१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धुर्कोट कालिका मन्दिर प्रचारप्रसारको अभावले गुमनाम

धुर्कोट गाउँपालिका–५ वस्तुमा रहेको कालिका मन्दिर दुई सय १६ बर्ष पुरानो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५३:oo

धुर्कोट गाउँपालिका– ५ वस्तुको धुर्कोट कालिका मन्दिर दुई सय १६ वर्षअघि स्थापना भएको हो । हिमालय माविका प्रध्यानाध्यापक कृष्ण भण्डारीका अनुसार १८६२ सालमा धुर्कोटे राजा खड्गराज मल्लले कालिका मन्दिर स्थापना गरेपछि आशीर्वाद मागेर शासन सुरु गरेको इतिहास छ । 

यो मन्दिर अनौठो पनि छ । एउटा छानाभित्र काली र शिवका मूर्ति राखिएका छन् । यो विरलै मन्दिरमा हुने गर्दछ । दैनिक नित्यकर्मसहित चैते र बडासैँमा मन्दिरमा विशेष मेला लाग्छ ।

वाचन सम्राट पण्डित भीमकान्त पन्थीका अनुसार शिव मन्दिरमा बलि चढ्दैन । तर, काली अर्थात् दुर्गालाई बलि दिने चलन छ । काली मन्दिरको पूर्वपट्टि र शिव दक्षिणतर्फ भएकाले कालीको सम्मुखमा मात्र बलि दिइँदै आएको पन्थीले बताए । 

मन्दिर र धुर्कोटकोटको सम्बन्ध

यो मन्दिर र धुर्कोटकोटसँग नजिकको सम्बन्ध रहेको छ । हरेक उत्सवमा कालिकाको पूजा गरेर मात्रै धुर्कोट कोटमा पूजा गरिँदै आएको छ । पण्डित पन्थीले बागलुङकालिका र धुर्कोटको कालिका मन्दिरमा कुनै फरक नभए पनि प्रवर्द्धन र प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको बताए । 

केही वर्ष पहिलेसम्म चैते र बडादसैँमा दर्शनार्थीको बाक्लो उपस्थितिले खुट्टा राख्ने ठाउँ हुँदैन थियो । अहिले निकै कम मात्रामा श्रद्धालु भक्तजन मन्दिरमा मेला भर्न आउँछन् । बसाइसराइँले मान्छे गाउँमा छैनन् । गाउँमै भएकाहरू पनि पहिलेजस्तो मेला–उत्सवमा पुग्न जाँगर गर्दैनन् । मन्दिर हिमालय माविको प्रांगण र सडकको नजिक छ ।  

अहिले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन गतिलो माध्यम बनेको छ । ऐ्तिहासिक धुर्कोट कोत, कालिका मन्दिर र नजिकैको विचित्र गुफाको एकीकृत विकास र प्रचारप्रसारको आवश्यकता रहेको स्थानीय अगुवा नरहरि भण्डारीले बताए ।

अधिकांश घरहरू खाली भइसकेका छन् । वृद्धहरूले मात्र कुरेका घरहरू पनि केही समयमै रित्ता हुने सम्भावना धेरै रहेकाले थप चुनौती रहेको उनले बताए । कालिका मन्दिरको आस्था र महिमा गर्विलो भए पनि लामो समय गुमनाम बन्यो।

७२ लाख खर्च गरेर जीर्णोद्धार

सवा दुई सय वर्ष पुरानो भएकाले जोगाउन स्थानीयलाई गाह्रो थियो । पछिल्ला वर्षहरूमा भने मन्दिरको जीर्णोद्धारसँगै आस्थाको उजागर गर्न तीनै तहका सरकार र स्थानीयको सहयोगमा करिब ७२ लाख खर्च गरेर मन्दिरको पुरानै ढाँचामा जीर्णोद्धार गरिएको धुर्कोट गाउँपालिका– ५ का वडाध्यक्ष केशवराज भण्डारीले बताए । कालिकाको गरिमालाई उजागर गर्न अहिले धार्मिक अनुष्ठानसहित चैत्राष्टमीमा भजन महोत्सव राखिएको भण्डारीले बताए ।

