१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार o७:५१:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o७:५१:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सम्पन्न भएको छ । चार दिनसम्म मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ देखाइएको थियो । फिडेल देवकोटा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न चलचित्रलाई पुरस्कृत गरिएको थियो ।

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवको निर्णायकमण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा निना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए । समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए ।

निर्देशक सुब्बाले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा यस्तो चलचित्र महोत्सव महत्त्वपूर्ण हुने बताए । ‘यो फिल्म फेस्टिभलले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा ठूलो भूमिका खेलिरहेको छ । तपाईंहरूले अमेरिकामा फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नमा जुन योगदान पुर्‍याइरहनुभएको छ त्यसको लागि धेरै अनुग्रहित छौँ,’ उनले  उनले भने, ‘म यहाँहरूलाई बधाई र धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नमा जुन योगदान पुर्‍याइरहनुभएको छ, त्यसका लागि म धेरै अनुग्रहित छु । म फेस्टिभलमा सहभागी दर्शकहरूलाई पनि धन्यवाद दिन चाहन्छु । तपाईंहरूले फेस्टिभललाई जसरी माया गरिरहनुभएको छ यसले नेपालीप्रति हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न सहयोग पुगिरहेको छ ।’

उनले महोत्सवले नयाँ चलचित्र निर्देशक, निर्माता र कलाकारलाई पनि विकास गरिरहेको उनले बताए । ‘यस वर्ष फेस्टिभलमा युवा चलचित्रकर्मीहरूको उपस्थिति बढेको देखेको छु । यसले पक्कै पनि फेस्टिभलको विकास हुँदै गएको देखाउँछ । भविष्यमा हाम्रो कथा, डायस्पोरामा रहेका नेपालीहरूको कथाहरू सर्वव्यापी हुन फेस्टिभलले ठूलो अर्थ राख्छ भन्ने मैले बुझेको छु,’ उनले भने । 

अभिनेता राईले आफ्नो अघिल्लो चलचित्र ‘सेतो सूर्य’देखि नै महोत्सवमा निरन्तरता पाएको बताए । उनले आफू सकेसम्म नियमित रूपमा फेस्टिभलमा सहभागी हुने जनाए । आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौँ संस्करण उत्साहजनक रूपमा सम्पन्न भएको बताए । 

पुरस्कृत फिल्मको  सूची 

  • बेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)
  • जुरी अवार्ड : मम् 
  • इम्पावर्डमेन्ट अवार्ड : वखरी, पाकिस्तान 
  • डिएमभी क्लोजअप : मेरा दादु (माई ग्रान्डपा)
  • डकुमेन्ट्री अडिएन्स च्वाइस : नो मोनास्ट्री नो भिलेज
  • उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज

सर्ट फिल्म 

  • बेस्ट सर्ट न्यारेटिभ : सनई
  • बेस्ट सट् इन्टरनेसनल : न्यान्गा
  • नेपाली पानोरमा : धे ड्रिम्स इन्टरनेसनल फिचरतर्फ 
  • बेस्ट न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)