
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ततिजामा दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्तांकमा चित्त नबुझे १० साउन बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सक्ने महानगरले जनाएको छ । पुनर्योग र दाबी विरोधको अवधि सकिएपछि प्राथमिकता क्रमअनुसारको साधारण र समूहगत म्याचिङ लिस्ट प्रकाशन हुनेछ ।
यसको प्राथमिकता भनेको विद्यार्थीले आवेदन दिँदा छनोट गरेको शिक्षण संस्था र विषय हो । महानगरपालिकाका प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलका अनुसार यो सूची कोटा खाली हुन गए, दोस्रो सूचीबाट पूरा गराइनेछ । यसबाट पनि सिट खाली हुन गएमा विषय र शिक्षण संस्था परिवर्तन गर्न चाहने विद्यार्थीलाई भर्नाका लागि अवसर दिइनेछ ।
महानगरका अनुसार छात्रवृत्तिमा पढ्नका लागि ११ हजार २८१ ले आवेदन दिएका र त्यसमध्ये १० हजार १६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । छात्रवृत्तिका आवेदक ११ हजार ८७१ जना विद्यार्थीमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो ।