१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गोकर्ण अवस्थी
२o८१ बैशाख २२ शनिबार o६:४५:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

डब्लुटिओमा सदुपयोग नभएका २० वर्ष

विश्व व्यापार संगठनको सदस्यताबाट हामीजस्ता अन्य मुलुकले लाभ लिन सके पनि हामीले सकेनौँ र २० वर्ष खेर फाल्यौँ

Read Time : > 4 मिनेट
गोकर्ण अवस्थी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४५:oo

सन् २००३ सेप्टेम्बर ११ मा विश्वको अर्को कुना मेक्सिकोको कानकुन सहरमा नेपालले विश्व व्यापार संगठनको सदस्य बन्न दिएको आवेदनलाई संगठनको मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्दा यहाँ निकै उत्साह थियो । त्यसपछि अनुमोदनको प्रक्रिया पूरा गरेर सन् २००४ अप्रिल २३ मा नेपाल विधिवत् संगठनको सदस्य बनेको हो । तत्कालीन अवस्थामा संसद् नभएको हुँदा अध्यादेशबाट सदस्यता अनुमोदन भएको थियो । त्यसको पछि कुनै विरोध पनि भएन । आज नेपालले सदस्यता लिएको २० वर्ष पूरा भएको छ । 

विश्वको व्यापारिक सञ्जालसँगको आबद्धता निकै महत्वपूर्ण भए पनि समय बित्दै जाँदा यसको चर्चा र यसप्रतिको चासो घट्दै गयो । नेपालले संगठनलाई खोजेको असहज हुँदा हो । त्यसबाट लाभ लिएर विश्व बजारमा नेपाली उत्पादन पैmलाउने चाहना सायद थिएन र छैन कि ?

भारतले २०४५ मा नाकाबन्दी लगाउँदा नेपालले संगठनको माउ संस्था ग्याटको सदस्यताका लागि आवेदन दिएको थियो । अहिले संगठनकै एउटा सम्झौताका रूपमा रहेको ग्याटको आर्टिकल पाँचमा भूपरिवेष्टित मुलुकलाई समुद्री सतहसम्म सहज पहुँच दिनेसम्बन्धी व्यवस्था छ । यही भएर सुरुमा ग्याटको खोजी भएको थियो । पछि नाकाबन्दी हट्यौँ, हामीले पनि बिर्सियौँ । ग्याट पनि विश्व व्यापार संगठन बन्यो ।

त्यसपछि सदस्यताका लागि पहल भयो । करिब पाँच वर्षको निरन्तरको छलफलपछि नेपाल एक्सेसन प्रक्रियाबाट सदस्य बन्ने पहिलो अतिकम विकसित मुलुक बन्यो । त्यसपछि लगत्तै दुई दिनपछि कम्बोडिया संगठनको सदस्य बन्यो । अहिले २० वर्षपछि फर्केर हेर्दा कम्बोडियाको निर्यात यस अवधिमा एघार गुणा बढेको छ । जब कि नेपालको निर्यात पुग–नपुग तीन गुणा बढेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी कम्बोडियाको सन् २००४ मा करिब २० करोड डलर रहेकामा गत वर्ष पाँच अर्ब डलर पुगेको छ । गत वर्ष नेपालको प्रत्यक्ष वैदेशिक लगानी करिब पाँच करोड डलर हाराहारी मात्रै रह्यो । नेपालजस्तै अतिकम विकसित मुलुक, हामीभन्दा खराब द्वन्द्वको अवस्था भोगेको कम्बोडियाले सँगसँगै सदस्यता पनि लिएको हुँदा तुलना गरिएको हो ।

नेपालले विश्व व्यापार संगठनलाई खोजेको आफूलाई असहज हुँदाको अवस्थामा हो । त्यसबाट लाभ लिएर विश्व बजारमा नेपाली उत्पादन फैलाउन  चाहना सायद थिएन र अझै छैन कि ?

किनभने, तीस वर्षअघिको जस्तो सिंगापुर, स्विट्जरल्यान्डजस्ता देशसँग तुलना गर्ने अवस्था अब रहेन । अब हामीले सुधार हेर्ने हो भने कम्बोडिया, बंगलादेश, इथियोपिया रुवान्डाजस्ता देशलाई हेर्ने हो । त्यसैले, विश्व व्यापार संगठनको सदस्यता यी मुलुकले उपयोग गर्न सके हामीले सकेनौँ । त्यसको समीक्षा भने जरुरी छ । संगठन पनि विश्वकै लागि जरुरी छ । 

