यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको डे परेड कार्यक्रममा चार हजारभन्दा धेरै नेपाली सहभागी भएका थिए ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार परेडमा सहभागीहरू आ– आफ्नो संस्कृति र परम्परा झल्कने वेशभूषामा सजिएका थिए। नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उद्देश्यका साथ परेडको आयोजना गरिएको बोर्ड अफ डाइरेक्टर जनक राज ढुंगानाले बताए ।
सानफ्रान्सिस्कोको सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूत ॠषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए । परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए । यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरूको समेत सहभागिता थियो ।
डे परेडमा नेपाली चर्चित क्रिकेटर पारस खड्काकाे पनि सहभागिता थियाे । परेड सम्पन्न गर्नमा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, बेष्ट रिजनका विष्णु केसी, उत्तम कार्कीलगायतकाको विशेष योगदान रहेको बताइएको छ ।
कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआरएनएन च्याप्टरबाट पनि उल्लेख्य मात्रामा सहभागिता थियो ।एनआरएनए एनसिसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बिओडीहरूको सहभागिता थियो ।