१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जितपुरसिमरा गोल्डकप : उपाधिका लागि आज मच्छिन्द्र र पुलिस भिड्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३८:oo

१४औँ जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताले आइतबार नयाँ विजेता पाउने पक्का भएको छ । प्रतियोगितामा फाइनलमा पुगेका मच्छिन्द्र फुटबल र नेपाल पुलिस क्लबले सिमरा गोल्डकप उचालेका छैनन् । साबिक विजेता चर्च ब्वाइज क्लब क्वार्टरफाइनल र पूर्वविजेताहरू सेमिफाइनलबाटै बाहिरिपछि सिमरा गोल्डकपले नयाँ विजेता पाउन लागेको हो । पुलिस आठ वर्षपछि दोस्रोपटक अन्तिम दुईमा पुगेको हो । मच्छिन्द्र पहिलोपटक उपाधिनजिक पुगेको हो । यस सिजनमा मच्छिन्द्र चौथो उपाधि उचाल्ने योजनामा छ । छैटौँ संस्करणको फाइनलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो । 

मच्छिन्द्र चौथो संस्करणको सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबबाट १–० ले पराजित भएको थियो । मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो । यस सिजनमा उत्कृष्ट फर्ममा रहेको मच्छिन्द्रले गत साता मात्र विराट गोल्डकप हात पारेको थियो । गत वर्ष मोफसलमा आयोजना भएका गोल्डकपमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यसहित मच्छिन्द्रले चर्चित खेलाडीलाई अनुबन्धन गरेको हो । यसैको प्रतिफलस्वरूप मच्छिन्द्रले विराटसहित मकवानपुर र केपी ओली कप उपाधि जितेको छ । मच्छिन्द्रले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको थियो । पुलिसले क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो । 

मच्छिन्द्रको लक्ष्य चौथो उपाधि
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरू उपाधि जित्नेमा विश्वस्त रहेको बताए । ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौँ, मोफसलकै प्रतियोगितालाई लक्षित गरी टोली निर्माण गरिएको हो,’ उनले भने । पुलिसका प्रशिक्षक चेतन घिमिरेले वर्षको दोस्रो उपाधि जित्ने लक्ष्य रहेको जनाए । वीरगन्ज गोल्डकप उपाधि जितेको पुलिस गत साता तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो । प्रशिक्षक चेतन घिमिरेले ०८० मा युवा खेलाडी सम्मिलित पुलिसको टोलीले मोफसलमा उत्कृष्ट प्रदर्शन भएको दाबी गरेका छन् । जितपुरसिमरा गोल्डकप उपाधिसहित ०८१ लाई उत्साहजनक बनाउने पुलिसका प्रशिक्षक घिमिरेले बताए । ‘हाम्रा ऊर्जावान् युवाशक्तिले यस वर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु,’ उनले भने । 

पुलिसका चौधरीले फाइनल गुमाए
पुलिसले उपाधि भिडन्तमा आफ्ना महत्वपूर्ण खेलाडी शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेँलो कार्डका कारण उनी एक खेलमा प्रतिबन्धमा परेका छन् । यसकारण उनले फाइनल गुमाउनेछन् । एपिएफविरुद्धको सेमिफाइनलमा चौधरीले गोल लाइनबाट बल क्लियर गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।  मच्छिन्द्रले पुलिसविरुद्ध खेलाडी परिवर्तन गरेको छैन । 

ad
ad