत पैसा तिरेर खटाउनुपरेको थियो । जबकि, ममदानीका हकमा क्यानभासरका रूपमा उत्साहित समर्थकहरू नि:शुल्क खटिएका थिए । ममदानी चुनावी अभियान सुरुदेखि नै ‘टपडाउन’ शैलीको नभएर फिल्डमा खटिने स्वयंसेवीमार्फत चलेको थयो । 

ममदानीको चुनावी अभियान ट्रम्पले ह्यारिसलाई हराएको केही समयपछि मात्र सुरु भएको थियो । ह्यारिसको चुनावी अभियान मूलत: लोकतन्त्रमाथि ट्रम्पबाट खतरा रहेको भन्नेमा केन्द्रित देखिन्थ्यो । ममदानीले ह्यारिसजस्तो मतदातालाई लेक्चर दिएर चुनावी अभियान सफल नहुने पाठ सिके । त्यसैले, उनले ह्यारिसको भन्दा विपरीत दिशामा जाने निर्णय गरे । जसअन्तर्गत मतदातालाई व्याख्यान दिनेभन्दा उनीहरूका कुरा सुन्न जोड दिए । प्राय: अधिकांशको गुनासो दैनिक जीवनका कठिनाइसँग जोडिएकाले उनको चुनावी अभियान पनि आममानिसको विशिष्ट संघर्षको वरिपरि केन्द्रित हुन थाल्यो । 

यही मतदाताको आवाज सुनेर ममदानीले रेन्ट फ्रिज(घरभाडामा सीमा तोक्ने), नि:शुल्क द्रुत बस सेवा, महानगरले चलाउने सस्तो मूल्यको किराना पसल र नि:शुल्क बालस्याहार सेवालाई मुख्य चुनावी प्रतिबद्धता बनाए । उनको प्रयास हिजो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई मत हाल्ने श्रमिक वर्गका मानिसलाई आकर्षित गर्ने पनि थियो । चुनावपछि जारी एक्जिट पोलले प्रयासले काम गरेको संकेत गरेको छ । जस्तो, एक वर्षअघि मात्र ट्रम्पलाई ११ प्रतिशत मतअन्तरले बढी मत दिएको ब्रोंक्स क्षेत्रका (जहाँ बहुसंख्यक हिस्पैनिक अर्थात् ल्याटिन अमेरिकी मूलका मानिस बस्छन्) मतदाताले ममदानीले उल्लेख मत दिएका छन् । त्यसबाहेक युवा मतदाता उनको उदयको मुख्य शक्ति देखियो । जस्तो, १८ देखि २९ वर्ष उमेर समूहका ७८ प्रतिशतले उनलाई समर्थन गरेका छन् । 

सामाजिक सञ्जाल ममदानीको रणनीतिको अर्को महत्वपूर्ण हिस्सा रह्यो । सामाजिक सञ्जाललाई ममदानीले ‘अनुवाद नचाहिने राजनीति’ गर्ने मार्गका रूपमा पाएको गार्जियनसँगको अन्तर्वार्तामा भने । ‘त्यो के भनेको भने, समाजिक सञ्जालको सहयोगले मानिसहरूले सामना गरिरहेका संकटका बारेमा सीधा–सीधा कुरा गर्न सक्नुहुन्छ, कुनै मध्यस्थकर्ताविना । मानिसहरूले आफ्नो फोनमा तपाईका भिडियो सन्देश सीधै हेर्न सक्छन् । जस्तो, यदि मैले घरभाडा ‘फ्रिज’ गर्दैै छु भने तपाईंलाई यो मबाट आएको हो भनेर जान्न सक्नुहुन्छ,’ ममदानीले भने ।

ममदानीले मतदातासँग प्रत्यक्ष सञ्चारको यस विशाल सम्भावनाप्रति आँखा खोलिदिने श्रेय न्युयोर्कबाट तल्लो सदनकी सदस्य र डेमोक्रेटिक समाजवादी अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजलाई दिन्छन् । २०१८ मा अलेक्जान्ड्रियाले ‘द करेज टु चेन्ज (परिवर्तन गर्ने साहस)’ नारामा सफल चुनावी अभियान सञ्चालन गरेकी थिइन् ।

मेयर पदको चुनावी प्रचारका क्रममा सामाजिक सञ्जालको प्रयोगको सम्बन्धमा ममदानी उस्ताद देखिए । उनले कतै हाँसो ठट्टा गर्दै, कतै आफैँमाथि व्यंग्य हान्दै, कतै बलियो तर्क गर्दै रचनात्मक तथा स्वाभाविक लाग्ने कैयौँ भिडियोहरू ल्याए, जसमध्ये धेरै भाइरल भए । अधिकांश मिडिया कभरेजमा छुटेको तथ्य, ममदानीले आफ्नो सामाजिक सञ्जालमार्फत उनको स्थल स्वयंसेवकहरूले फैलाइरहेको ‘सहर सबैको पहुँचयोग्य बनाउने’ सन्देशलाई झन् चर्को बनाए । अझ, ममदानीले सहरका उल्लेख्य आप्रवासीले बोल्ने स्पेनिस, अरबी र हिन्दी भाषामा समेत भिडियो सन्देश बनाए ।

खासमा, ममदानीको यसपटक फिल्ड अपरेसन सञ्चालन गर्न, स्वयंसेवी आकर्षित गर्न देखाएको कौशलको अभ्यास उनले वर्षौँदेखि गरिरहेका थिए । ममदानीको जस्तो मतदाता परिचालनको जादुगरी सीप यसअघि अर्का डेमोक्रेटिक राजनीतिज्ञ बाराक ओबामाले देखाएका थिए । र, ओबामाजस्तै ममदानीले पनि यो सीप विभिन्न सामुदायिक संगठनमा सरिक हुँदा सिकेका थिए । उनी सामुदायिक संगठनमा कम्तीमा पनि २०१५ को क्विन्स क्षेत्रको नगर परिषद् अभियानमा स्वयंसेवा गरेदेखि नै छन् । तर, ओबामाले सत्तामा पुगेपछि आफ्ना स्वयमसेवीलाई बेवास्ता गरेर निराश बनाएका थिए भने ममदानीको समूहले त्यो गल्ती नदोहोर्‍याउने बताएका छन् ।

(‘वियोन्ड द मदर कन्ट्री’ पुस्तकसमेत लेखेका एड् पिल्किङ्टन गार्जियनको अमेरिकी खण्डका चिफ रिपोर्टर हुन् । द गार्जियनबाट श्रवण उप्रेतीको अनुवाद)