१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निर्देशन जारी भएको दुई वर्षमा पनि हुन सकेन अन्तरवालेट कारोबार

राष्ट्र बैंकले ०८० असारभित्रै अन्तरआबद्ध हुन वालेटहरूलाई दिएको निर्देशन अझै कार्यान्वयन भएन, फरक वालेटबीच कारोबार गर्न नपाउँदा प्रयोगकर्तालाई सास्ती

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:५७:oo

राष्ट्र बैंकले निर्देशन जारी गरेको दुई वर्ष बितिसक्दा पनि अन्तरवालेट कारोबार खुला हुन सकेको छैन । राष्ट्र बैंकले माघ ०७८ मा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै असार ०८० सम्म वालेट कम्पनीहरूलाई एक–आपसमा अन्तरआबद्ध हुन निर्देशन दिएको थियो । तर, त्यो म्याद सकिएको नौ महिना बितिसक्दा पनि वालेट कम्पनीहरू एक–आपसमा अन्तरआबद्ध हुन सकेका छैनन् । 

फलस्वरूप फरक–फरक कम्पनीको वालेटबीच कारोबार गर्न सकिने सुविधाबाट प्रयोगकर्ता वञ्चित भएका छन् । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीले फड्को मारेको स्वयं राष्ट्र बैंकका अधिकारी दाबी गर्छन् । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीसमेत सुरु भइसकेको छ । तर, देशभित्रै फरक–फरक कम्पनीका वालेटबीच कारोेबार गर्न मिल्ने सुविधा नआउनु दुःखद पक्ष भएको सरोकारवाला बताउँछन् । 

कुनै जोखिम देखिएको अवस्थामा बाहेक राष्ट्र बैंकले अनिवार्य रूपमै वालेट कम्पनीहरूलाई एक–अर्कामा अन्तरआबद्ध हुन निर्देशन दिएको थियो । तर, हालसम्म वालेट कम्पनीहरू एक–अर्कामा अन्तरआबद्ध नहुनु दुुःखद पक्ष भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 

‘हामीले पहिले नै वालेट कम्पनीहरूलाई एक–अर्कामा अन्तरआबद्ध भएर कारोबार खुला गर्न भनेको हो । तर, अहिलेसम्म पनि त्यस्तो कारोबार खुला नहुनु दुःखद पक्ष हो,’ उनले भने, ‘कि वालेट कम्पनीहरूले यो–यो समस्या छ, हामी गर्न सक्दैनौँ भनेर आउनुप¥यो । होइन भने एउटा कम्पनी र अर्काे कम्पनीको वालेटबीच कारोबार गर्न मिल्ने व्यवस्था मिलाउनुपर्छ ।’

अहिले नेपालमा मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको छ । एउटा मोबाइल बैंकिङबाट अर्काे मोबाइल बैंकिङको खातामा पठाउन सकिन्छ । फरक–फरक बैंकको मोबाइल बैंकिङबीच निर्बाध रूपमा रकम आदान–प्रदान गर्न सकिन्छ । त्यसरी नै फरक–फरक कम्पनीका वालेटबीच निर्बाध रूपमा कारोबार खुला गर्नुपर्ने सरोकारवाला बताउँछन् । अहिले एक कम्पनीको वालेटबाट अर्काे कम्पनीको वालेटमा पैसा पठाउन बैंकमै निर्भर हुनुपर्छ । पहिला वालेटबाट बैंक खातामा पैसा पठाउनुपर्छ । त्यसपछि सोही बैंक खाताको मोबाइल बैंकिङबाट अर्काे वालेटमा पैसा पठाउनुपर्छ । सीधै एउटा वालेटबाट अर्काे कम्पनीको वालेटमा पैसा पठाउन सकिन्न । 

स्रोतका अनुसार नयाँ र बजारमा कम हिस्सा भएका केही वालेट कम्पनीहरू एक–अर्कामा अन्तरआबद्ध हुने प्रयासमा छन् । तर, बजारमा ठूला हिस्सा ओगटेका ठूला र पुराना वालेट कम्पनीहरू यसप्रति इच्छुक देखिएका छैनन् । ‘बजार आफ्नो सिन्डिकेट जमाउन पनि कतिपय ठूला कम्पनीहरू यसमा आकर्षित नभएका हुन सक्छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 

खल्ती प्रालि (खल्ती वालेट)का विनय खड्काले यसका लागि भुक्तानी सञ्चालकहरू नै एक–अर्कामा अन्तरआबद्ध हुनुपर्ने बताए । ‘अहिले नेपालमा २७ वटा वालेट कम्पनी छन् । एउटा कम्पनीले अन्य २६ कम्पनीसँग छुट्टाछुट्टै रूपमै अन्तरआबद्ध भएर काम गर्न व्यावहारिक कठिनाइ छ । त्यसमाथि वालेट कम्पनीहरू फरक–फरक भुक्तानी सञ्चालकसँग आबद्ध छन् । यसरी वालेट कम्पनीहरू एक–आपसमा आबद्ध हुन प्राविधिक रूपमा पनि समस्या आउन सक्छ,’ उनले भने, ‘तसर्थ, यसका लागि पहिला भुक्तानी प्रणाली सञ्चालकहरू नै एक–आपसमा अन्तरआबद्ध हुनुपर्छजस्तो लाग्छ । साथै, एकीकृत पूर्वाधार पनि तयार गर्नुपर्छजस्तो लाग्छ । त्यसपछि वालेट कम्पनीहरू स्वतः एक–आपसमा अन्तरआबद्ध हुन सक्छन्जस्तो लाग्छ ।’