धुर्कोट गाउँपालिकामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरू प्रसस्त छन् । तीनै तहको लगानीमा धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासको काम भइरहेको छ । धुर्कोटका धार्मिक स्थलहरूलाई छिमेकी पालिका तथा जिल्लाहरूका पर्यटकीय स्थलसँग जोडेर अगाडि बढाउनुपर्नेमा धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले जोड दिए । उनले धुर्कोटको धार्मिक अवस्था केन्द्र कालिका मन्दिरलाई थप व्यवस्थित र प्रचार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

आस्था जोगाउन भजन महोत्सव
धुर्कोट गाउँपालिका– २ पिपलधाराको बरजा टोल संरक्षण समितिका महिला कालिका मन्दिरको भजनमा सहभागी हुन आए । उनीहरूको १० जनाको समुह छ । गाउँमा व्यावसायिक रूपमा भजन गाउँछन् । गाउँमा पूजा हुँदा, लाहुरे आउँदा र मेला उत्सवमा भजन गाउने चलन छ । दिउँसो र राति ११ बजेसम्म भजन गाउने समिति सदस्य कमला खड्काले बताइन् । गाउँमा भजन गाउँने पुरुष कम छन् । त्यसैले वडाभित्र र बाहिर पनि माग भइरहेको छ । उनीहरूले न्यूनतम पाँच हजार पारिश्रमिक पाउँछन् । धुर्कोट गाउँपालिका–४ जैसीथोकका ५५ वर्षीय लोकनाथ पोख्रेल भजन समूहमा मजुरा बजाउँछन् । 

बैँसबाटै भजन गाउन डुल्थे । समूहमा एकै उमेर समूहका सातजना छन् । मौलिकतामा जोड दिने रौताडीको भजन समूह स्थापित छन् । उनीहरू हरेक उत्सव र प्रतिस्पर्धामा पुग्छन् । दिउँसो ३ बजेबाट रातभर भजन गाएर उज्यालो बनाएका कैयन याद छन् । गाउँमा समूहलाई न्यूनतम १२ हजार पारिश्रमिक दिन्छन् । भजन महोत्सव वा प्रतिस्पर्धाहरूले कला संरक्षण, ऊर्जा र जान्ने अवसर प्रदान गर्ने पोख्रेलले बताए । 

चैत्राष्टमीको अवसरमा आयोजित भजन प्रतियोगितामा धुर्कोट गाउँपालिका– ५ वस्तु, वडा नं. २ पिपलधारा, वडा नं. ४ जैसीथोक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिरको रेखदेख, संरक्षण, प्रचारप्रसार र धार्मिक अनुष्ठानका कामहरू गर्दै आएको छ । 

आफूहरूले गर्ने दैनिक नित्यकर्मसँगै मन्दिरको महत्वलाई प्रचार–प्रसार गर्न थप रचनात्मक कामहरू गर्दैै लैजाने कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।

परियारदम्पतीले धानेको बढाइँ
धुर्कोट गाउँपालिका– ५ का ७४ वर्षीय वृद्धदम्पती मुक्ति र ओमकली परियारले चैते र बढादसैँमा कालिका मन्दिरमा बाजा (बढाइँ) गर्दै आएको वर्षौँ भयो । मुक्तिका अनुसार हजुरबुबा गोरे दमाईंले ६ महिनाको हुँदा मन्दिरमा ल्याएर गजो समाउन सिकाएका थिए । परियारदम्पती मात्रै घरमा छन् । पुर्ख्यौली पेसा सिलाइकटाइ भए पनि आँखा कमजाेर भएपछि उनले त्यो पेसा छाडे । मुक्तिले ६ महिनादेखि अहिलेसम्म हरेक वर्ष कालिका मन्दिरमा बाजा (बढाइँ) बजाउँदै आएका छन् ।


 
 

ad
ad