१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको पहल गरून् : बानियाँ

मिश्रित निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष निर्वाचितमा नगए अस्थिरताको अन्त्य नहुने र गणतन्त्र, संघीयता प्रति नै जनतामा असन्तोष बढ्ने बानियाँको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:४७:oo

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले गणतन्त्र र संघीयताको स्थायित्वका लागि प्रधानमन्त्री प्रचण्डले नै संविधान संशोधनको नेतृत्व लिनुपर्ने बताएका छन्।

संविधान संशोधनबाट मिश्रित निर्वाचन प्रणाली बदली पूर्ण निर्वाचित प्रणालीमा नगए गणतन्त्र र संघीयतामाथि नै असन्तोष बढ्ने उनको भनाइ छ।

रुद्राक्ष समाज नेपालले नयाँ वर्ष २०८१ को अवसरमा बुधबार काठमाडौंको मध्य बानेश्वरमा आयोजना गरेको शुभकामना आदान-प्रदान, सम्मान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले यस्तो बताएका हुन्।

‘वर्तमान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको मनमा गणतन्त्र र संघीयता मेरै देनबाट आएका हुन् भन्ने लाग्छ भने यसको स्थायित्वका लागि संविधान संशोधनको पहल पनि प्रधानमन्त्री प्रचण्डले नै लिनुपर्छ,’ बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बानियाँले भने, ‘मिश्रित निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष निर्वाचित प्रणालीमा नगई सरकारको स्थायित्व हुँदैन। सरकार स्थायी नभए जनतामा यसैगरी असन्तोष बढिरहन्छ र प्राप्त उपलब्धि धरापमा पर्न सक्छ।’

गणतन्त्र प्राप्तिको यतिका वर्ष पनि कुनै पार्टीले पाँच वर्षसम्म सरकार चलाउन नसकेको, गठबन्धन गर्दा पनि पाँच वर्ष नटिकेको चर्चा गर्दै उनले जनतामा बढ्दो निराशा बेलैमा चिर्न सक्नुपर्ने बताए। उनले वर्ष २०८१ लाई कांग्रेस, एमाले, माओवादीजस्ता ठूला दलले आपसमा सहमति कायम गरी मुलुकलाई स्थायित्व दिने वर्षका रूपमा बदल्न अग्रसर हुनुपर्ने धरणा राखे।

राजनीतिकर्मीहरू देश र जनताप्रति इमानदार र सत्यप्रति निष्ठावान नहुँदा पनि जनतामा निराशा छाएको बताएका उनले आफूलाई बदल्न सबै तयार हुनुपर्ने बताए। 

रामनवमीको पर्वको दिन पारेर कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिँदै उनले मर्यादाका प्रतीकका रूपमा रहेका रामले जसरी प्रत्येक राजनीतिकर्मीले जनतालाई नै सर्वोपरी राख्नुपर्ने जिकिर गरे।

विगतको वर्षले मुलुकमा राजनीतिक अस्थिरता, बेथिति र विकृति बढाएकाले जनतामा घोर निराशा छाएको भन्दै उनले २०८१ ले जनतामा आशाको सञ्चार गराउन सकोस् भन्ने शुभकामना व्यक्त गरे।

राजनीतिकर्मीहरू सधैँ परीक्षाको लागि तयार हुनुपर्ने बताएका उनले नयाँ वा पुराना सबै पार्टी र नेताले आफूमाथि गम्भीर आरोप लागेपछि पद त्याग गरेर निष्पक्ष छानबिनको लागि वातावरण बनाइदिनुपर्ने चर्चा गरे। 

सहकारीका नाममा भएका ठगीको निष्पक्ष छानबिन र जनतालाई न्याय दिलाउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका बानियाँले जनताको हितको कुरा गरेर जनता झुक्याउन कसैले नपाउने जिकिर गरे।

रुद्राक्ष समाज नेपालका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवीहरू निर्मल रिजाल, भक्ति भट्टराई, प्रज्वल दवाडी र किरण थापामगरलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि इन्द्रबहादुर बानियाँले रुद्राक्ष समाज नेपालले प्रकाशन गरेको नयाँ वर्षको भित्रेपात्रोको विमोचन गरेका थिए। 

 

ad
ad