१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिसी प्रिमियर कप : एक खेलअगाडि नै नेपाल सेमिफाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२८:oo

साबिक विजेता नेपाल एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी हङकङमाथि आठ विकेटको सानदार जित निकाली नेपालले समूह ‘ए’मा एक खेलअगाडि अन्तिम चारको स्थान पक्का गरेको हो ।

नेपालले तीन खेलमा तीन जित निकाली ६ अंक बटुलेको छ । यसै समूहमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो । साउदी अरब, कतार र हङकङले समान तीन खेलेर दुई नै अंक जोडेका छन् । साउदी, कतार र हङकङले एक खेल खेल्न बाँकी छ । अन्तिम खेलमा जित निकाले पनि नेपालले बटुलेको अंक बराबरी गर्न सक्दैनन् । 

यस समूहबाट सेमिफाइनलमा पुग्ने प्रबल सम्भावना साउदी अरेबियाको छ । समूह ‘ए’ साउदी अरेबिया सबैभन्दा कम वरीयता प्राप्त टोली हो । साउदी अरबले दुई खेल खेल्न बाँकी छ । दुई जित निकाले साउदी अरेबिया अप्रत्याशित रूपमा सेमिफाइनलमा पुग्नेछ । यससँगै मलेसिया, कतार र हङकङका सेमिफाइनल पुग्ने सबै समीकरण समाप्त हुनेछ । साउदी अरेबियाले दुईमध्ये एक खेलमा हारको सामना गर्दा पुछारका तीन टोलीको अन्तिम चारमा पुग्ने सम्भावना जीवितै रहनेछ । 
३४ बलअघि नै नेपाल विजयी
ओमानको अल अमेरात मैदानमा पहिलो ब्याटिङ गरेको हङकङले नेपालका अविनाश बोहोरो, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीको घातक बलिङ सामना गर्न नसक्दा १७.५ ओभरमा एक सय १४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १२.२ ओभरमा एक विकेटको नोक्सानीमा एक सय १७ रन जोड्दै सानदार जित निकाल्यो । नेपालले प्रतिओभर ९.४८ रनरेटमा ब्याटिङ गरेको थियो । नेपालको जितमा शीर्ष चार ब्याट्सम्यानले आक्रामक रूपमा ब्याटिङ गरेका थिए । 

ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको बलियो साझेदारी गरे । यी दुवै ब्याट्सम्यानले प्रतिओभर १३.२० रनरेटमा ब्याटिङ गर्न सफल भए । नेपालले पहिलो विकेटका रूपमा भुर्तेललाई गुमाएको थियो । भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३२ रनको योगदान दिए । क्रिजमा सेट भइसकेका ब्याट्सम्यान सेखले ६.५ ओभरमा आफ्नो विकेट गुमाए । इसान खानले उनलाई कट एन्ड बोल्ड गरे । सेखले १८ बलमा समान तीन चौका र छक्का प्रहार गरी सर्वाधिक ४० रन बटुले । 

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले तेस्रो विकेटका लागि ४१ रनको आवश्यक साझेदारी गरी नेपाललाई लगातार तीन खेलमा जित दिलाए । रोहितले २० बलमा तीन चौकाको सहयोगमा २५ रन बटुले । सन्दीपले १७ बलमा समान एक चौका र छक्का प्रहार गरी १९ रनको योगदान दिए । हङकङका बलरले केवल एक रन मात्र अतिरिक्त दिएका थिए । 

नेपाली बलरका कसिलो बलिङ
टी– २० फम्र्याटमा हङकङ सधैँ नेपालको नजरमा कडा प्रतिद्वन्द्वी हो । यस विधामा हङकङ र नेपालबीचको खेल कमै मात्र एक पक्षीय हुने गर्छ । ओमानको मैदानमा नेपालले एक पक्षीय रूपमै जित निकाल्यो । यसमा बलरहरूले निकै मिहिनेत गरेका छन् । मुख्य बलर करण केसीले एक मात्र विकेट लिएको पिचमा अविनाश, ललित र दीपेन्द्रसिंहले निरन्तर रूपमा विकेट लिए ।

नेपालका यी तीनजना बलरले उत्कृष्ट बलिङ गरेपछि हङकङको बलियो ब्याटिङ लाइनअप एकाएक कमजोर भयो । अझ कतारविरुद्ध अघिल्लो खेलमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रसिंहले केवल आफ्नो ०.५ ओभरको स्पेलमा दुई विकेट लिए । उनले इनिङ्सको १७.४ र १७.५ ओभरमा विकेट हात पार्दै हङकङ एक सय १४ रनमै समेटियो । ऐरीले दुई विकेटका लागि ६ रन खर्चिए । ललितले चार ओभरमा एक मेडन राखी १४ रन खर्चँदै दुई विकेट हात पारे । खेलकै म्यान अफ दी म्याच अविनाशले चार ओभरमा २९ रन खर्चँदै तीन विकेट लिए । 

करणले सुरुवातमै विकेट लिएपछि हङकङको ब्याटिङ कमजोर देखियो । मार्टिन कोटजीले सात बलमा आठ रन बनाए । त्यसपछि अंशु र नजाकत खानबीच दोस्रो विकेटका लागि २५ रनको साझेदारी भयो । कप्तान खानले ११ बलमा १२ रन बनाए । मध्यक्रमका निकै अनुभवी ब्याट्सम्यान बाबर हयात (६), अजाज खान (२) र नरुला राना (६) रनमा आउट हुँदा हङकङ १४.५ ओभरमा ८९–७ को दयनीय अवस्थामा पुग्यो । अंशुले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

नेपालका कप्तान रोहित पौडेल भन्छन्
हङकङमाथिको जित वास्तवमै उत्कृष्ट थियो । यो जितको सबै हकदार हाम्रा बलरलाई जान्छ । उनीहरूले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । बलरले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जुन अन्तिमसम्म रह्यो । यसकारण जितको श्रय बलरलाई नै दिनुपर्छ । बलरसँगसँगै ओपनिङ ब्याट्सम्यानले समेत सोचेजस्तो ओपनिङ दिलाए । हङकङका बलरमाथि ओपनरले दबाबमा राखेका थिए । जुन हामीले सोचेजस्तै सुरुवात भयो । 

हङकङका कप्तान  निजाकत खान भन्छन्
नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ । हामी यसै तीनवटै क्षेत्रमा कमजोर भयौँ । साउदी अरेवियासँग अप्रत्याशित रूपमा हामी पराजित हुनु नै दुःखद पक्ष हो । नेपालविरुद्ध जितको लक्ष्यका साथ आएका थियौँ । तर, नेपालले हामीले भन्दा धेरै राम्रो खेल्यो । नेपालको फिल्डिङ उत्कृष्ट छ । उत्कृष्ट फिल्डिङकै कारण म स्वयं रनआउट भएँ । त्यो एउटा टर्निङ प्वाइन्ट थियो । 

 

ad
ad