मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १६ सोमबार o८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बानेश्वरमा एकीकृत समाजवादीका नेताहरूको भेला माओवादीसँग तत्काल एकता सम्भव छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o८:१o:oo

माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबिच एकताको विषयमा छलफल चलिरहेका वेला एकीकृत समाजवादीका ५० केन्द्रीय सदस्यले तत्काल एकता सम्भव नभएको प्रारम्भिक निष्कर्ष निकालेका छन् । आगामी केन्द्रीय कमिटी बैठकको तयारीका लागि भन्दै बानेश्वरमा संयुक्त छलफलमा जुटेका उनीहरूले पार्टीमा आधिकारिक छलफलसमेत नगरी एकता प्रक्रिया अघि बढाएकोमा असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा साझा धारणा तय गर्न छलफल प्रारम्भ भएको एक केन्द्रीय सदस्यले बताए । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षका नेताहरूले छलफल गरे पनि दुवै नेताको सचिवालयले भने अनभिज्ञता प्रकट गरेका छन् । खनाल आइतबार राजधानीमै थिए भने भुसाल विदेशमा छन् ।

‘केन्द्रीय समिति बैठकमा उठाउने विषयबारे सामान्य छलफल भयो । सिंगो वामपन्थी आन्दोलनमा देखापरेको समस्या, पार्टीभित्रै देखापरेका समस्यालगायत विषयमा साझा धारणा बनाएर जान्छौँ । आज प्रारम्भिक छलफल भयो । फेरि थप छलफल हुन्छ,’ छलफलमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘समग्र वाम आन्दोलन संकटमा छ । वाम आन्दोलनलाई एकत्रित गर्ने सवालमा हाल एउटा पार्टीसँग मात्र एकता गर्ने महत्वपूर्ण कुरा होइन । अहिले हाम्रो पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ । त्यो समस्या सुल्झाएर मात्र वाम एकता र ध्रुवीकरणको पहलकदमी लिनुपर्छ ।’

छलफलमा नेताहरू जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विजय पौडेल, हरि पराजुली, धर्म निरौला, केदार सञ्जेल, प्रेमल खनाल, प्रमोद शर्मा, लक्ष्मण लम्साल, नरेश शाही, हिरेन्द्र शाही, दामोदर अर्याल, अशेष घिमिरे, विजय गुरुङ, सुवास खतिवडा, दीपक पौडेल, गोपाल बराल, सीता ओझा, सीमा रिजाल, सुशील भट्टराईलगायत ५१ जना नेता सहभागी थिए । 

केन्द्रमा संस्थागत निर्णय नगरी प्रदेशमा एकताका लागि राय माग्ने काम भएको र सीमित नेतासँग मात्र राय मागिएको गुनासो केन्द्रीय सदस्यहरूको छ । ‘माओवादीसँग एकताका लागि भन्दै प्रदेशगत रूपमा राय माग्ने काम भयो । केन्द्रीय सदस्यलाई थाहा छैन । पार्टीले संस्थागत निर्णय नगरी एकताको हल्ला चलाइएको छ । यी सबै विषय केन्द्रीय समिति बैठकमा उठाउँछौँ,’ ती नेताले भने । अध्यक्षमाथि भ्रष्टाचार मुद्दा लाग्दा पनि केन्द्रीय समिति बैठक बोलाउन ढिलाइ गरिएको भन्दै सहभागी केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् । ‘अध्यक्षले मुद्दा लागेको तीन महिनासम्म केन्द्रीय कमिटी बैठक बोलाउनुभएन । तीन महिनापछि भदौ अन्तिममा बैठक बस्दै छ ।