१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
इलाममा मतदानस्थलतर्फ निर्वाचन सामग्री लगिँदै
२o८१ बैशाख २२ शनिबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलाम २ र बझाङ (१) उपनिर्वाचन, आजदेखि मौन अवधि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१७:oo

आचारसंहिता प्रतिकूलका गतिविधि निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमनको व्यवस्था, उपहार लिन–दिन र भोजभतेर गर्न नपाइने

इलाम २ 
- दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेदवार  
- एक लाख १६ हजार ८८९ मतदाता  
- ७९ मतदानस्थल र १४९ मतदान केन्द्र  
- ७४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन

बझाङ (१) 
१२ उम्मेदवार
- ६१ हजार ७४८ मतदाता 
- ७४ मतदानस्थल र ९३ मतदान केन्द्र
- मतदानस्थल र केन्द्रमा ६५१ कर्मचारी र १२ सय सुरक्षाकर्मी परिचालन

इलाम २ र बझाङ प्रदेश (१) मा शनिबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधि लागू गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए । 

उपनिर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता २०७९ मा भएको व्यवस्थाबमोजिम मतदानको दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू हुने आयोगले जनाएको छ । यो अवधिमा प्रचारप्रसार गर्न निषेध गरिएको छ । 

आयोगले आचारसंहिता प्रतिकूलका गतिविधि निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमनको व्यवस्था मिलाएको छ । ऐन तथा आचारसंहिताले मौन अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरेको छ ।  

आयोगले आचारसंहिताविपरीत वक्तव्य दिने, विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण नगर्न र निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न अपिलसमेत गरेको छ । प्रचारप्रसार निषेध अवधिमा निगरानी गर्न र जानकारी गराउन आयोगले सम्बन्धित सबै निकायलाई निर्देशनसमेत दिएको छ । 

आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै इकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्नुपर्ने भनेको छ ।

दल, उम्मेदवार, प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, संघसंस्था र निकायबाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गर्नुपर्ने भनिएको छ । निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरिएको छ । 

निर्वाचन (कसुर तथा सजाय) ऐनको दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दान–दातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न रोक लगाइएको छ । 

मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुनेजस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँकतै भए/गरेको पाइएमा कानुनबमोजिम तत्काल कारबाही गर्न आयोगले सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।  

निर्वाचन कार्यालयले सबै मतदानस्थलमा बुधबार नै निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकृत देवीचरण फुएँलले जानकारी दिए । ‘अब निर्वाचनको अन्तिम तयारीमा छौँ । हामीले सबै मतदानस्थलमा कर्मचारी र सामग्री पठाइसकेका छौँ,’ उनले भने, ‘बिहीबार बिहानैबाट मतदान केन्द्र निर्माणको काम सुरु हुन्छ । पाँचवटा मदानस्थलमा परीक्षा भएकाले शुक्रबार मात्र मतदान केन्द्र निर्माणको काम हुनेछ ।’

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसहित तीन हजार बढी प्रहरी परिचालन गरिएको हो । ‘निर्वाचनको सुरक्षाका लागि हामी तम्तयार छौँ,’ उनले भने, ‘मौन अवधिलाई प्रभावकारी बनाउन प्रहरीले काम गरिरहेको छ ।’
 

ad
ad