१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शनिबार राति इरानको मिसाइल आक्रमण हुँदा देखिएको इजरायलको आकाश
२o८१ बैशाख १७ सोमबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मध्यपूर्वमा युद्ध विस्तारको जोखिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१९:oo

इस्लामिक गणतन्त्र इरान र इजरायलबीच आमने–सामनेको अवस्था सिर्जना भएको छ । इरानको शक्तिशाली सेना ‘स्लामिक रिभोलुसनरी गार्डस् कर्पस् (आइआरजिसी)ले शनिबार राति तीन सयभन्दा धेरै ड्रोन र मिसाइलले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेपछि नयाँ तनाव सुरु भएको हो । सम्भावित कारबाही र परिस्थितिको सामनाका लागि दुवै देश ‘अलर्ट’ अवस्थामा छन्। 

घोषित युद्धको घोषणा नभए पनि इरान र इजरायलबीचको पाँच दशकदेखिको तनाव उत्कर्षतिर जाँदा मध्यपूर्वमा युद्ध विस्तारको जोखिम देखिएको छ । आइआरजिसीले इजरायलमाथि आक्रमण गरेपछि तेहरानका सडकमा खुसी मनाइँदै छ भने बाँकी विश्व मध्यपूर्वको युद्ध विस्तार हुन सक्ने जोखिमबाट त्रसित छ । 

इजरायलले ‘सही’ समयमा मूल्य तिराउने चेतावनी दिएको छ, इरानले नयाँ ‘आक्रमण’को ‘कडा र पश्चात्ताप गर्नुपर्ने गरी जवाफ’ दिइने प्रतिक्रिया दिएको छ । इजरायलका वार क्याबिनेटमन्त्री बेनी गान्ट्जले इरानी आक्रमणको इजरायलले ‘सही’ समयमा मूल्य तिराउने चेतावनी दिइसकेका छन् । ‘हामी क्षेत्रीय गठबन्धन निर्माण गर्नेछौँ र उपयुक्त समय र तरिकाले इरानलाई यसको मूल्य तिराउनेछौँ,’ गान्ट्जले विज्ञप्तिमा भनेका छन् । तत्काल प्रत्याक्रमणको कदम नउठाए पनि इजरायल इरानसँग बदला लिन प्रतिबद्ध देखिन्छ । 

इजरायललाई प्रत्याक्रमणमा सघाउँदा स्थिति नियन्त्रणबाहिर जाने र अकल्पनीय युद्ध भड्किन सक्ने आकलन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका इरानविरुद्धका कुनै पनि प्रत्याक्रमणमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् । तर, इजरायल इरानी आक्रमणको कडा जवाफ दिनुपर्ने दबाबमा छ । इरान र इजरायलले विश्वलाई नयाँ संकटतर्फ धकेलेको देखिँदै छ । 

इरानले इजरायलमाथिको यो आक्रमण रिभोलुसनरी गार्डस्का दुई जर्नेलसहित सातजना इरानी अधिकारी मारिने गरी गत १ अप्रिलमा भएको सिरियास्थित इरानी कन्सुलेटमा भएको इजरायली हवाई आक्रमणको जवाफ भएको संकेत गरेको छ । आइआरजिसीले विज्ञप्ति जारी गर्दै यो आक्रमण ‘इजरायली अपराध’को जवाफ भएको र आक्रमण पूरा भएको बताएको छ । इरानले आफू थप आक्रमणका लागि इच्छुक नभएको बताउँदै छ ।

अन्तर्राष्ट्रिय समुदायको चिन्ता
इजरायलमाथि हमलाको निन्दा, संयम अपनाउन नेपालको आह्वान

अन्तर्राष्ट्रिय समुदायले इरानी आक्रमणको कडा निन्दा गर्दै यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै ‘गम्भीर तनाव निम्त्याएको’ टिप्पणी गरेका छन् । ‘म यसले निम्त्याउन सक्ने खतराबारे निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्छु,’ उनले भनेका छन् । यसैबीच, ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि जी–७ राष्ट्रका नेताहरूले ‘पर्ख र हेर’को रणनीतिबारे छलफल गरेका छन् ।

अमेरिकी नेतृत्वको सैन्य संगठन नाटोले पनि इरानी आक्रमणको निन्दा गर्दै इजरायललाई संयमका लागि अपिल गरेको छ । चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटा’को रूपमा चित्रण गरेको छ । भारतीय विदेश मन्त्रालयले पनि सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ । मध्यपूर्वको महत्वपूर्ण शक्ति मुलुक साउदी अरबको विदेश मन्त्रालयले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यो क्षेत्र र यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ ।  

नेपालले इजरायलमाथि इरानबाट आइतबार भएको आक्रमणको निन्दा गर्दै कूटनीति र वार्ताबाट समाधान खोज्न आह्वान गरेको छ । इजरायल र इरानको नाम उल्लेख नगरी नेपालले पश्चिम एसियामा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । आइतबार जारी विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले कूटनीति र संवादमार्फत पश्चिम एसियामा शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ ।

‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रका विकासक्रमलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताको स्थितिप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा छ, ‘नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्दछ र कुनै पनि बल प्रयोगको निन्दा गर्दछ । हामी सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापनाका लागि आह्वान गर्दछौँ ।’ इजरायलस्थित नेपाली राजदूतावासले बेग्लै सूचना जारी गरी इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न आग्रह गरेको छ । दूतावासले आवश्यक परेमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र सहचारी सञ्जयकुमार साहसँग सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

ad
ad