
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग ९ पुस ०८२ देखि होम एन्ड अवे प्रणालीमा सुरु गर्ने प्रस्ताव गरेको छ । ‘ए’ डिभिजनका १४ क्लबका पदाधिकारीसँग आइतबार भएको बैठकमा एन्फाले लिग होम एन्ड अवेअनुसार गर्ने प्रस्ताव राखेको हो । एन्फाले मोफसलका विभिन्न जिल्लाका घरेलु मैदान बनाउन छलफल गरेको जनाएको छ । लिगको प्राविधिक र व्यवस्थापकीय विषयमा ३१ भदौमा कार्यशाला आयोजना गर्ने सहमति भएको छ ।
बैठकमा एन्फा महासचिव किरण राईले लिगको ढाँचा होम एन्ड अवे प्रणालीअनुसार गर्ने प्रस्ताव राखेका थिए । एन्फाले आफ्नो सोसल मिडियामा एन्फा महासचिव राईले बैठकमा योजना प्रस्तुत गरेको जनाएको छ । एन्फाले गत वैशाखमा धुलिखेलमा भएको साधारणसभाबाट क्यालेन्डर पारित गर्दै ‘ए’ डिभिजन लिग १ पुस ०८३ देखि ३१ जेठसम्म गर्ने तय गरेको थियो । क्लबहरूसँग छलफलपछि एन्फाले ९ पुसदेखि लिग सुरु गर्ने प्रस्ताव राखेको हो ।
नेपालमा शीर्ष डिभिजन लिग नभएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो दुई सिजन ‘ए’ डिभिजन लिग आयोजना भएन । अन्तिमपटक लिग भएको ०७९/८० को सत्रमा थियो । जुन ०८० जेठ अन्तिममा सकिएको थियो । सो लिगको उपाधि नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले जितेको थियो । त्यसपछि ०८०/८१ र ०८१/८२ को सिजन पनि लिग भएन । यसअघि ‘बी’ डिभिजन लिग नहुँदा लिग साइकल पूरा नभएको भन्दै ‘ए’ डिभिजन लिग नभएको एन्फाले जनाएको थियो । अहिले ‘बी’ डिभिजन लिग सकेको छ ।
मोफसलका मैदान घरेलु हुने
बैठकमा ‘ए’ डिभिजनका सबै क्लबलाई मोफसलका विभिन्न जिल्लामा रहेका मैदानलाई घरेलु मैदान बनाउन प्रस्ताव गरेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले १४ वटै क्लबलाई मोफसलमा रहेका मैदानमा घरेलुका रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको बताए । अहिले झापा, मोरङ, सिमरा, हेटौँडा, चितवन, पोखरा, सुर्खेत, नेपालगन्ज, धरानलगायत स्थानका मैदानलाई १४ क्लबले घरेलुका रूपमा प्रयोग गर्न सक्छन् । हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले मोफसलमा गएर होम मैदान बनाउन सहज नभएको प्रतिक्रिया राखेका थिए । तयारी खर्च नदिने एन्फाको प्रस्तावमाथि बृहत् छलफल भएको थियो ।