मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ भदौ २ सोमबार o७:o४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डिम्ब र वीर्य दानसम्बन्धी पहिलोपटक मापदण्ड : २०–३५ वर्ष उमेर समूहकाले मात्र दान गर्न पाउने, शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने

विज्ञको सुझाव र अन्य देशको समेत अभ्यासलाई आधार मानेर पहिलोपटक मापदण्ड तयार, डिम्ब र वीर्य दानमा भइरहेको बेथिति र अनियमितता रोक्न सहयोग पुग्ने मन्त्रालयको विश्वास

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार o७:o४:oo

आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टरहरूमा हुँदै आएको अवैध कारोबार र बदमासी रोक्न सरकारले पहिलोपटक निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ मापदण्ड तयार पारेको छ । डिम्ब तथा शुक्रकीट दान व्यवस्थित गर्न मन्त्रालयबाट तयार पारिएको मापदण्डलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार स्वीकृत गरेका हुन् ।

पछिल्लो समय आइभिएफ सेन्टरहरूले युवतीहरूबाट नियमविपरीत डिम्ब झिक्ने र खुलेआम बिक्री–वितरण गर्ने गर्दै आइरहेका थिए । यसलाई रोक्ने गरी आएको मापदण्ड लागू भैसकेको मन्त्रालयले जनाएको छ । मापदण्डको अनुसूची ९ को दफा ८ को (क) मा डिम्ब र वीर्य दानसम्बन्धी व्यवस्था छ, जसमा डिम्ब र वीर्य दान गर्ने व्यक्तिले पूरा गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

नयाँ मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै डिम्ब र शुक्रकीट दान गर्न पाउनेछन् ।एक महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा आर्थिक प्रलोभनमा पारी १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिक्ने र बिक्री–वितरण गर्ने खुलेको थियो । निःसन्तान दम्पतीलाई सेवा दिने नाममा छ्याप्छ्याप्ती खोलिएका आइभिएफ सेन्टरहरूमा हुने गरेको ठगीधन्दा र कारोबार सार्वजनिक भएपछि मन्त्रालय यसलाई व्यवस्थित बनाउन मापदण्ड तयार पार्ने काममा लागेको थियो । 

स्वीकृति भएसँगै उक्त मापदण्ड कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार सबै पक्षका विज्ञसहित बसेर मापदण्ड तयार पारिएको तथा मापदण्ड तयार पार्दा अन्य देशको अभ्यासलाई समेत आधार मानिएको छ । ‘मापदण्ड बन्नु भनेको ‘निःसन्तान उपचार आइभिएफ’ सेवालाई व्यवस्थित गर्नु र यसको सञ्चालनका लागि ल्याब, जनशक्तिलगायत व्यवस्थापन गर्ने बाटो पनि खुल्नु हो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘अब यो सेवा दिन सहयोग गर्ने स्वास्थ्य संस्था, दाता र लिनेलाई सहज हुनेछ ।’ 

मन्त्रालयले जारी गरेको मापदण्डले शुक्रकीट र डिम्ब दान तथा यसको सेवाबापतको शुल्कसम्बन्धी विषयसमेत समेटेको छ । मन्त्रालयले मापदण्डमा डिम्ब दान गर्न योग्य उमेर समूह २० देखि ३५ वर्षसम्मलाई तोकिएको छ । सोही उमेर समूहका पुरुषले पनि शुक्रकीट दान गर्न सक्नेछन् । 

हाल सरकारीमध्ये प्रसूतिगृह र त्रिवि शिक्षण अस्पतालले मात्र आइभिएफ सेवा दिँदै आएका छन् । तर, सरकारीमा पुग्दो सेवा नभएपछि दम्पती निजी स्वास्थ्य संस्थाहरूमा पुग्ने गरेका छन् । तर, निजीले आइभिएफ सेवा लिँदा चर्को शुल्क लिने गरेका छन् । मापदण्ड तय भइसकेपछि भने निजीको धन्दा रोकिने मन्त्रालयले जनाएको छ ।

मापदण्ड स्वीकृत भएसँगै अब आइभिएफ सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूको शुल्क मन्त्रालयले तोक्ने भएको छ । अन्तर्राष्ट्रिय अभ्यास र अवस्था हेरेर मन्त्रालयले आइभिएफ सेन्टरहरूको मूल्य तोक्ने बताएको छ । सिआइबी अनुसन्धानमा आइभिएफहरूले किशोरीहरूलाई थोरै शुल्क दिएर लाखौँमा बेचेको पाइएको थियो ।

‘आइभिएफहरूले हाल सेवाग्राहीलाई चर्को शुल्क लिने र डिम्ब दिनेलाई पनि निकै कम शुुल्क दिने गरेका छन् । अब मापदण्डअनुसार आइभिएफ सेन्टरहरूको शुल्क मन्त्रालयले नै तोक्नेछ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने, ‘आइभिएफहरूको निगरानी पनि बढाउँछौँ ।’

डिम्ब दानसम्बन्धी मापदण्ड

  •    एक डोनरले ६ पटक मात्र डोनेसन गर्न मिल्ने
  •    डोनेसनको अवधि कम्तीमा तीन महिनाको फरक हुनुपर्ने
  •    डोनरको परिचय प्रापकलाई सुनाउन नमिल्ने
  •   डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने
  •    डोनरको शारीरिक स्वास्थ्य परीक्षण गर्नुपर्ने
  •   कुनै सरुवा रोग नभएको हुनुपर्ने
  •   परिचयपत्र रेकर्ड राख्नुपर्ने
  •    डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने
  •    डिम्ब दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई मन्जुरीनामा लिनुपर्ने
  •   विवाहितको हकमा श्रीमान्को मन्जुरी हुनुपर्ने
  •    कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने

वीर्य दानसम्बन्धी मापदण्ड

  •    एक डोनरले कम्तीमा १५ दिनको फरकमा दशपटकभन्दा बढी डोनेसन दिन नमिल्ने 
  •    डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
  •    डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने
  •    डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गर्ने 
  •    कुनै सरुवा रोग नभएको हुनुपर्ने
  •    नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने
  •    डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट पेस गर्नुपर्ने
  •    वीर्य दान गर्ने व्यक्तिसँग मन्जुरीनामा लिनुपर्ने
  •    विवाहितको हकमा श्रीमान्–श्रीमती दुवैजनाको मन्जुरी हुनुपर्ने
  •    प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने
     

डा. प्रकाश बुढाथोकी, प्रवक्ता स्वास्थ्य मन्त्रालय
मापदण्ड बन्नु भनेको ‘निःसन्तान उपचार आइभिएफ’ सेवालाई व्यवस्थित गर्नु र यसको सञ्चालनका लागि ल्याब, जनशक्तिलगायत व्यवस्थापन गर्ने बाटो पनि खुल्नु हो । अब यो सेवा दिन सहयोग गर्ने स्वास्थ्य संस्था, दाता र लिनेलाई सहज हुनेछ ।