मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
यम बम काठमाडाैं
२o८२ भदौ ११ बुधबार o५:५८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

छोडपुर्जी दिने निमित्त वन अधिकृत शाही र फरार व्यापारी लामा घनिष्ठ साथी

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o५:५८:oo

जडीबुटीको कन्टेनरमा आठ करोडको भेप बरामद प्रकरण

सेतक चिनीका नाममा तस्करी भएको करिब आठ करोड रुपैयाँबराबरको विद्युतीय चुरोट (भेप) बरामद भएपछि हुम्ला डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीको भूमिका शंकास्पद देखिएको छ । लोकजंग कांग्रेस नेता एवं कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीका भाइ हुन् । लोकजंगले अहिले मोबाइल कल फरवार्ड गरेर राखेका छन् ।

अधिकृत छैटौँ तहका कर्मचारी शाहीले आफ्ना साथीसमेत रहेका कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्र, हुम्लाका सञ्चालक कुन्साङ दोर्जी लामालाई सेतकचिनी निकासीका लागि ५ भदौमा छुटपुर्जी दिएका थिए । हुम्लाबाट भेप बोकेर हिँडेको कन्टेनरले असामान्य रुट प्रयोग गरेको थियो ।

तर, राजस्व अनुसन्धान विभागलाई कन्टेनरमा भेपसमेत रहेको सूचना पुगेपछि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीले शनिबार दैलेखमा उक्त कन्टेनर बरामद गरेको थियो । बरामद सामग्री खोलेर हेर्दा ३९ हजार नौ सय थान विभिन्न प्रकारका भेप फेला परेको अनुसन्धान अधिकृतहरूले बताएका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलवालले सूचनाका आधारमा कन्टेनर नियन्त्रणमा लिइएको र त्यसमा चार प्रकारका भेप भेटिएको बताए । ‘कन्टेनर हुम्लाबाट छुटेसँगै हाम्रो टिमले कभर गर्दै लगेको थियो, दैलेखमा बरामद भयो । राजस्व अनुसन्धान कार्यालय, कोहलपुर लगेर टाँचा खोलेर हेर्दा ३९ हजार नौ सय थान भेप भेटियो । भेप पनि तीन–चार प्रकारका छन्,’ उनले भने ।

कन्टेनरले छोडपुर्जी पाएका वेला डिभिजनल वन अधिकृत चन्द्रवीर गुरुङ सुर्खेतमा वार्षिक समीक्षा कार्यक्रममा सहभागी थिए । यस्तै, सब–डिभिजनका प्रमुख कमल रावल पारिवारिक बिदामा काठमाडौंमा थिए । सोही वेला निमित्त प्रमुख बनेका शाहीले छोडपुर्जी दिएका थिए । जसले उनको भूमिकामाथि प्रश्न उठेको हो । 
डिभिजन र सब–डिभिजनका प्रमुखहरू बिदामा भएका वेला लामाले ३ भदौमा छोडपुर्जीका लागि निवेदन दिएका थिए । त्यसको दुई दिनमा ५ भदौमा निमित्त प्रमुख शाहीले छोडपुर्जी दिनुले मिलेमतोको आशंका गरिएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चिलवालले हिल्साबाट छोडेदेखि बरामदी स्थलसम्म जोडिएका सबै पक्ष केलाएर अनुसन्धान हुने बताए । ‘बुधबार अनुसन्धान अधिकृत तोक्छौँ र पक्राउ परेका तीनजनाको बयान हुन्छ । त्यही आधारमा अनुसन्धान अघि बढ्छ,’ उनले भने, ‘हिल्सा नाकाबाट के–कति, कस्तो सामान आएको/आउने गरेको छ, जडीबुटीको नाममा छोडपुर्जी दिइएको विषय सबै केलाएर अनुसन्धान हुन्छ ।’

छोडपुर्जीमा पाँच हजार किलो सेतकचिनी संकलन र निकासीको इजाजत दिइएको उल्लेख छ । तर, कन्टेनरको माथिल्लो भागमा केवल दुई हजार ४०६ किलो सेतकचिनी र त्यसमुनि ठूलो मात्रामा भेप बरामद भएको हो । छोडपुर्जीमा प्रतिकिलो २५ रुपैयाँ दरमा जम्मा एक लाख २५ हजार रुपैयाँ मात्र राजस्व लिइएको उल्लेख छ ।

कोहलपुर अनुसन्धान अधिकृत उमेशराज रिमालका अनुसार वनको छोडपुर्जीमा प्रेषकको नाम कैलाश ईश्वर जडीबुटी खरिदबिक्री गर्ने (प्रो. कुन्साङ दोर्जी लामा) प्रस्ट भए पनि नेपालगन्जतर्फ प्रापकको नाम–ठेगाना उल्लेख गरिएको छैन । ‘जसले सामान पठायो, उही जिम्मेवार हुन्छ,’ उनले भने, ‘यसमा छोडपुर्जी दिने अधिकारीदेखि सम्पूर्ण संलग्न पक्ष जिम्मेवार हुन्छन् ।’

