इ–कमर्स कम्पनी ‘दराज’को पोखरा महानगरपालिकास्थित कार्यालयमा चोरी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा–१५ टुटुंगा बस्ने २९ वर्षका अर्जुन परियार, पोखरा– १० रंगशाला बस्ने २७ वर्षका विकास अधिकारी र धादिङ घर भई पोखरा– २ नालाको मुख बस्ने २९ वर्षका लोकेन्द्रबहादुर इटनी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
गत २४ चैतमा पोखरा– ८ नयाँबजारस्थित दराजको ‘अनलाइन डेलिभरी’ भवनमा रहेको शौचालयको सिसा फोडी उक्त भवनमा रहेको लकरसहित पाँच लाख ८२ हजार पाँच सय ८० रुपैयाँ, सामसुङ मोबाइल एक थान र झोला पाँच थान चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पोखरा– ५ प्रस्याङबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूबाट प्रहरीले लकर एक थान र दराजको झोला एक थान बरामद गरेको शर्माले जानकारी दिए। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।