
नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम पूर्ण रूपमा मधेशविरोधी रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।
‘सरकारले ल्याएको यो नीति तथा कार्यक्रम पूर्ण रूपमा मधेशविरोधी छ। सरकारले नीति तथा कार्यक्रमबाट मधेशका जनताको आवश्यकता र समृद्धिलाई सम्बोधन गर्न नसकेका प्रति म मधेशका जनताको तर्फबाट यो नीति तथा कार्यक्रमप्रति सन्तुष्ट हुन सकेको छैन,’ उनले भने।
बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषय सुन्दासुन्दा संसद्का भित्ताहरू नै लजाउने वेला भए पनि सरकारलाई कुनै लाज नभएको उनको टिप्पणी थियो। विमानस्थल निर्माण क्षेत्रनजिकैको टाँगिया बस्तीका करिब १५ सय घरधुरीलाई ५२ सालदेखि सरकारले झुक्याउँदै आइरहेको भन्दै नीति कार्यक्रममा समेत समावेश नभएकोमा आपत्ति जनाए।
नीति कार्यक्रमले मधेशको कृषि उपज प्रवर्द्धन गर्ने विषयसमेत नसमेटेको टिप्पणी गर्दै सांसद श्रेष्ठले भने, ‘सरकारले स्वदेशमै वस्तुको उत्पादन बढाउने भन्दा पनि आयातलाई जोड दिन खोजेको छर्लंगै देखिन्छ।’