डिभिजन वन हुम्लाका डिभिजनल वन अधिकृत चन्द्रवीर गुरुङले आफू जिल्लामा रहुन्जेलसम्म सतेकचिनी निकासीको छोडपुर्जीको निवेदन नआएको बताए । ‘म मन्त्रालयको वार्षिक समीक्षाका लागि ३ भदौमा सुर्खेत आएको हुँ, ५ भदौमा समीक्षा थियो । अहिले पनि सुर्खेतमा भएकाले मिडियामा आएका खबरबाहेक थाहा पाएको छैन,’ उनले भने, ‘सहायक वन अधिकृत लोकजंग शाहीलाई निमित्त दिएर आएको हुँ ।’ मुचु सब–डिभिजनका प्रमुख कमल रावलले पनि आफू पारिवारिक कारणले बिदामा रहेका वेला जडीबुटी गएकाले आफूलाई थाहा नभएको बताए ।

जडीबुटी भनेर भेप पठाउने व्यापारी लामा फरार
जडीबुटी भनेर चीनबाट तस्करी भएको आएको भेप नेपालगन्ज पठाउने कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्र, हुम्लाका सञ्चालक कुन्साङ दोर्जी लामा सम्पर्कविहीन छन् । दैलेखको आठबिसकोट नगरपालिका– ६ बाट ना.अ.प.आ ८३ नम्बरको कन्टेनरबाट भेप बरामद गर्नुका साथै तीनजना पक्राउ गरेपछि लामा फरार भएका हुन् । हुम्लाको सिमकोट गाउँपालिका– ५ का २७ वर्षीय छिरिङ लामा, मुगुको खत्याड गाउँपालिका– ५ का ३२ वर्षीय जनक रोकाय र सोही ठाउँका २७ वर्षीय कन्टेनरचालक भूमि रोकाय भेपसहित पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिहरूको मोबाइलबाट राजस्व कार्यालयले गिरोहका नाइकेहरू पत्ता लगाउने प्रयास गरेको छ । हाल भन्सारबाट भेप आयात गर्न दिइएको छैन । तर, नेपालमा ठुलो मात्रामा भेप बरामद भइरहेको छ ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत रिमालका अनुसार कोहलपुर क्षेत्रमा भेप बरामद भएको यो पहिलो घटना हो । पछिल्लो केही समययता चीनसँगका मुख्य नाकाहरू केरुङ र तातोपानीबाट आयात अवरुद्ध छ । जसकारण चीनसँगका साना नाकाबाट ठुलो मात्रामा तस्करीका सामान आउन थालेको भेटिएको छ ।

कसरी हुन्छ जडीबुटी संकलन अनि छोडपुर्जी 
जडीबुटी संकलन, घाटगद्दीदेखि निकासीमा वनको भूमिका रहन्छ । संकलन पुर्जी डिभिजन वनले दिन्छ भने घाटगद्दीको मुचुल्का सब–डिभिजनबाट खटिएका कर्मचारीले गर्छन् । निकासीका लागि छोडपुर्जी डिभिजन वन अधिकृतले दिने भए पनि बोरा र ढुवानीको साधन सिलबन्दीका लागि सब–डिभिजनका प्रतिनिधि पनि सहभागी हुन्छन् । यसरी सिलबन्दी गरेर पठाइएको जडीबुटी भन्सारमा पुगेपछि सम्बन्धित अधिकारीले खोल्न पाउछन् । राज्यका अनुसन्धानका निकायले भने शंका लागेमा जफत गर्न पाउँछन् ।

कन्टेनरका लागि किन फेरियो रुट ?
कर्णाली करिडोरमार्फत हुम्ला सिमकोट–बाजुराको सीमाछेउछाउ हुँदै, कालीकोट–दैलेख–सुर्खेत–कोहलपुर–नेपालगन्ज रुट हो । तर, डिभिजन वनले जडीबुटी भनिएको कन्टेनरलाई छोडपुर्जी दिँदा हुँदै नभएको रुट समावेश गरेको छ । ‘नियमानुसार २१ दिनभित्र घाटगद्दी स्थान नाम्खा गाउँपालिका– १, हुम्लाबाट सलीसल्ला, बाजुरा, कालीकोट, दैलेख, अछाम, कैलाली, बर्दिया, कोहलपुर हँुदै नेपालगन्ज (बाँके)सम्म लैजानका लागि यो छोडपुर्जी दिइएको छ,’ निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीले ५ भदौमा दिएको छोडपुर्जीमा उल्लेख छ । तर, हुम्लाबाट नेपालगन्ज आउन सुदूरपश्चिम जान पर्दैन ।