१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज चैतेदसैँ : बिहानैदेखि बागलुङकालिकामा भक्तजनको घुइँचो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:२८:oo

आज चैतेदसैँ । चैतेदसैँको अवसरमा बिहानदेखि नै बागलुङकालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजा–अर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् ।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजा–आराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङकालिकाको पूजा–आराधना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिका : कला र संस्कृतिको प्रवर्द्धन – स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।

चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई  एक लाख र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले  एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउनेछन् ।     
  
 
 

ad
ad