मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Friday, 14 August, 2026
२o८१ श्रावण २० आइतबार १८:४o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको पुनरागमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार १८:४o:oo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। कांग्रेस र नेकपा एमालेको समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ। केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट बाहिरिएको चार महिनामै शाहले पुनरागमन गरेका हुन्। मुख्यमन्त्रीका चार दाबेदारबीच लामो रस्साकस्सीपछि पार्टी केन्द्रको निर्देशनअनुसार कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा शाहलाई अघि सार्ने निर्णय आइतबार सर्वसम्मत गरेको थियो।

कांग्रेसमा मुख्यमन्त्रीका लागि संसदीय दलका नेता शाहसहित सांसदहरू प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्टले दाबी गरेका थिए। तर, अघिल्लो कार्यकालमा लामो समय काम गर्न नपाएकाले शाहलाई पुनः अवसर दिन समझदारी बनेको एक सांसदले बताए। उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले शाहलाई सघाउन अन्य आकांक्षीलाई निर्देशन दिएका थिए।

अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका थिए।

सोमबार मन्त्रीसहित शपथ लिने तयारी रहेको बताइएको छ। सातवटा मन्त्रालय रहेको सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्रीसहित तीन, एमालेले तीन र एक मन्त्रालय दिएर नागरिक उन्मुक्तिलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ। यद्यपि, मन्त्रालय बाँडफाँटको विषय टुंगिसकेको छैन।