१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्यटकीय मुर्मा गाउँमा अझै पुगेन बिजुली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३७:oo

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय  स्थल  रारातालनजिकै रहेको मुर्मा गाउँका र यहाँका स्थानीय अझै  विद्युतको पहुँचभन्दा बाहिर रहेका छन् । रारातालनजिकैको पर्यटकीय गाउँमा विद्युत् विस्तार  हुन नसकेपछि  मुर्मा गाउँका स्थानीय विद्युत् पहुँचभन्दा बाहिर रहेका हुन् ।

रारातालदेखि १५ मिनेटको दूरीमा रहेको मुर्मा गाउँमा वर्षौँदेखि बसोवास गर्दै आएका  ८५ घरपरिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रातको समयमा अँध्यारैमा बस्नुपर्ने बाध्यता रहेको  स्थानीय बासिन्दा दुःखेसो सुनाउँछन् । सदरमुकाम गमगढी बजारलगायत वरपरका बस्तीहरू बिजुलीबत्तीले झिलिमिली देखिने गरेको भए पनि पर्यटकीय मुर्मा गाउँ भने रातिको समयमा सधैँ अन्धकारले छोपिँदै आएको छ ।

सदरमुकाम गमगढीबाट करिब एक घन्टा दक्षिण दिशामा  डेढ दशकअघि निर्माण भएको चार सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत् आयोजना छ भने  गत भदौमा राष्ट्रिय प्रसारणलाइनसमेत मुगु पुगिसकेको छ । अहिलेसम्म पर्यटकीय गाउँ मुर्मा, रारालगायत सोरू, खतेड र कार्मारोङमा विद्युत्  लाइन विस्तारको काम अघि  नबढ्दा स्थानीयको बिजुली बाल्ने धोको अधुरै रहेको छ । जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत् प्रसारणलाइन पुगे पनि रारा मुर्मावासीलाई भने विद्युत् प्रतीक्षा गर्दैमा दिन बित्ने गरेका छन् ।

‘गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि सल्लोको दियालो बालेर जेनतेन समस्या टारेका छन्,’ मुर्मा गाउँका वृषबहादुर रोकायाले दुःखेसो पोख्दै  भने, ‘सरकारले हामीलाई बत्तीको सुविधा दिन सकेको छैन । मुर्मा गाउँका स्थानीयले गमगाढ साना जलविद्युत् छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्जसमक्ष विद्युत् उत्पादनका लागि बारम्बार आग्रह गर्दै आएका छन् ।’ 

‘पर्यटकीय गाउँ भनेर सबै हेर्न यहाँ आउँछन मुर्मा गाउँमा भने बत्ती छैन,’  रोकायाले भने, ‘हाम्रो बसोवास अँध्यारोमा छ। निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुस्किल छ ।’ उनले भने, ‘गरिबीले गर्दा सौर्यपाता किन्ने क्षमता छैन ।’ चार वर्षअघि गमगाढ साना जलविद्युत् आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत् लैजान लाइन विस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ।

ताल्च, पिना, झ्यारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुँच पुगेको भए पनि मुर्मा गाउँमा भने बत्ती नपुग्दा स्थानीय सधैँ निराश छन् । यो आर्थिक वर्षमै रारा मुर्मा गाउँमा विद्युत् पुर्‍याउने लक्ष्य रहेको र ठेक्कामार्फत काम सुरु भइसकेकाले छिट्टै मुर्मा गाउँमा हामी विद्युत् पुर्‍याउँछौँ,’ गमगाढ वितरण केन्द्रका प्रमुख साजनबहादुर ऐडीले बताए । मुर्मागाउँ छायानाथ रारा नगरपालिका– ९ मा पर्छ । यसमा एउटा गाउँको मात्रै सिंगो वडा रहेको छ ।

ad
ad