साउदी अरेबिया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को समूह ‘ए’ विजेता बनेको छ । समूहमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालको मात्रै तीन खेलबाट ६ अंक छ । कतारको चार तथा साउदी अरेबिया, हङकङ र मलेसियाको समान दुई अंक छ ।
कतारको जितले नेपाल आज साउदी अरेबियासँग खेल्नुअघि नै समूह विजेता बन्यो । समूह ‘ए’ मा नेपाल सेमिफाइनलमा प्रवेश गरिसक्दा अन्य टोलीको उत्तिकै सम्भावना छ । एक समूहबाट दुई टोली सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।समूह ‘बी’मा भने अोमान, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)को उत्तिकै सम्भावना रहेको छ ।
ओमानको तीन खेलबाट ६ अंक छ । कुवेत र युएईको समान चार अंक रहँदा बहराइनको दुई अंक छ । कम्बोडिया विनाअंक पुछारमा छ । ओमानको सम्भावना उच्च रहँदा कुवेत र युएईमध्ये एक टोलीसँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
बलियो युएई पछिल्लो खेलमा ओमानसँग ९ विकेटले पराजित भएपछि नेपाल र युएईबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने सम्भावना बढेको हो । आज ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्नेछन् । प्रतियोगिता विजेताले टी–२० एसिया कपका स्थान बनाउनेछ । शीर्ष तीन टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर पाउनेछ ।
नेपालको लगातार तीन जित
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । मलेसियाले सुरुवाती ब्याटिङ गर्दै एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको हो । प्रत्युत्तरमा नेपालले पाँच विकेट गुमाएर चार बलअघि जित निकालेको थियो । दोस्रो खेलमा कतारलाई ३२ रनले हरायो ।
नेपालले सुरुवाती ब्याटिङ गर्दै सात विकेट गुमाएर दुई सय ११ रनको लक्ष्य प्रस्तुत गरेको हो । प्रत्युत्तरमा कतारले जम्मा एक सय ७८ रन बनाउन सक्यो । तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो । हङकङले दिएको एक सय १४ रनको लक्ष्य नेपालले ३४ बलअघि भेट्टाएको हो ।