एपिएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजना भइरहेको प्रतियोगिताको बिहीबारको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–२ को रोमाञ्चक सेटमा हरायो ।
एपिएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दी म्याच’ भइन् । दुई खेलमा आर्मीको लगातार हार हो । पहिलो दिन आर्मी न्यु डायमन्डसँग ३–१ ले पराजित भएको थियो । नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गर्यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा प्रहरीले साबिक विजेता न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो ।
पहिलो खेलमा प्रहरी एपिएफसँग ३–१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दी म्याच’ बनिन् । शुक्रबार हुने पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्नेछ । अर्को खेलमा न्यु डायमन्डले एपिएफविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।