१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिहीबारदेखि आइक्यानको तेस्रो सम्मेलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१३:oo

लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुईदिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखाप्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजारभन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ । 

सम्मेलनमा लेखा व्यवसायीको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसन फेडेरेसन अफ एकाउन्टेन्ट्स (आइएफएसी)का अध्यक्ष अश्मा रेसमौकीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीका अनुसार अन्तर्राष्ट्रिय नियामक निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो । नेपालले लेखा व्यवसायमा भित्र्याएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । ‘यो सम्मेलनलाई हामी लेखा व्यवसायीको मेला मान्छौँ,’ 
उनले भने ।

सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीनवटा छलफल सत्र हुनेछ । त्यस्तै, दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दिगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ । 

आइक्यानले नेपालमा सिए शिक्षाको विकास र यसका सदस्यहरूको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीको कामको न्यूनतम शुल्क तोक्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताए ।सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव, एक्यानका अध्यक्ष दीपक पाण्डे, अडानका अध्यक्ष केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सिइओ तथा वरिष्ठ सिएहरू सहभागी हुनेछन् । 

ad
ad