१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

मानवमा पहिलोपटक सुँगुरको मिर्गौला : अन्तरप्रजातिबीचको अंग प्रत्यारोपण सामान्य होला ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo

सुँगुरको आनुवंशिक रूपमा परिमार्जित मिर्गौला हासिल गर्ने विश्वको पहिलो व्यक्ति अप्रिल ३ मा अस्पतालबाट डिस्चार्ज भए । अन्तिम चरणबाट मिर्गौला रोगबाट पीडित ६२ वर्षीय रिचर्ड ‘रिक’ स्लेम्यानलाई मिर्गौला प्रत्यारोपणपछि अब डायलासिसको आवश्यकता पर्नेछैन । प्रत्यारोपण बोस्टन, म्यासाचुसेट्सस्थित हार्वर्ड मेडिकल स्कुलको म्यासाचुसेट्स जनरल अस्पताल(एमजिएच) भएको थियो । 

स्लेम्यानलाई अन्तिम चरणमा गएर गम्भीर मिर्गौला रोग पत्ता लागेको थियो । अर्थात्, उनको मिर्गौलाले आफैँ काम गर्न नसक्ने अवस्थामा पुगेको थियो । उनले सन् २०११ देखि २०१८ सम्म डायलासिस गराए र त्यसपछि एमजिएचमा मानव दाताबाट पहिलो मिर्गाैला प्रत्यारोपण हासिल गरे । लगभग पाँच वर्षपछि, प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेको लक्षण देखाउन थाल्यो र मे २०२३ मा स्लेम्यानले फेरि डायलासिस सुरु गर्न थाले । त्यसपछि, उनमा डायलासिससँग सम्बन्धित जटिलता देखिन सुरु भयो, जुन डायलासिस लिने धेरै बिरामीमा देखिन्छ । त्यसको समाधानका लागि उनले ‘डी–क्लोटिंग’ तथा ‘पुनः शल्यक्रिया’का लागि नियमित अस्पताल भ्रमण गर्नुपर्ने भयो । यसले उनको जीवनको गुणस्तरमा असर गर्न थाल्यो । 

‘जिन–सम्पादन’ गरिएको सुँगुरको मिर्गौला मानवअनुकूल हुने गरी अंग परिमार्जन गर्ने जैविक प्रविधि कम्पनी ‘इजेनेसिस’ले प्रदान गरेको थियो । क्याम्ब्रिज, म्यासाचुसेट्सस्थित सो कम्पनीले आनुवंशिक सम्पादनको प्रयोग गरेर सुँगुरबाट लिएको मिर्गौलामा रहेका हानिकारक डिएनए हटायो र मिर्गाैलालाई मानव शरीरसँग थप मिल्दो बनाउन मानव डिएनए थप गर्‍यो । मार्च १६ मा चार घन्टा लामो अप्रेसनपछि परिमार्जित सँगुरको मिर्गौला स्लेम्यानको शरीरमा राखिएको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा बसेर उनी घर फर्किन सक्ने भएका थिए ।

जिन–सम्पादन गरिएको सुँगुरको मिर्गाैला मानवमा सफल प्रत्यारोपणले अंग अभाव अन्त्य हुने आशा बढेको छ, तथापि जेनोट्रान्स्प्लान्टलाई आम प्रयोगमा लानुअघि अझै धेरै काम गर्न बाँकी छ

अप्रिल ३ मा अस्पतालले जारी गरेको विज्ञप्तिमा स्लेम्यानले प्रत्यारोपणपछि घर फर्किंदा जीवनको सबैभन्दा खुसीको क्षण महसुस गरेको बताएको उल्लेख छ । यस्तो प्रत्यारोपणलाई ‘जेनोट्रान्प्लान्टेसन (कुनै एक जीवको अंग अर्को प्रजातिको जीवमा प्रत्यारोपण गरिने कार्य)’को एक उदाहरण मानिन्छ । यस प्रत्यारोपणलाई अमेरिकाको ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)ले जीवन खतरामा रहेका बिरामीमा प्रयोगात्मक उपचार गर्न दिने विधानअनुरूप अनुमति दिएको थियो । 

