
भारत र पाकिस्तानबिच फेरि बढेको सैन्य तनावले क्षेत्रीय अशान्तिको चिन्ता थपेको छ । बुधबार बिहान १ बजेर ५ मिनेटदेखि डेढ बजेसम्म भारतीय सेनाले पाकिस्तान प्रशासित कस्मिर तथा पाकिस्तानकै पन्जाब प्रान्तका नौ स्थानमा क्षेप्यास्त्र हमला गरेसँगै पाकिस्तानले पनि प्रतिकार गरेपछि दोहोरो मानवीय क्षति भएको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन अपिल गरेका छन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेअनुसार दुवै देशतर्फ कम्तीमा ४६ जनाको मृत्यु भएको छ । भारतीय हमलामा पाकिस्तानतर्फ ३१ र पाकिस्तानी हमलामा १५ भारतीयको मृत्यु भएको समाचारमा उल्लेख छ ।
भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको २५ मिनेटको हमलापछि पाकिस्तान र भारतको सीमा क्षेत्रमा बुधबार दिनभरि गोली हानाहान भएको थियो । भारतले ९ वैशाखमा कस्मिरको पहलगाम क्षेत्रमा २६ पर्यटकमाथि हमला गर्ने आतंककारी समूह जैस ए मोहम्मदको पूर्वाधार ध्वस्त पारेको दाबी गरेको छ । आतंककारी समूह लस्कर ए तोयबा र हिजबुल मुजाहिद्दिनका पूर्वाधारमा समेत भारतीय सेनाले आक्रमण गरेको छ । जैस ए मोहम्मदको आधार क्षेत्र मानिएका मरकज सुभान अल्लाह बहाबलपुर, सरजल, तेहरा कलान, मरकज अब्बास र कोटली, लस्कर ए तोयबाको आधार क्षेत्र मानिएका मरकज तैबा, मुरिदके, मरकज अहले हदिस, बर्नाला, सबाई नल्ला क्याम्प, मुजफ्फराबाद तथा हिजबुल मुजाहिद्दिनको आधार महमुना जोया सियालकोट र मस्कर राहिल सहिदमा भारतीय सेनाले हमला गरेको समाचार एजेन्सी पिटिआईले दिएको छ ।
पाकिस्तानी पत्रिका द डनको अनलाइन संस्करणले पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरिफ चौधरीलाई उधृत गर्दै भारतको हवाई हमलामा मारिनेको संख्या ३१ पुगेको जनाएको छ । जसमा केही महिला र बालबालिका पनि रहेको उनको भनाइ छ । त्यस्तै ५७ घाइते भएको समाचारमा उल्लेख छ । बिबिसीका अनुसार जैस–ए–मोहम्मदले बुधबार जारी गरेको विज्ञप्तिमा भारतीय हवाई आक्रमणमा संगठनका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको उल्लेख छ ।
त्यस्तै उच्च भारतीय सुरक्षा स्रोतलाइ उदृत गर्दै भारतीय मिडियाहरूले पाकिस्तानका तर्फबाट भएको हमलामा परी नियन्त्रण रेखा नजिकको भागमा १५ भारतीयको मृत्यु भएको उल्लेख गरेका छन् । समाचारमा ३२ भारतीय घाइते भएको उल्लेख छ । तर, भारतीय पक्षले यसको स्वतन्त्र पुष्टि गरेको छैन ।
भारतले पहलगाममा ९ वैशाखमा भएको हमलाको जवाफी कारबाही गरेको प्रस्टीकरण दिएको छ । बुधबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेसीले भारतीय सुरक्षा फौजले मंगलबार राति १:०५ देखि १:३० बजेको बिचमा ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको बताइन् ।
आतंककारी संगठन लस्कर–ए–तोयबासम्बद्ध ‘द रेसिस्टेन्स फ्रन्ट’ (टिआरएफ) नामको आतंककारी समूहले पहलगाम घटनाको जिम्मा लिएको थियो । भारतीय विदेश सचिव बिक्रम मिस्रीले संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित पाकिस्तानी आतंकवादी समूह, लस्कर–ए–तोयबासम्बद्ध टिआरएफमाथि पाकिस्तानले कारबाही नगरेपछि हमला गरेको बताए । बुधबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले पीडितहरूको न्यायका लागि र सम्भावित भारतमा आक्रमण रोक्न कारबाही गरेको पनि प्रस्टीकरण दिए ।
‘आक्रमणका दोषी र योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आतंकवादी पूर्वाधारविरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन । त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ,’ मिस्रीले भने, ‘हाम्रा गुप्तचरले पाकिस्तानमा रहेका आतंकवादी मोड्युलहरूको अनुगमनपछि भारतविरुद्ध थप आक्रमणहरू हुने संकेत गरेको थियो । तसर्थ, यसलाई रोक्नु र यसविरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।’
भारतले यस्ता सीमापार आक्रमणविरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको उनले जिकिर गरे । ‘यी कार्य आतंकवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत आउन सक्ने सम्भावित आतंककारीहरूलाई निमिट्यान्न पार्नेमा केन्द्रित थिए,’ उनले भने ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सटिकता, सतर्कता र संवेदनशीलताका साथ कारबाही गरेको बताए । उनले भने, ‘हामीले योजनाबद्ध राखेका लक्ष्यहरूलाई सटिकताका साथ नष्ट गरेका छौँ । हाम्रा सेनाले कुनै पनि नागरिक जनसंख्यालाई अलिकति पनि प्रभावित नहोस् भन्ने कुरा सुनिश्चित गर्न संवेदनशीलता देखाएको छ ।’
पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानको यो दाबीमा भारतले कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले रोयटर्ससँग भने, ‘म पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमानहरू– तीन राफेल, एक एसयू– ३० र एक मिग– २९ तथा एक हेरोन ड्रोन खसालिएको छ ।’ तर, यसको स्वतन्त्र पुष्टि भएको छैन ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सामाजिक सञ्जाल एक्समा भारतलाई उचित जवाफ दिने प्रतिक्रिया दिएका छन् । ‘पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार छ ।’
राष्ट्रिय सुरक्षा बैठकमा छलफल
बुधबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्मा भारत पाकिस्तान तनावबारे छलफल भयो । ‘बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत र पाकिस्तानबिच भएको घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा अवसरहरूको सम्बन्धमा समीक्षा गरियो । घटनाक्रमबाट उत्पन्न हुन सक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भयो,’ बैठकपछि रक्षासचिव रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षासचिव दंगाल सहभागी थिए ।
बुधबारै गृहमन्त्री लेखकले पनि सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । छलफलमा नेपाल भारत खुला सीमामा चेकजाँच कडाइ गर्न र शंकास्पद गतिविधिको सूक्ष्म निगरानी गर्न उनले निर्देशन दिएको एक उच्च सुरक्षा अधिकारीले बताए ।
के भन्छन्– भूराजनीतिक मामिला जानकार ?
भूराजनीतिक मामिला जानकार चन्द्रदेव भट्ट नेपालले आतंकवादविरुद्ध र शान्तिका पक्षमा बोल्नुपर्ने बताउँछन् । ‘आतंकवादको अन्त्य गर्न सबै मिलेर लडाइँ लड्नुपर्छ । नेपाली भूमि आतंकवादविरुद्ध प्रयोग हुन नदिने तयारी गर्नुपर्छ । तर, सार्कमा भारत र पाकिस्तान दुवैको रुचि नदेखिएकाले यसको अध्यक्षका रूपमा नेपालले निर्वाह गर्न सक्ने भूमिका म देख्दिनँ । खुला सिमानामा आवागमनका लागि सतर्कता अपनाउनुपर्छ,’ उनले भने ।
दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डे संसारले बोलिसकेपछि सार्कको अध्यक्षले पनि आफ्नो नैतिक दायित्व पूरा गर्नुपर्ने बताउँछन् । ‘अहिले जुन परिस्थिति निर्माण भएको छ, यसबाट हुने प्रभावबारे नेपालले विचार गर्नुपर्छ । नेपालले संयम अपनाउन पहल गर्नुपर्छ । संसारले बोलिसकेपछि सार्कको अध्यक्षले आफ्नो नैतिक दायित्व पूरा गर्नैपर्छ,’ उनले भने ।
त्यस्तै, सामरिक ममिलाका जानकार विनोज बस्न्यात नेपालमा भएका गैरकानुनी विदेशी नागरिकहरूको जाँचबुझ गर्ने र सीमा क्षेत्रमा कडाइपूर्वक आवागमनको सूक्ष्म जाँच गर्नुपर्ने बताउँछन् । ‘भारतको अपरेसन सिन्दुर नामको एयर स्ट्राइकले आतंकवादलाई लक्षित गरेको देखियो । अहिले भारत र पाकिस्तान दुवै पूर्ण युद्धमा जान इच्छुक देखिँदैनन्, यद्यपि घरेलु खपतका लागि पनि घटनाहरू भएका छन् । यो भारत र पाकिस्तानको मात्रै विषय नभएर दक्षिण एसियाको साझा चिन्ता र चासो हो,’ उनले भने, ‘नेपालले प्रतिआतंकवादका सन्दर्भमा आवाज उठाएको छ । नेपालमा भएका गैरकानुनी विदेशी नागरिकहरूको जाँचबुझ गर्ने र सीमा क्षेत्रमा कडाइपूर्वक आवागमनको सूक्ष्म जाँच गर्नुपर्छ ।’
सार्कको अध्यक्ष नेपाल छिमेकीको द्वन्द्वमा मौन
पहलगाममा ९ वैशाखमा भएको आतंककारी हमलाको २४ घण्टापछि १० वैशाखमा परराष्ट्र मन्त्रालयले निन्दा गरेको थियो । तर, बुधबार बिहान भारतले पाकिस्तानको कस्मिर र पन्जाबका नौ स्थानमा गरेको क्षेप्यास्त्र आक्रमण तथा सीमा क्षेत्रमा भएका दोहोरो हमलाप्रति भने मौन छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आह्वान गरिरहेका वेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष मुलुकका प्रधानमन्त्री केपी ओली तथा परराष्ट्र मन्त्रालय बुधबार साँझसम्म यस विषयमा केही बोलेका छैनन् । पहलगाममा आतंककारी हमलाको भोलिपल्ट १० वैशाखमै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमा उक्त घटनाको भत्र्सना गर्दै आतंकवादविरुद्ध भारतसँग ऐक्यबद्धता जनाएका थिए ।