डब्लुटिओको माउ संस्था जनरल एग्रिमेन्ट अन ट्रेड एन्ड ट्यारिफ (ग्याट) को संस्थापक सदस्य चीन पछि यसबाट अलग भएको थियो । तर, विश्व बजार चहार्ने क्रममा फेरि डब्लुटिओको आवश्यकता महसुस गरी झन्डै डेढ दशकको मिहिनेतपछि पुनः जोडिएको छ ।

अन्य देशको कडा सर्त मानेर पनि सदस्यता लिएको चीन र रुसलाई हेर्दा यसको महत्व कम छैन भन्ने प्रस्ट हुन्छ । सन् २००४ यताको नेपालको बाह्य क्षेत्र सकारात्मक छैन । सदस्यता लिएको वर्ष ८२ अर्ब रुपयाँ रहेको व्यापार घाटा १७ खर्ब छुन खोजेर अहिले केही घटेको छ । 

डब्लुटिओको सदस्यताले नेपाली उत्पादनको बजार १६३ मुलुकसम्म पुर्‍याइदिएको छ । यससँगै नेपाली बजार पनि अरूका लागि खुलेको छ । तर, नेपालले सदस्यता लिएको वर्ष नै औसत भन्सार दरबन्दी १२ देखि १४ प्रतिशतको हाराहारीमा थियो । अहिले सीमान्त कमी आएको छ । त्यसकारण डब्लुटिओको सदस्यता लिनुपूर्व नेपाली बजार त खुला थियो । तर, बाहिरी बजार हाम्रा लागि बन्द थिए । सदस्यताले त्यो खोलिदिएको छ । तैपनि निर्यात बढ्न सकेको छैन । उल्टै त्यसयता अर्थतन्त्रमा दोहोरो चाप प¥यो ।

उच्च दरले आयात बढ्यो भने निर्यातमा विनिमय दर र मूल्यवृद्धि दर मिलाउने हो भने त्यो कत्ति पनि बढेकै छैन । सदस्यतायता सशस्त्र द्वन्द्व, लोडसेडिङ, राजनीतिक अस्थिरता, श्रम समस्या, बन्द हडताल सबैको मारमा मुलुक पर्‍यो । यता देशभित्र लोडसेडिङको समय दिनको १४ देखि १६ घन्टासम्म पुग्यो । श्रम समस्या उच्च रह्यो । बन्द–हडतालले उत्पादनमूलक गतिविधि निकै सुस्ताए ।

मध्यस्थता व्यापार फस्टायो । घरजग्गाको व्यापार चुलियो, मुख्यतया बैंकिङ क्षेत्रको सेयरको आकर्षण बढ्यो, विदेश जाने युवाको चाहनाले कन्सल्टेन्सी फस्टायो । वैदेशिक रोजगारबाहेक अन्य क्षेत्रले विदेशी मुद्रा भित्र्याउन सकेनन् । पढ्न विदेश गएका युवामार्फत करिब ८० अर्ब रुपैयाँ बाहिरिइसकेको छ ।देशमा रकम आउने माध्यम सीमित छन् । पहिलो, वस्तु र सेवाको निर्यात । दोस्रो, पर्यटकले नेपालमा आएर गर्ने खर्च । तेस्रो, नेपालीले विदेशमा गएर कमाएको आर्जन जसलाई सेवा क्षेत्रभित्र राख्न सकिन्छ । चौथो, वैदेशिक लगानी । पाँचौँ वैदेशिक सहायता ।

सबैभन्दा दिगो आर्जन वस्तु र सेवाको निर्यात नै हो । त्यसपछि वैदेशिक लगानी । यी दुवै क्षेत्र पछिल्लो समयमा संकुचित भएका छन् । वैदेशिक मात्रै नभई स्वदेशी पनि लगानी हुन नसक्दा उत्पादन बढेन । उत्पादन नै नभएपछि के निर्यात गर्ने ? डब्लुटिओले नेपालजस्ता देशलाई बजार उपलब्ध गराउने मात्रै होइन, क्षमता विकासका लागि समेत सहयोग गर्छ । यसअन्तर्गत व्यापारका लागि सहायता (एड फर ट्रेड) कार्यक्रम गरिब देशलाई सहायता दिनकै लागि ल्याइएको हो ।

तर, यसबाट नेपालले फाइदा लिन सकेन । अब त अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको हुँदा यसबाट फाइदा लिने समय थोरै छ, तर सम्भावना भने पक्कै छ । अझै  पनि रकम आएर हाम्रो क्षमता विकास गरी रकम कहाँ कसरी आएर खर्च भइरहेको छ, त्यो पहिल्याउनुपर्छ । त्यसलाई हाम्रो हितअनुकूल उपयोग गर्न सके व्यापार क्षमता बढ्न सक्छ ।