धेरै देशमा अहिले प्रत्यारोपणमा प्रयोग हुने अंगको अभाव देखिइरहेको छ । यस्तोमा यस प्रक्रियाको सफलताले अंग दान पर्खिरहेका बिरामीलाई आशाको किरण प्रदान गरेको छ । अमेरिकामा अहिले झन्डै एक लाख तीन हजारभन्दा बढी मानिस अंग प्रत्यारोपणको लागि अंगको पर्खाइमा रहेको ‘अर्गान प्रोक्युरमेन्ट एन्ड ट्रान्स्प्लान्टेसन नेटवर्क (अंग खरिद र प्रत्यारोपण सञ्जाल)’को तथ्यांकले देखाएको छ । सोही संस्थाको तथ्यांकअनुसार अमेरिकामा हरेक दिन १७ जना मानिस अंग प्रत्यारोपणका लागि अंग पर्खिंदा–पर्खिंदै मर्छन् । ‘जेनोट्रान्स्प्लान्टेसनले अंग अभावको समस्याको समाधान गर्ने म विश्वस्त छु,’ एमजिएचमा मिर्गाैला प्रत्यारोपण शाखाका मेडिकल निर्देशक लियोनार्डो वी रिएलाले भने, ‘यद्यपि धेरै काम गर्न बाँकी नै छ । तथापि अहिलेको सफलता सम्पूर्ण प्रत्यारोपण समुदायका लागि एक आशावादी खबर हो ।

यसले जेनोट्रान्स्प्लान्टेसनको वास्तविक सम्भावनालाई प्रतिनिधित्व गर्छ, जसबाट एक दिन ठूलो संख्यामा बिरामीले फाइदा उठाउन सक्नेछन्,’ युनाइटेड नेटवर्क फर अग्र्यान सेयरिङका प्रमुख चिकित्सा अधिकारी डेभिड क्लासेनले भने, ‘अंग प्रत्यारोपणका लागि आवश्यक अंगको संख्या र कुल उपलब्ध अंगको संख्याबीचको खाडल कम गर्न सुरु गर्न सक्छ ।’

अहिलेको प्रत्यारोपण परीक्षणको रूपमा गरिएको हो र सुँगुर वा अन्य जनावरको अंग मानवमा प्रत्यारोपणको आम प्रयोग सुरु गर्नुअघि थप अनुसन्धान गर्न आवश्यक रहेको वैज्ञानिकहरू बताउँछन् । सन् २०२२ जनवरीमा डेभिड बेनेट नामक एक अमेरिकी व्यक्तिमा जिन–सम्पादन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मुटुले उनको शरीरमा केही समयसम्म काम गर्‍यो । तर, मार्च २०२२ मा बेनेटको निधन भयो । तथापि, मृत्युको सही कारण सार्वजनिक गरिएको छैन । 

त्यस्तै सन् २०२३ सेप्टेम्बरमा लरेन्स फोसेट आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने दोस्रो व्यक्ति बने । ६ हप्तापछि उनको पनि निधन भयो । मुटु प्रत्यारोपण गरेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले मृत्युअघि फोसेटको शरीरले प्रत्यारोपित मुटुलाई अस्वीकार गरेको संकेत देखाउन थालेको बताएको थियो । त्यही महिना ‘न्युयोर्क युनिभर्सिटी ल्यांकोन हेल्थ’का शल्यचिकित्सकले एक मृत व्यक्तिको शरीरमा गरिएको जिन–सम्पादित सुँगुरको मिर्गाैलाले सामान्य रूपमा काम गरेको सार्वजनिक गर्‍यो । ‘हरेक अंग प्रत्यारोपणमा शरीरले प्रत्यारोपित अंगललाई अस्वीकार गर्ने जोखिम हुन्छ । तर, पछिल्लो समय वैज्ञानिक तथा अनुसन्धानदाता आनुवांशिक रूपमा परिमार्जित अंगको तत्काल अस्वीकृति रोक्न सक्षम देखिन थालेका छन् । तथापि जेनोट्रान्स्प्लान्टलाई आम प्रयोगमा लानुअघि अझै धेरै काम गर्न बाँकी छ,’ युनाइटेड नेटवर्क फर अर्गान सेयरिङका डेभिड क्लासेनले भने ।

ad
ad