दुवै देशका करिब दुई दर्जन विमानस्थल बन्द
भारतले श्रीनगर, लेह, चण्डीगढ, जम्मु, अमृतसर, सिमला, ग्वालियर, जोधपुर, भटिन्डा, भुज, धर्मशाला, जोधपुरलगायत २० विमानस्थलहरूमा शनिबारसम्म नागरिक उडान बन्द गरेको छ । जसबाट बुधबार मात्रै कम्तीमा २०० उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले पनि कराँची र लाहोर विमानस्थल बन्द गरेको छ ।
भारतका पाँच लडाकु विमान खसालेको पाकिस्तानको दाबी, प्रधानमन्त्री सरिफको आक्रोश
पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानको यो दाबीमा भारतले कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले रोयटर्ससँग भनेका छन्, ‘म पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमानहरू– तीन राफेल, एक एसयू– ३० र एक मिग– २९ तथा एक हेरोन ड्रोन खसालिएको छ ।’ तर, यसको स्वतन्त्र पुष्टि भएको छैन । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सामाजिक सञ्जाल एक्समा भारतलाई उचित जवाफ दिने प्रतिक्रिया दिएका छन् । ‘पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार छ ।’
संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको अपिल
भारत–पाकिस्तान सैन्य हमलापछि अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउन अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चिन्ता जनाएका छन् । ‘महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपिल गर्नुभएको छ । विश्वले भारत–पाकिस्तान सैन्य द्वन्द्वको जोखिम बहन गर्न सक्दैन,’ महासचिवका प्रवक्ताले भनेका छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई लज्जास्पद भनेका छन् । ‘यो लज्जास्पद छ,’ ट्रम्पले पत्रकारलाई भने, ‘हामी ओभल अफिस प्रवेश गर्नेबित्तिकै यसबारे सुन्यौँ । म चाहन्छु यो शीघ्र अन्त्य होस् ।’
चीनले पाकिस्तान नियन्त्रित कस्मिरमा भारतको हवाई आक्रमण खेदजनक भएको र यसबाट चीन चिन्तित भएको प्रतिक्रिया दिएको छ । ‘भारत र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैँ रहनेछन् । उनीहरू दुवै चीनका छिमेकी पनि हुन्,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ । दुवै देशलाई शान्ति कायम राख्न, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न अपिल गर्दछ ।’ त्यस्तै, रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले भारत र पाकिस्तानबिच बढ्दो सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता जनाएका छन् । ‘रुस आतंकवादी कार्यहरूको कडा निन्दा गर्दछ र आतंकवादविरुद्ध लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ,’ रुसी विदेश मन्त्रालयले भनेको छ, ‘आशा छ कि दिल्ली र इस्लामाबादबिचको वर्तमान विवाद शान्तिपूर्ण माध्यमबाट समाधान हुनेछ । रुस दशकौँदेखि भारतको नजिकको सहयोगी रहँदै आएको छ, साथै पाकिस्तानसँग पनि रुसको मैत्रीपूर्ण सम्बन्ध छ ।’
नेपाल–भारत सीमामा निगरानी बढाइयो, सुरक्षा थपियो
भारत–पाकिस्तान द्वन्द्व बढेसँगै नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ । नाकादेखि सुरक्षा जोखिमका क्षेत्रमा सशस्त्र प्रहरी थप्दै चेकजाँच र गस्ती बढाइएको छ । सशस्त्र प्रहरी बलले सीमा वारपार गर्ने सबैको परिचयपत्र जाँच गरी अभिलेख राख्न थालेको छ । मुख्य नाकामा तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्न थालिएको सशस्त्र प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका सुरक्षा जोखिम मूल्यांकन गरिएका ठाउँमा पनि सुरक्षा निगरानी बढाइएको छ । विभिन्न देशका दूतावासदेखि धार्मिक क्षेत्रमा निगरानी बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ । केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि सम्भावित सुरक्षा जोखिमबारे छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार सम्भावित जोखिम पहिचान गरेर अघि बढ्ने विषयमा सो बैठकमा छलफल भएको थियो । साथै, विमानस्थलदेखि सीमानाकासम्म चेकजाँच बढाउनसमेत निर्देशन दिइएको छ ।