
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
यसैबिच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मीको धुर्कोट गाउँपालिका– ३ का २८ वर्षीय दीपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको नाममा ६ जना पीडितबाट रु. नौ लाख ५० हजार उठाएर महत बेपत्ता भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– १५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।