१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ जेठ ३० बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

उपत्यकामा बहुविवाहका मुद्दा ३९ प्रतिशतले बढे

Read Time : > 1 मिनेट
२०७६ जेठ ३० बिहीबार ०६:३५:००

उपत्यकामा बहुविवाहका मुद्दा ३९ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा उपत्यकामा मात्रै बहुविवाहका एक सय १० मुद्दा दर्ता भएका छन् । गत वर्षको तुलनामा यो ४३ अर्थात् ३९ प्रतिशतले बढी हो । गत वर्ष उपत्यकामा बहुविवाहका ६७ मात्रै मुद्दा दर्ता भएका थिए । 

प्रहरी तथ्यांकअनुसार  बहुविवाहका मुद्दा सबैभन्दा धेरै काठमाडौंमा दर्ता भएका छन् । चालू आर्थिक वर्षमा काठमाडौंमा मात्रै बहुविवाहका ८८ मुद्दा दर्ता भएका छन् । ललितपुरमा १३ वटा र भक्तपुरमा नौवटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । 

 भौतिक सुविधा र वैदेशिक रोजगार कारण
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले वैदेशिक रोजगार र भौतिक सुविधाका कारण बहुविवाहको दर बढेको बताए । उनले भने, ‘बहुविवाह कानुनी रूपमा दण्डनीय अपराध हो । तर, पनि बहुविवाह गर्नेको दर घटेको छैन । बरु बढेको छ । यसका पछि मुख्य कारण भौतिक सुविधा नै हो । यस्ता, अपराधमा पढेलेखेका र आर्थिक रूपमा सम्पन्न  परिवार नै सहभागी भएको पाइएको  छ । अर्को कारण वैदेशिक रोजगार पनि रहेको पाइएको छ ।’ 

कानुनले विवाहित पुरुषले श्रीमती हुँदाहुँदै अर्को विवाह गरे बहुविवाह भनी परिभाषित गरेको छ । पीडितले उजुरी गरे बहुविवाह गर्ने पुरुष र महिला दुवैलाई कारबाही हुने कानुनी व्यवस्था छ । दण्ड सजाय हुँदाहुँदै पनि बहुविवाह गरिनु स्वार्थ केन्द्रित मनस्थिति रहेको प्रहरीको भनाइ छ । एसएसपी  सुवेदीले भने, ‘बहुविवाह पुरुषको हकमा मात्रै कानुनले परिभाषित गरेको छ । तर, श्रीमान् छाडेर अर्कै पुरुषसँग विवाह गर्ने महिलाको हकमा भने कानुन मौन छ । यद्यपि बहुविवाहको मुद्दा बढेका छन् । यी सबै स्वार्थ केन्द्रित मनस्थितिको उपज हो ।’

 बहुविवाहकी फरार प्रतिवादी पक्राउ

प्रहरीले बहुविवाहका फरार प्रतिवादी मकवानपुर हटिया–९ की रिता भनिने हिरा चौलागाईंलाई पक्राउ गरेको छ । उनले ठकुरप्रसाद चौलागाईंसँग ०५५ मा विवाह गरेकी थिइन् । ठाकुरकी जेठी श्रीमतीले श्रीमान् र रिताविरुद्ध काठमाडौं जिल्ला अदालतमा  बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन् । पुनरावेदनपछि उच्च अदालत हेटाँैडाले रिताविरुद्ध दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । लगतै फरार रहेकी रिता काठमाडौंमा लुक्दै आएकी थिइन् । नेपाल प्रहरीको केन्द्रित अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई कपनबाट २७ जेठमा पक्राउ गरेको हो । पक्राउपछि कैद सजाय भुक्तानका लागि उनलाई केन्द्रीय कारागार चलान गरिएको प्रहरीले बताएको छ ।