
सिराहाको लहान नगरपालिका– १० स्थित खुट्टीखोलाबाट निकालिएको नहर सरसफाइमा प्रयोग गरिएको टिपर नियन्त्रणमा लिइएको भन्दै खुट्टीखोला सिँचाइ संघर्ष समितिले नगरपालिकामा नाराबाजीसहित धर्ना दिएको छ ।
संघर्ष समितिका अगुवा तथा स्थानीय किसानले शुक्रबार बिहान कार्यालय खुलेदेखि नाराबाजी गर्दै धर्ना दिएका हुन्। जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिराहाबाट कोटेसनमा लहान– १ स्थित शिवम् कन्स्ट्रक्सनमार्फत भइरहेको नहर सरसफाइमा प्रयोग गरिएका दुईवटा टिपर तत्काल फिर्ता गरिनुपर्ने मागसहित धर्नामा बसेको अगुवा हेमन्त यादवले बताए । उनका अनुसार संघर्ष समिति र किसानहरूले टिपर फिर्ता गरिनुपर्ने, नहर सरसफाइमा अवरोध नगरी सहज ढंगले काम गर्न दिइनुपर्नेलगायतका माग गरेका छन् ।
संघर्ष समिति र किसानहरूको जुलुसले नगरपालिकामा नाराबाजी र धर्ना दिएपछि जनपद र सशस्त्र प्रहरीले मुख्य गेटमा सुरक्षा दिएका थिए । खडेरीले किसानहरूले रोपाइँ गर्न नपाएको र बोरिङबाट रोपेको धानसमेत सुक्न थालेपछि गत १४ साउनमा नहर सञ्चालनमा ल्याउन स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सम्बद्ध सिँचाइ कार्यालयका प्रतिनिधि, स्थानीय सरोकारवालाहरूले ड्यामस्थलको अनुगमन गरेका थिए ।
करिब नौ करोड रुपैयाँ लागतमा ‘हेडवर्क्स’ निर्माण भइसकेको भए पनि बजेटको अभाव, स्थानीय तहसँगको समन्वयको कमी र विवादका कारण नहर सञ्चालन हुन नसकेको सन्दर्भमा अनुगमनपछि डिभिजनले मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँ बजेटमध्ये नहर सरसफाइ गर्न १० लाख रुपैयाँमा कन्टिन्जेन्सी कटाएर कोटेसनमा कन्स्ट्रक्सनलाई ठेक्कामा दिइएको डिभिजन प्रमुख हसमत अन्सारीले जानकारी दिए ।
कन्स्ट्रक्सनसँग भएको सम्झौताबमोजिम २० साउनमा दिइएको कार्यादेशमा खुट्टी सिँचाइ योजनाका लागि नहरको पुनः आकारको काम गर्न ड्रइङ, स्पेसिफिकेसन र साइट प्राविधिकको नियन्त्रण र निर्देशअनुसार गुणस्तरयुक्त संरचनाहरू १५ भदौसम्म सम्पूर्ण कार्य सम्पन्न गरिनुपर्ने उल्लेख छ ।
‘काम रोक्न होइन, क्षतिपूर्ति तिराउन नियन्त्रणमा’
नहर सरसफाइको क्रममा प्रयोग गरिएको टिपरले कालोपत्रे सडक, आवास क्षेत्र र भर्खरै रोपिएको बिरुवा क्षति पुर्याएको भन्दै स्थानीयको गुनासोपछि कन्स्ट्रक्सन कम्पनीको सवारीसाधन नियन्त्रणमा लिइएको नगरपालिकाले जनाएको छ ।
केही महिना पहिले ६५ फिट बाटो र ग्रामीण चौकदेखि उत्तर बाटो पनि कालोपत्रे गरिएपछि इलाका प्रशासन कार्यालयदेखि दक्षिण सडक क्षेत्रको सौन्दर्यीकरणका लागि वृक्षरोपण गरिएको जानकारी दिँदै किसानलाई भ्रममा नपर्न नगर प्रमुख महेशप्रसाद चौधरीले आग्रह गरेका छन् ।
‘किसानका लागि खुट्टीखोला नहर सञ्चालन गर्न बाधक होइन, बरु सक्दो सहयोग गर्छौँ,’ उनले भने, ‘तर, सरसफाइ गर्ने क्रममा एक्स्काभेटर प्रयोग गरी निकालिएको फोहोर दैनिक हजारौँजना ओहोरदोहोर गर्ने सडकमा थुपार्दा ओहोरदोहोर गर्नेहरू दुर्घटनामा पर्न थाले, त्यो फोहोर उठाएर ६५ फिट सडक क्षेत्रमा रोपिएको बिरुवामा समेत क्षति पुग्ने गरी जथाभावी फाल्न थालिएपछि मात्र नियन्त्रणमा लिइएको हो ।’ नहर सफाइ गर्ने क्रममा एक्स्काभेटरले निकालेर थुपारेको फोहोरमा मोटरसाइकल चिप्लिएर बिहीबार दिउँसो लड्दा लहान १४ का जसिलाल यादव घाइते भएका छन् ।