नेपालले तुलनात्मक लाभका क्षेत्र भनेर पहिल्याएका वस्तु तथा सेवामा अब बढी ध्यान दिनुपर्‍यो । सदस्यतायता चौथोपटक तुलनात्मक लाभका वस्तु पहिचान गर्ने अध्ययन एनटिआइएस हालै सम्पन्न भएको छ । यसले पनि परम्परागत रूपमै लाभका वस्तु तथा सेवा पहिचान गरेको छ । तर, अबका दिनमा यसरी निर्यात बढ्दैन । आयात प्रतिस्थापनका लागि पनि विशेष कार्ययोजना नै चाहिन्छ । 

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सकिने प्रावधानसमेत डब्लुटिओमा छ । यसअन्तर्गतको सेवा व्यापार सम्झौतामा ‘मुभमेन्ट अफ नेचुरल पर्सन’ भन्ने व्यवस्था छ । यसको पूर्ण कार्यान्वयन हुन सके वैदेशिक रोजगारी थप सुरक्षित हुनेछ । तर, विश्व व्यापार संगठनभित्र पनि चर्को विवाद रहने गरेका बिषयमा यत्तिकै फाइदा लिन भने कठिन छ । 

नेपाल स्तरोन्नतिको संघारमा समेत भएकाले अब फेरि एकपटक फरक ढंगबाट सोच्नुपर्ने आवश्यकता छ । सेवा निर्यातमा देखिएको सम्भावनालाई बढाउनुपर्छ । पर्यटन आयभन्दा झन्डै दोब्बर पर्यटन व्यय हुने मुलुकमा परम्परागत पर्यटनले अब थेग्दैन । पूर्वाधार विस्तार, पर्यटकको बसाइ र खर्चमा बढोत्तरी आवश्यक छ । दैनिक ५० डलरभन्दा कम खर्च भइरहेको अवस्थामा फाइदा लिन कठिन छ ।

सूचना प्रविधिको निर्यात देख्नेबित्तिकै कर बढाउने नीतिले सुधार सम्भव छैन ।प्रशासनिक झमेला, अस्थिर नीति, भूतप्रभावी कानुन, भारतबाट सहजै हुने आयातलगायत कारणले वैदेशिक लगानीका लागि नेपाल आकर्षक गन्तव्य होइन । त्यसैले, यहाँ कुल गार्हस्थ उत्पादनको ०.२ प्रतिशत मात्र वैदेशिक लगानी भइरहेको छ । यसलाई बढाउन लगानी सम्मेलन मात्रै पर्याप्त छैन । स्वागत गर्ने मन हुनुपर्छ । नाफा गर्न दिने सदाशयता हुनुपर्छ । उनीहरूको इज्जत र प्रतिष्ठाको ख्याल गर्नुपर्छ । 

निर्यात एक्लै हुँदैन । यो उत्पादन र सस्तो एवं प्रतिस्पर्धी मूल्यसँग जोडिएको विषय हो । प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय उत्पादन गर्नु चुनौतीपूर्ण छ । सबै वस्तु त्यसमा अटाउँदैनन् । अहिले बनेको एनटिआइएसले पनि सम्बोधन गर्न सक्दैन । यसलाई व्यावहारिक बनाऔँ ।निजी क्षेत्रलाई अगाडि नबढाई फाइदा सम्भव छैन । १३औँ मन्त्रीस्तरीय सम्मेलनले नेपालजस्ता मुलुकलाई सन् २०२६ मा स्तरोन्नति भए पनि व्यापार सहजीकरण सुविधा थप तीन वर्ष दिएको छ । यो समय खेर नफालौँ । निजी क्षेत्रलाई अगाडि बढाऔँ । 

विश्व व्यापार संगठनमा प्रतिनिधित्व सरकारको हुने भए पनि उत्पादन त निजी क्षेत्रको हो । यो देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको छ । यो अन्तर्राष्टिय वित्त निगम र नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले देखाएको हो । रोजगारीमा ८६ प्रतिशत योगदान छ । ९६ प्रतिशतभन्दा बढी निजी क्षेत्रको निर्यात छ । निजी क्षेत्रलाई अगाडि बढाउँदा लाज मान्नु हुँदैन ।

सम्मान दिँदा कसैले हीनताबोध गर्नु पनि जरुरी छैन । किनभने, राजनीतिज्ञ र कर्मचारीको पारिश्रमिकको स्रोत निजी क्षेत्र र सर्वसाधारण नै हुन् । नाफा कमायो भनेर खेद्नु पनि जरुरी छैन । नाफाविना किन कसैले व्यापार गरोस् । के हामी ज्यालाविना काम गर्न तयार हुन्छौँ र ? सामान नबेची विश्व व्यापार संगठनबाट फाइदा हुँदैन । सामान बनाउने र बेच्ने निजी क्षेत्रले नै हो । 
(अवस्थी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हुन्)

ad
ad