मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ भदौ ४ बुधबार o७:३९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लामखुट्टेले सार्ने चार रोग जसले सताइरहेको छ नेपालीलाई 

नियन्त्रण र निवारणका लागि सरकारी प्रयास कमजोर, डेंगुबाहेक तीन रोग नियन्त्रणका लागि सरकारले बजेट नै छुट्याएन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार o७:३९:oo

लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोगमध्ये सबैभन्दा धेरै चर्चा डेंगुको हुन्छ । सरकारी बजेट र सक्रियता पनि डेंगु नियन्त्रणमै बढी देखिन्छ । तर, त्यही लामखुट्टेको टोकाइबाट डेंगुभन्दा पनि खतरनाक मानिने अन्य रोगले पनि नेपालीलाई सताइरहेको छ । ती हुन्, जापानिज इन्सेफ्लाइटिस, मलेरिया र हात्तीपाइले ।

क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हात्तीपाइले र जापानिज इन्सेफ्लाइटिस, एनोफेलिस प्रजातिको लामखुट्टेको टोकाइबाट मलेरिया अर्थात् औलो र एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । यी लामखुट्टेले रोग संक्रमण गराएर बर्सेनि नेपालीको ज्यान लिइरहेका छन् ।

जापानिज इन्सेफ्लाइटिसको संक्रमण र मृत्युदर भयानक देखिन्छ । पछिल्लो तीन महिना (१ जेठदेखि २ भदौसम्म)मा मात्रै ८६ जनामा संक्रमण हुँदा आठको मृत्यु भएको छ । अझ अघिल्लो वर्ष सन् २०२४ को स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको तथ्यांक हेर्ने हो भने ८६ को संक्रमण हुँदा २५ को मृत्यु भएको देखिन्छ । यो मृत्युदर २९ प्रतिशत हो । त्यस्तै, महाशाखाको तथ्यांकअनुसार सन् २०२३ मा नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट १०७ संक्रमित भएकामा सातजनाको मृत्यु भएको थियो ।

‘पछिल्ला तीन महिनामा मात्रै जापानिज इन्सेफ्लाइटिसबाट ८६ जना संक्रमित हुँदा आठजनाको मृत्यु भएको छ । धेरै बिरामी चितवन र कपिलवस्तुका छन्,’ परिवार कल्याण महाशाखाका निर्देशक डा. अभियान गौतमले भने ।

नेपालमा सन् १९७८ मा रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिसको पहिलो संक्रमण देखिएको थियो । सन् २००६ देखि यो रोगविरुद्धको खोप लगाउन थालिएकोमा सन् २०१३ मा कैलालीमा दोस्रोपटक देखिएको थियो । बढीजसो १५ वर्षमुनिका बालबालिका यो रोगको जोखिममा पर्छन् ।

यो रोग फैलाउने क्युलेक्स प्रजातिको लामखुट्टेका लागि अहिलेको मौसम उत्तम मानिन्छ । ‘क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगुर र हाँस आदिलाई टोक्छ, त्यसैले मानिसमा गएर टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ,’ डा. गौतम भन्छन्, ‘यस्तो लामखुट्टेले धानखेतमा फुल पार्छ । बिहान र साँझको समयमा बढी सक्रिय हुन्छ ।’

डा. गौतमका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्दा प्यारालाइसिसदेखि मानसिक समस्यासम्म निम्तिन सक्छ । उच्च ज्वरो आउने, चेत हराउने, बोहोस हुनेदेखि दिमागमा असर गरेर मानसिक रूपमा विक्षिप्त बनाउँछ । उपचारमा ढिलाइ भए मृत्यु हुने उनले बताए । ‘जापानिज इन्सेफ्लाइटिसबाट बोल्न नसक्ने, स्मरण शक्ति हराउने, कसैलाई प्यारालाइसिस पनि हुन्छ,’ डा. गौतमले भने, ‘यसविरुद्धको भ्याक्सिन लगाएको छ भने ९५ प्रतिशत सुरक्षित हुन्छ । जीवनमा एकपटक लगाए पुग्ने खोप सरकारले १५ महिना पुगेका बालबालिकालाई दिने गर्छ ।’

