
नेपाली पर्यटन क्षेत्रकी हस्ती एवं द्वारिकाज् होटेलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटको समस्याले ग्रसित उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।
स्वर्गीय श्रेष्ठ नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज् होटेलकी संस्थापक हुन् । पछि काभ्रेको धुलिखेलमा लक्जरी रिसोर्ट ‘द्वारिकाज् धुलिखेल’ सञ्चालनमा ल्याइन् । श्रीमान् द्वारिका दास र उनले ०२८ सालमा खोलेको द्वारिकाज् होटेलको चिनारी अन्तर्राष्ट्रिय जगत्मा समेत छ ।
तर, धुलिखेलमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउँदा श्रीमान् साथमा थिएनन् । श्रीमान्को ०४८ सालमा निधन भएपछि उनैले होटेलको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अहिले उनकी ठूली छोरी संगीताले होटेल र रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् ।
उनी द्वारिकाज् होटेलकी संस्थापिका मात्र होइनन्, नेपाली पर्यटन क्षेत्रकै अग्रणी व्यक्तित्व हुन् । साथै, अग्रणी महिला उद्यमी पनि । स्वास्थ्यमा पटक–पटक समस्या देखिइरहँदा पनि उनी घरमा आराम गरेर बसिनन् । सधैँ पर्यटन क्षेत्रमै सक्रिय रहिरहिन् । पर्यटन र सामाजिक संघसंस्थाका कार्यक्रममा सक्रिय सहभागी हुन्थिन् । नेपालको हेरिटेज सम्पदा प्रवद्र्धनमा पनि उनको ठूलो भूमिका रह्यो ।
नेपाली कला, संस्कृतिलाई संवद्र्धन गर्दै सुविधासम्पन्न होटेल तथा रिसोर्ट सञ्चालन गरिरहेकी श्रेष्ठले सुरुवात गरेको महिला उद्यमशीलता स्वदेशमा मात्र नभई विदेशमा समेत प्रशंसित रहेको छ । छोरी बाहिर निस्कन नहुने मान्यता राख्ने समयमा उनले श्रीमान्सँग मिलेर ट्राभल कम्पनी र लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएकी थिइन् ।
लक्जरी बुटिक होटेलकी सुरुवातकर्ता श्रेष्ठको निधनले पर्यटन उद्योगमा अपूरणीय क्षति पुगेको पर्यटन व्यवसायीले बताएका छन् । होटेल संघ नेपाल (हान)ले उनको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल ट्विटरमार्फत सुप्रसिद्ध पर्यटन व्यवसायी अम्बिकाको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । ‘उहाँको निधनले नेपालको पर्यटन र सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ उनले भनेका छन् । यस्तै, पर्यटनमन्त्री बद्री पण्डेले पनि श्रेष्ठको निधनबाट नेपालले अनुभवी पर्यटन व्यवसायी गुमाएको बताएका छन् ।
द्वारिकाज् देशकै पहिलो लक्जरी हेरिटेज होटेल हो । द्वारिकाज् धुलिखेल पनि हाइप्रोफाइलको रोजाइमा पर्छ । दुवै होटेल नेपाल आउने हाइप्रोफाइल पाहुनाको पहिलो रोजाइमा पर्छन् । हालै मात्र चिनियाँ अर्बपति व्यवसायी ज्याकमा आएर द्वारिकाज् बत्तिसपुतलीमा बसेका थिए । नेपालमा सार्क शिखर सम्मेलन हुँदा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले सबै पाहुनाहरूलाई धुलिखेलको द्वारिकाज् रिसोर्टमा सत्कार गरेका थिए, जुन पछिसम्मै चर्चाको विषय बनेको थियो ।
नेपाली हस्पिटालिटी उद्योगमा द्वारिकाज् होटेलको अलग्गै पहिचान रहेको पुराना पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । उनले भने, ‘उहाँ नेपालको लक्जरी पर्यटनमा नयाँ बेन्चमार्क खडा गर्न सफल हुनुभयो, उहाँको निधनले पर्यटन उद्योगमा अपूरणीय क्षति पुगेको छ ।’
वाणिज्य शास्त्रमा स्नातक गरेकी उनले ट्राभल एजेन्सीसमेत सञ्चालन गरेकी थिइन् । उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)को संस्थापक अध्यक्ष, पाटा नेपाल च्याप्टरको संस्थापक सदस्य हुन् । विभिन्न संघ–संगठनहरूमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उनको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको हानको ठहर छ ।
हानका अध्यक्ष विनायक शाह नेपाली हेरिटेजलाई पर्यटनसँग जोड्न श्रेष्ठकै योगदान रहेको बताउँछन् । ‘उहाँले नेपाली हेरिटेजलाई पर्यटनसँग जोड्नुभयो । त्यो अत्यन्तै नौलो प्रयोग थियो । त्यो पर्यटनको नयाँ पहिचान पनि बन्यो । द्वारिकाज् होटेललाई विश्व पर्यटनकै मानक बनाउनुभयो । यो नेपालकै युनिक होटेल हो, जसले नेपाली कला, संस्कृतिलाई विश्वजगत्मा चिन्हाउने काम गरेको छ । द्वारिकाज् होटेलबाट प्रभावित नहुने पाहुना कमै होलान । विदेशबाट आउने राजपरिवार, पोलिटिसियन, सिनेकर्मी, खेलाडी, ठूला व्यवसायी, सेलिब्रिटीलगायत हाइप्रोफाइल द्वारिकाज्मै बस्छन्,’ शाहले भने, ‘उहाँ सधैँ भन्नुहुन्थ्यो– हामीकहाँ के छैन, सबथोक छ । तर, अत्यन्त सस्तोमा गयौँ । आफ्नो स्तर कायम गर्नुपर्छ ।’ हुन पनि उहाँका होटेल धेरै महँगा छन्, तैपनि झन् चलेका छन् । धेरैको रोजाइमा पर्छन् । नेपालमा महिला उद्यमशीलता विकासमा उहाँको ठूलो योगदान छ ।’