१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चितवन माछा, मासु, दुध र अन्डामा आत्मनिर्भर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:४८:oo

माछा, मासु, दुध र अन्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ। यहाँ उत्पादित माछा, मासु, दुध र अन्डा प्रतिव्यक्ति आवश्यकताभन्दा बढी उत्पादन हुने गरेको छ।

पशुसेवा कार्यालय चितवनका अनुसार दुध प्रतिव्यक्ति न्यूनतम आवश्यकताभन्दा ४५ दशमलब ३३ लिटर बढी उत्पादन हुने गरेको छ।

प्रतिव्यक्ति न्यूनतम आवश्यकताअनुसार दुध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलव ३३ लिटर उपलब्ध भएको हो। कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलव ५३ किलो, अन्डा चार सय १३ वटा र माछा एक दशमलव ४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ।

जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कुल जनसंख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकताभन्दा बढी उत्पादन हो।

प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अन्डा ४८ वटा र माछा पाँच किलो न्यूनतम आवश्यक पर्ने उनले जानकारी दिए। अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलव ५३ किलो, अन्डा चार सय ६१ वटा र माछा ६ दशमलव ४४ किलो उपलब्ध छ। 

यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाईसमेत पूर्ति गर्न सहज हुने उनले बताए।

प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दुध ८५ लिटर, मासु १८ दशमलव एक किलो, अन्डा ५४ वटा, माछा तीन दशमलव तीन किलो रहेको छ। राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून उपलब्धता हो। जिल्लामा भने न्यूनतम आवश्यकताभन्दा बढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिए। 

यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बंगुर र माछापालनलाई किसानले व्यावसायिक रूपमा अघि बढाएका छन्। जसमध्ये गाईफार्म तीन सय ५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फार्म चार सय ५३ वटा, बंगुर फार्म ६० वटा, कुखुरा फार्म एक हजार नौ सय र माछा फार्म पाँच सय सातवटा दर्ता भई सञ्चालनमा छन्। 

त्यसैगरी, कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै सञ्चालनमा छन्। आर्थिक वर्ष विसं ०७९ र ८० को तथ्यांकअनुसार जिल्लामा दुध ९८ हजार एक सय ८३ मेट्रिक टन, मासु एक लाख ८३ हजार ८१ मेट्रिक टन, माछा ४६ हजार ३८ मेट्रिक टन र अन्डा ३३ करोड २४ लाख ६१ हजार दुई सय १२ वटा उत्पादन भएको थियो। रासस 
 

ad
ad