जापानिज इन्सेफ्लाइटिस गराउने क्युलेक्स लामखुट्टे डेंगु गराउने एडिसभन्दा फरक स्वभावको हुन्छ । एडिस सानो भाँडाको सफा पानीमा बस्छ भने क्युलेक्स धेरै पानी जम्मा हुने पोखरी, धानखेत र जनावर भएको स्थानमा बस्न रुचाउँछ । त्यसैले यो लामखुट्टेलाई नियन्त्रण गर्न जटिल छ ।

डेंगु पनि नेपालीको टाउकोदुखाइ बनिरहेको छ । पछिल्ला वर्ष झन् तीव्र देखिन्छ । पछिल्लो एक सातामा मात्रै दुईजनाको मृत्यु भइसकेको छ भने यो वर्ष १८ अगस्टसम्म संक्रमितको संख्या तीन हजार २५ पुगिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म ७७ मध्ये ७४ जिल्लामा डेंगु फैलिसकेको छ । २७ साउनमा टेकु अस्पतालमा उपचाररत २४ वर्षीया युवती र ३० साउनमा रुपन्देहीको क्रिमसन अस्पतालमा ८६ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ र असोज महिनामा एडिस प्रजाति बढी फैलिने भएकाले डेंगु संक्रमण पनि यही समयमा धेरैलाई हुन्छ ।

‘सार्वजनिक तथ्यांक अस्पतालमा परीक्षण गराउन आएका बिरामीको मात्रै हो । डेंगु भएका सबै अस्पताल आउँदैनन्, त्यसैले सार्वजनिक हुन नसकेका केसहरू धेरै छन्,’ इडिसिडीका निर्देशक डा. चन्द्रभाल झाले भने, ‘मृृत्यृ हुनेको संख्या पनि बढ्न सक्ने भएकोले सावधान हुनु जरुरी देखिन्छ ।’ सबैभन्दा धेरै संक्रमण फैलिने भदौ र असोज बाँकी नै रहेकाले यो वर्ष ५०–६० हजार संक्रमित पुग्न सक्ने डा. झा बताउँछन् ।

कुनै वेला महामारी मानिने मलेरिया अर्थात् औलोको जोखिम अझै टरेको छैन । गत वर्ष सन् २०२४ मा मात्रै चारजनाको ज्यान गयो । सन् २०२५ को हालसम्म ४८ जनालाई संक्रमण भइसकेको छ । एनोफिल्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने यो रोग सन् २०२५ सम्म उन्मूलन गर्ने सरकारको लक्ष्य असफल भइसकेको छ । समय बढाएर सन् २०३० सम्म नियन्त्रण र निवारण गर्ने लक्ष्य लिएको छ । यसका लागि सन् २०२६, २०२७ र २०२८ मा लगातार शून्य बनाउने उद्देश्य छ । तर, चालू वर्षमा देखिएको संक्रमण दरले सरकारको उद्देश्य पूरा हुन कठिन देखिन्छ ।

आयातित मलेरियाका कारण निवारणमा चुनौती थपिएको इडिसिडीका कीटजन्य रोग महाशाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘नेपालमै स्थानीय रूपमा भन्दा पनि आयातित मलेरियाका कारण यो कार्यक्रममा सरकार असफल भइरहेको छ, धेरैजसो मलेरियाका बिरामी भारतबाट आएका छन्, अन्य अफ्रिकन मुलुकबाट आएकामा पनि देखिएको छ, मिसनबाट फर्किएका आर्मी–प्रहरीमा पनि मलेरिया देखिएको पाइन्छ,’ उनले भने । मलेरिया नियन्त्रणका लागि नेपालमा सन् १९२५ देखि कार्यक्रम सुरु भएको थियो ।

क्युलेक्स प्रजातिको लामखुट्टेले पटक–पटक टोकेर हुने संक्रमणजन्य रोग हात्तीपाइले नेपालीका लागि उत्तिकै चुनौती बनेको छ । खुट्टा सुन्निएर हात्तीको जस्ता हुने र हाइड्रोसिल (अन्डकोष सुन्निने)को समस्या निम्तिन्छ । सन् २००३ देखि नै यसको औषधि सुरु गरे पनि हाल ४७ हजार बिरामी छन् । बाँके र कपिलवस्तुमा त औषधिले नै काम नगरेको इडिसिडीले जनाएको छ । हात्तीपाइले रोग क्युलेक्स लामखुट्टेले एकैपटक टोक्दैमा देखिँदैन । पटक–पटक टोकेपछि लामो समयपछि असर देखिन सक्छ । कतिपयलाई १५–२० वर्षपछि देखिने डा. दाहालले बताए ।