१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्र मामिला जानकार भन्छन्- कतारी राजाकाे भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२४:oo

पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।  

उनीहरूले सानो भूगोल र थोरै जनसंख्या भए पनि दूरदर्शी नेतृत्व र उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गर्न सके छोटो अवधिमै कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपालले कतारबाट सिक्न सक्ने धारणा राखे।

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्धनको उत्खनन सुरु भइसकेपछि कतारले आफ्नो भौगोलिक आकारभन्दा धेरै माथि अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा विशिष्ट भूमिका खेलिरहेको बताए।

उनले भने, ‘क्षेत्रीय शान्ति कायम, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र ठूला राजनीतिक तनावलाई समाधानका लागि कतारले समन्वयकारी र निर्णायक भूमिका खेल्ने गरी अघि बढिरहेको छ।’

पूर्वमन्त्री कार्कीले नेपाल पनि द्वन्द्वपछि शान्ति प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा मुलुकको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन कतारको अनुभवबाट महत्त्वपूर्ण शिक्षा लिन सकिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मद्दत गर्न सक्ने विचार प्रकट गरे। 

उनले भने, ‘नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा कतार रहेको छ। विप्रेषणको ठूलो हिस्सा कतारबाट आइरहेको छ। कतारको विकासमा नेपालीले पुर्‍याएको योगदानको सम्मान हुने गरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झन्झटलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उपलब्ध गराउनुर्छ।’

नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले अत्यन्त प्रतिकूल मौसमी वातावरण र सीमित जनशक्तिका बीचमा पनि मुलुकलाई समृद्धिमा लैजान सकिन्छ भन्ने बलियो उदाहरण कतारबाट सिक्न सकिने बताए। उनले भने, ‘कतार बहुआयामिक ढंगबाट अघि बढिरहेको छ, नेतृत्वदायी भूमिका खोजिरहेको र देखाइरहेको छ। मध्यपूर्वका मुलुकमा देखिएका विवाद समाधान गर्ने महत्त्वपूर्ण स्थान कतार बनेको छ।’

हमास र इजरायललगायत मध्यपूर्वी मुलुकमा देखिएका विवाद समाधानमा कतारले आफूलाई ‘विश्व च्याम्पियन’का रूपमा अघि बढाउन खोजिरहेको दृष्टान्त दिँदै डा भट्टराईले हवाई यातायातको माध्यमबाट विश्वमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास भइरहेको बताए।

कतारका अमिरको भ्रमण कूटनीतिक हिसाबले नेपाल सकारात्मक बाटोतर्फ अघि बढिरहेको संकेत र उदाहरणका रूपमा रहेको उनको भनाइ छ।

कतारको सम्पन्नताबाट नेपालले पनि आर्थिक विकास र सम्पन्नतासँग जोडेर अघि बढ्नका लागि फाइदा लिन सक्ने भन्दै उनले श्रम शक्ति विदेश पठाएर नभई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतातर्फ पनि ध्यान दिइनुपर्ने बताए।

उनले कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु अमिरको भ्रमणका अवसरमा सरकारको स्वभाविक ‘एजेन्डा’ भित्र पर्ने बताए। 

यस्तै, कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले पछिल्लो समय कतार कूटनीतिक र आर्थिक रूपमा अन्त्यन्त सफल हुँदै गइरहेको धारणा राखे। ‘इजरायल र हमासबीच विवाद समाधानमा अमेरिका र बेलायतलगायतका मुलुकले पनि कुनै न कुनै रूपमा कतारको मध्यस्थताको भूमिका खोजिरहेका छन्,’ उनले भने।  

अमिरको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको सेवासुविधाबारे छलफल र परामर्श गर्नुपर्नेमा जोड दिँदै नेता खड्काले श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्न सुझाव दिए। चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको बताए। 

उनले कतारसँगको सहकार्यमा नेपाली श्रमिकलाई प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्न सके दुई देशबीचको जनस्तरमा समेत सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे। उनले नेपाललाई महत्व दिएर कतारका अमिरबाट हुने भ्रमणका अवसरमा खुला हृदयले स्वागत गर्दै आतिथ्य प्रदान गर्नुपर्ने सुझाव दिए। 

ad
ad