
भारतले रातारात पाकिस्तानविरुद्ध सैन्य हमला गर्यो, पाकिस्तान प्रशासित कस्मिर र पाकिस्तानका विभिन्न ठाउँमा आक्रमण गर्यो । उसले विद्रोहीका नौवटा अखडामा २४ वटा मिसाइल प्रहार गर्यो । सुरक्षा अधिकारीले ड्रोनसहित सटिक हतियार प्रणाली प्रयोग गरेर आक्रमण गरिएको बताएका छन् । आक्रमणपछि के भएको छ भन्नेबारे अझै विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । यो स्पष्ट छ कि दुवै पक्ष वर्षौं, सम्भवतः दशकौँभन्दा ठुलो द्वन्द्वको नजिक छन् । हामीले यस प्रकारका संकट पहिले पनि देखेका छौँ । आणविक शक्तिसम्पन्न भारत र पाकिस्तानले धेरैपटक पूर्णस्तरीय युद्ध लडेका छन् । दुई देशबिच सन् १९४७, १९६५, १९७१ र १९९९ मा आक्रमण भएको थियो ।
सन् २०१६ र २०१९ मा दुवै पक्षबिच सीमापार आक्रमण पनि भएका थिए । तथापि, ती आक्रमणले ठुलो युद्ध भने निम्त्याएनन् । यी द्वन्द्वमै सीमित थिए, किनभने त्यहाँ एक समझदारी थियो । दुवै पक्षसँग आणविक हतियार भएकाले पूर्णस्तरीय युद्धमा बढ्नु धेरै खतरनाक हुनेछ । यसले दुवै पक्षमा केही नियन्त्रण वा कम्तीमा केही सावधानी ल्यायो । र, ती द्वन्द्वलाई नियन्त्रणबाहिर जान नदिन दुवै देशमाथि बाह्य दबाब पनि थियो ।
अहिले दुवै पक्षले समान संयम अपनाउने सम्भावना भए पनि अन्य देशबाट उनीहरूलाई द्वन्द्व रोक्न बाध्य पार्न कम दबाब हुन सक्छ । यस सन्दर्भमा तनाव चाँडै बढ्न सक्छ । जब तिनीहरू युद्धतर्फ अग्रसर हुन्छन्, दुवै पक्षलाई पछि हट्न र पहिलेको ठाउँमा फर्कन गाह्रो हुन्छ ।
भारतले अहिले नै किन गर्यो आक्रमण ?
भारतले गत महिना प्रायः कडा सुरक्षा सतर्कता रहेको मानिने कस्मिरमा पर्यटकमाथि भएको आतंकवादी आक्रमणको बदला लिइरहेको बताएको छ । आक्रमणमा एक नेपाली र २५ भारतीयसहित २६ जनाको मृत्यु भएको थियो । प्रतिरोध मोर्चा भनिने तर खासै चर्चामा नआएको एउटा समूहले आक्रमणको जिम्मा लिएको थियो । तर, यसबारे केही अनिश्चितता छ । किनकि, उक्त समूहको छद्मभेषमा अन्य अतिवादीले हमला गरेका हुन सक्छन् । भारतीय स्रोतले सुझाव दिन्छन् कि यो समूह (जुन अपेक्षाकृत नयाँ छ) पहिलेदेखि नै लडाकु समूह लस्कर–ए–तोइबाको विस्तार हो, जुन धेरै वर्षदेखि पाकिस्तानमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।
पाकिस्तानले पर्यटक आक्रमणमा आफ्नो कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि, विगतमा केही गतिला प्रमाण छन्, जसले पाकिस्तानी सरकारले आफ्नो भूभागमा सञ्चालन हुने यी समूहलाई आधिकारिक रूपमा अनुमति नदिए पनि पाकिस्तानी सरकार वा सेनाको वृत्तका केही मानिसले तिनीहरूलाई समर्थन गर्ने सुझाव दिन्छ । यो समर्थन वैचारिक, आर्थिक वा अन्य प्रकारको सहयोगमार्फत भएको हुन सक्छ । भारतमा भएका अघिल्ला आतंकवादी आक्रमणमा हतियार र अन्य उपकरण पाकिस्तानबाट प्राप्त गरिएको बताइएको थियो । उदाहरणका लागि २००८ मा मुम्बई आतंकवादी आक्रमणमा भारत सरकारले एक प्रमाण प्रस्तुत गरेको थियो, जहाँ बन्दुकधारीलाई फोनमार्फत पाकिस्तानका ‘ह्यान्डलर’ले निर्देशित गरेको दाबी गरिएको थियो ।
तर, अहिलेसम्म हामीसँग त्यस्तो कुनै प्रमाण छैन, जसले इस्लामाबाद दुई साताअघि कस्मिरमा भएको पर्यटक आक्रमणमा संलग्न छ भनेर देखाउँछ । भारतले पनि बारम्बार पाकिस्तानलाई अतिवादी समूहमाथि रोक लगाउन आग्रह गरेको छ । विद्रोही नेतालाई कहिलेकाहीँ जेलमा राखिएको छ, तर पछि उनीहरूलाई रिहा गरिएको छ, जसमा २००८ को मुम्बई आक्रमणको कथित मास्टरमाइन्ड पनि समावेश छ ।
र, लामो समयदेखि अतिवादी समूहका सदस्यलाई भर्ती गरेको आरोप लागेका मदरसा (धार्मिक विद्यालयहरू) लाई अझै पनि पाकिस्तानमा सञ्चालन गर्न अनुमति दिइएको छ, जसमा राज्यको निगरानी र नियन्त्रण कम छ । यसैबिच, पाकिस्तानको यो पनि दाबी छ कि कस्मिरमा भारतीय ‘कब्जा’को विरोध गर्ने स्थानीय कस्मिरीले आक्रमण गर्छन् वा पाकिस्तानीहरू स्वेच्छाले कारबाही गर्न उत्प्रेरित हुन्छन् । यी दुवै भनाइ स्पष्ट रूपमा कुनै पनि तरिका, आकार वा रूपमा तर्कसंगत छैनन् ।
बाह्य मध्यस्थताको सम्भावना कति ?
