
आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्म जीवन बिमाको पहुँच ४८ प्रतिशत विन्दुमा पुगेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार असारसम्म एक करोड ५६ लाख ३० हजार नौ सय ९९ वटा जीवन बिमालेख जारी भएका छन् ।
असार ०८१ सम्म यस्तो संख्या एक करोड ३८ लाख ८१ हजार चार सय ९२ थियो । त्यसवेला बिमा पहुँच ४३.२७ प्रतिशत थियो । असार मसाान्तसम्म आउँदा त्यो बढेर ४८.३३ प्रतिशत पुगेको हो । कतिपयले दुईवटाभन्दा बढी बिमालेख पनि खरिद गरेका हुन्छन् । तसर्थ, कुल सक्रिय जीवन बिमालेखलाई ५ प्रतिशतले घटाएर बिमा पहुँच गणना गरिन्छ । सोहीअनुसार बिमा पहुँच ४८.३३ प्रतिशत कायम भएको हो ।
यसअघि असार ०८० मा ४४.३८ प्रतिशत नेपाली बिमा सेवामा आबद्ध थिए, जुन त्यसवेलासम्मकै उच्च हो । तर, त्यसपछि त्यो घट्दै आएको थियो । साउन ०८० मै बिमा पहुँच ४४ प्रतिशतमा सीमित भएको थियो । असार ०८१ सम्म आउँदा त्यो थप घटेर ४३.२७ प्रतिशतमा सीमित भएको थियो ।
गत असोज मसान्तसम्म आउँदा त्यो थप घटेर ४२.८४ प्रतिशतमा सीमित भएको थियो । विशेष गरी यसबिचमा देखिएको आर्थिक शिथिलताले बिमाको पहुँच घट्दै गएको थियो । तर, कात्तिकयता भने बिमा पहुँच बढ्दै आएको छ ।
तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमाबाहेकको अवस्थामा १७.७० प्रतिशत नागरिकमा बिमाको पहुँचमा देखिएको छ । वैदेशिक रोजगारी बिमालेख हटाउँदा भने ३९.९९ प्रतिशत नागरिकमा बिमा पहुँच रहेको तथ्यांकमा उल्लेख छ । सबै प्रकृतिको बिमालेख गरेर बिमाको पहुँच ४८.३३ प्रतिशत कायम भएको हो । अब ५१.६७ प्रतिशत नागरिक बिमाको दायरामा आउन बाँकी देखिन्छ ।