
दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी ) २० देखि २८ भदौसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति दिएपछि लिग पोखरामा हुन लागेको हो । नेपाल भलिबल संघले राखेपबाट स्वीकृति पाएपछि आफूहरू लिग पोखरामा आयोजना गर्न लागेको जनाएको छ ।
‘सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेलसंस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो,’ आयोजककी सिइओ स्नेभी चापागाईंले बताइन् ।
भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको उनले बताइन् । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेश युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा काठमाडौंले तीनजना विदेशी कोटा पूरा गरेको छ । ललितपुर र मधेशले पनि विदेशी खेलाडी भिœयाएका छन् । बाँकी चार टोलीले विदेशी खेलाडी छिट्टै अनुबन्ध गर्ने जनाएका छन् ।
काठमाडौंमा बुल्गेरिया, काजकिस्तान र इटालीका खेलाडी छन् । मधेशले लिगका लागि नेदरल्यान्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ । मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीका रूपमा घोषणा गरेको हो ।