आशा गरौँ कि त्यहाँ सीमित सैन्य कारबाही हुनेछ । विगतमा जस्तै कारबाही केही दिनसम्म चल्नेछ, त्यसपछि चिजहरू द्रुत रूपमा शान्त हुनेछन् । तर, यसको कुनै सुनिश्चितता छैन । विवाद र तनाव कम गर्न मद्दत गर्न इच्छुक अरू थोरै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेन, गाजा र यमनमा हुथी विद्रोहीसँग अन्य द्वन्द्वमा फसेका छन् । ट्रम्प प्रशासनको कूटनीति अहिलेसम्म अयोग्य र प्रभावहीन सावित भएको छ । भारतीय आक्रमणबारे सोध्दा ट्रम्पले जवाफ दिए कि यो ‘लज्जाको कुरा’ थियो र उनी ‘आशा गर्छन्’ कि यो चाँडै समाप्त हुन्छ । यो विगतमा भारत र पाकिस्तान झगडा हुँदा अमेरिकी राष्ट्रपतिले देखेको बलियो बयानबाजीभन्दा धेरै फरक छ । यस पृष्ठभूमिमा नयाँदिल्ली र इस्लामाबादले आफैँ विवाद समाधान गर्नुपर्नेछ । जसले पहिले पछि हट्ने निर्णय गर्छ, उसले ठुलो राजनीतिक मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
चुकाउनुपर्नेछ राजनीतिक मूल्य
तनाव बढाउन दुवै पक्षले कति मूल्य चुकाउन तयार छन् भनेर हेर्न बाँकी छ । आर्थिक दृष्टिकोणबाट यदि द्वन्द्व ठुलो भयो भने दुवै पक्षलाई धेरै कम लागत लाग्छ । भारत र पाकिस्तानबिच व्यावहारिक रूपमा कुनै व्यापार छैन । नयाँदिल्लीले सम्भवतः गणना गरेको छ कि आफ्नो द्रुत गतिमा बढेको अर्थतन्त्रलाई यसको हमलाबाट हानि हुनेछैन र अरूले भारतमा व्यापार र लगानी निरन्तर जारी राख्नेछन् । तीन वर्षको वार्तापछि संयुक्त अधिराज्यसँगको व्यापार सम्झौताको निष्कर्षले त्यो छापलाई बलियो बनाएको छ । पाकिस्तानमा हमला हुनुभन्दा ठिकअघि मे ६ मा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । अनि अन्तर्राष्ट्रिय प्रतिष्ठाको दृष्टिकोणबाट कुनै पनि पक्षले गुमाउन धेरै छैन । विगतका संकटमा पश्चिमी देशले दुवै पक्षले गरेका सैन्य कारबाहीको निन्दा र आलोचना तुरुन्तै गर्थे । तर, आजकल धेरैजसोले लामो समयदेखि चलिरहेको द्वन्द्व द्विपक्षीय मुद्दा हो भन्ने धारणा राख्छन् । द्विपक्षीय मुद्दालाई भारत र पाकिस्तानले आफैं समाधान गर्नुपर्ने उनीहरूको बुझाइ छ । त्यसकारण, दुवै पक्षको मुख्य चिन्ता भनेको सैन्य कारबाही नगर्दा उनीहरूले भोग्नुपर्ने राजनीतिक मूल्य हो ।
अप्रिल २२ मा कस्मिरमा भएको अतिवादी आक्रमणअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कस्मिरमा सुरक्षा अवस्था सुधार भइरहेको र आमभारतीय सुरक्षित रूपमा यस क्षेत्रमा ओहोरदोहोर गर्न सक्ने दाबी गरेको थियो । तर, त्यस दिन भएको घटनाले ती दाबीलाई कमजोर बनाएको थियो, जसले गर्दा केही कदम चाल्न सरकारमाथि केही दबाब परेको थियो । पाकिस्तानले भारतीय आक्रमणमा प्रतिक्रिया जनाएन भने यसको सरकार र विशेषगरी यसको सेनाले पनि मूल्य चुकाउनुपर्नेछ । सफलताको कमजोर रेकर्डका बाबजुद पाकिस्तानको सेनाले लामो समयदेखि राष्ट्रिय राजनीतिमा आफ्नो ठुलो भूमिकालाई पाकिस्तानी जनता र भारतीय आक्रमणको बिचमा एक्लै उभिएको दाबी गर्दै आएको छ । यदि अहिले युद्ध रोक्न असफल भयो भने त्यो दाबी खोक्रो देखिन सक्छ ।
– द कन्भर्सेसनबाट