
जीर्ण रहेको वीरगन्जको नारायणी रंगशालाको खेलमैदान सरसफाइदेखि मर्मतसम्भारमा स्थानीय खेलाडी खटिएका छन् । बजेट अभावका कारण जीर्ण बनेको रंगशाला निर्माण गर्न सरकार उदासीन भएको भन्दै अभ्यासका लागि खेलमैदान सरसफाइदेखि मर्मत गर्न खेलाडी आफैँ फ्रन्टलाइनमा देखिएका हुन् । स्थानीय खेलाडी खेलमैदानको सरसफाइदेखि मर्मतसम्भारमा जुटेको आरम्भ भेट्रान क्लबका सचिव सन्तोष खड्काले बताए ।
‘रंगशाला पूर्ण रूपमा जीर्ण भएकाले खेलकुद प्रतियोगिता पनि रोकिएको अवस्था छ । अब, मैदान सरसफाइ गरेर भए पनि अभ्यास गर्न सकिने भएकाले यसमा खटिएका हौँ,’ खड्काले भने । बिहानको समयमा खेलाडी र १३ नम्बर गणका सशस्त्र प्रहरी जवान खेलमैदानमा सरसफाइदेखि मर्मतमा खटिने गरेको उनले बताए । राजकिशोर सिंहले पनि यहाँको खेलमैदान जीर्ण हुँदा खेलाडीलाई समस्या भएको दुखेसो पोखे । ‘अभ्यास गर्ने वातावरण नै छैन । कुनै पनि खेलमा सहभागी हुन पनि समस्या छ,’ सिंहले भने । काठमाडौं त्रिपुरेश्वरको दशरथ रंगशालापछिको दोस्रो ठुलो नारायणी रंगशाला पटक–पटक विभिन्न मन्त्रीले अनुगमन र निरीक्षण गरिसकेका छन् । तर, स्तरोन्नति गर्न बजेट विनियोजना गर्ने आश्वासन दिएर पनि बेवास्ता गरिएपछि खेलाडी र खेलकर्मीले दुःख व्यक्त गरेका छन् ।
प्रतियोगिता नहुँदा खेलाडी निराश
०४३ मा निर्माण भएको नारायणी रंगशाला अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा निर्माण गरिएको नेपालकैे दोस्रो ठुलो नारायणी रंगशालाको प्यारापिट संरक्षणको अभावमा जीर्ण बनेको छ । लेउ लागेपछि प्यारापिटको सुन्दरता नै हराएको छ । फोहोर पनि उस्तै छ । नारायणी रंगशाला र छेउमा रहेको क्रिकेट मैदान पनि ओझेलमा पर्दै गएको वीरगन्जका महेशप्रसाद यादवले बताएका छन् । ‘३५ वर्ष पुरानो फुटबल मैदान अहिले जीर्ण अवस्थामा पुगेको छ । सरकारले समयमा उचित मर्मतसम्भार नगर्दा समस्या भएको हो ।’
१८ बिघा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगन्जमा खेलकुद गतिविधिमा कमी आउनु र खेलप्रेमी निराश बन्नुको साथै राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बन्दै गएको फुटबल खेलाडी सुनील राउतले बताए । उनका अनुसार रंगशाला पुनर्निर्माणका लागि डिपिआर पनि तयार गरिएको छ, तर डिपिआरअनुसार काम भने हुन सकेको छैन ।
‘प्यारापिट निर्माणको टेन्डर भइसक्यो’
सरकारले आव ०८२/८३ मा नारायणी रंगशालाको स्तरोन्नतिका लागि चार करोड बजेट विनियोजन गरेर टेन्डर भइसकेको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए । उनका अनुसार चालू आवमा नारायणी रंगशालामा बजेट परेकाले चार करोडको प्यारापिट निर्माण गर्न १० भदौमा टेन्डर भइसकेको अवस्था छ ।
जिल्लाका अन्य खैलमैदानको पनि निर्माणदेखि स्तरोन्नतिको टेन्डर प्रक्रिया अगाडि बढिरहेको इन्जिनियर यादवले बताए । यस्तै, पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ । जिल्लाका विभिन्न खेलमैदानका लागि १७ करोड बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ । वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको छ ।
नारायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हललाई चार करोड छुट्याइएको छ । यस्तै, आदर्शनगर रंगशाला र बढनियार खेलकुद ग्राउन्ड निर्माण गर्न तीन करोड छुट्याइएको छ । जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ । उक्त मैदानका लागि तीन करोड बजेट परेको छ । सोही वडामा रहेको क्रिकेट खेलमैदानमा तीन करोड बजेट परेको छ ।