यसका लागि भुक्तानी सञ्चालकले इनोभेटिभ प्रणाली ल्याउनुपर्ने पनि उनले बताए । ‘यसका लागि इनोभेटिभ सिस्टम नै चाहिन्छजस्तो लाग्छ । साथै, सेवा शुल्कबारे पनि स्पष्ट व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘पछि वालेट कम्पनीहरूकै खर्च बढ्ने भएमा राम्रो हुँदैन । सबैलाई फाइदा हुने गरी यससम्बन्धी पूर्वाधार र नीतिगत व्यवस्था हुनुपर्छ ।’

सरकारी स्वामित्वको भुक्तानी प्रणाली सञ्चालक अर्थात् नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले वालेट कम्पनीहरूलाई अन्तरआबद्ध बनाउन केन्द्रीकृत (सेन्ट्ररल) प्रणाली विकास गरेको बताए । ‘क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच बनाएको छ । त्यसमै वालेटहरूलाई अन्तरआबद्ध गर्ने मुख्य उद्देश्यसहित केन्द्रीकृत प्रणालीको विकास गरेका छौँ । त्यसमा वालेट कम्पनीहरू जोडिँदै गएका छन्,’ उनले भने, ‘तर, वालेट कम्पनीहरूले ग्राहकलाई यो सेवा खुला नगरेका हुन सक्छन् । यसमा हाम्रो तर्फदेखि हुनुपर्ने काम भएको छ ।’ यद्यपि, यो क्लियरिङ हाउसको आफ्नो केन्द्रीकृत पूर्वाधार मात्रै हो । भुक्तानी प्रणाली सञ्चालकहरू एक–आपसमा अन्तरआबद्ध हुने काम नभएको एक वालेट कम्पनीका अधिकारीले बताए । हाल नेपालमा १० वटा भुक्तानी प्रणाली सञ्चालक छन्, जसले वालेट र मोबाइल बैंकिङजस्ता भुक्तानीको उपकरणलाई प्रणाली बनाइदिने काम गर्छन् । 

यस्तै, राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले वालेट कम्पनीहरूलाई एक–आपसमा अन्तरआबद्ध हुन बाटो खुला गरिसकेको बताए । त्यहीअनुसार वालेट कम्पनीहरू अघि बढेको हुन सक्ने उनले बताए । ‘नेपालले डिजिटल भुक्तानीको विकासमा फड्को मारेको छ । यसअन्तर्गत थुप्रै सुविधाको विकास भएको छ । त्यो क्रममा निकट भविष्यमै फरक–फरक वालेटबीच कारोबार गर्न मिल्ने व्यवस्था हुन्छ,’ उनले भने ।

दुई करोड १६ लाखभन्दा बढी वालेट खाता
हाल नेपालमा २७ वटा वालेट कम्पनी सञ्चालनमा छन् । वालेट खाताको संख्या भने दुई करोड १६ लाख ३३ हजार ६ सय एक छ । अन्तरवालेट मोडलमा दैनिक ५० हजार र मासिक पाँच लाख रुपैयाँ कारोबार गर्न मिल्छ । फागुन महिनामा वालेटमार्फत २४ अर्ब दुई करोड रुपैयाँबराबरको दुई करोड २४ लाख १० हजारवटा कारोबार भएको छ । गत वर्ष फागुन महिनामा १८ अर्ब १५ करोड रुपैयाँबराबरको एक करोड ९७ लाख ८७ हजारवटा यस्तो कारोबार भएको थियो । राष्ट्र बैंकको उक्त तथ्यांकअनुसार पछिल्लो समय वालेट कारोबार बढ्दै गएको देखिन्छ । तर, दुई फरक कम्पनीको वालेटबीच कारोबार हुने व्यवस्था नहुँदा यसको दायर विस्तार हुन सकेको छैन ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट भन्छन्– 
नेपालले डिजिटल भुक्तानीको विकासमा फड्को मारेको छ । यसअन्तर्गत थुप्रै सुविधाको विकास भएको छ । त्यो क्रममा निकट भविष्यमै फरक–फरक वालेटबीच कारोबार गर्न मिल्ने व्यवस्था हुन्छ । अहिले भुक्तानी सेवाप्रदायक आफैँ बजार विस्तार गर्दै गएका छन् । इनोभेटिभ प्रडक्ट पनि ल्याइरहेको देखिन्छ । तसर्थ, अन्तरवालेट कारोबार गर्न पाउने सुविधा पनि छिट्टै आउँछजस्तो लाग्छ ।

ad
ad