१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

०८० मा थपियो ५ सय ५१ मेगावाट विद्युत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३३:oo

०८० मा २३ आयोजनाको पाँच सय ३३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत वर्षको सुरुवात (२ वैशाख)मै सौर्य विद्युत् पावरको नवलपरासीस्थित दुई मेगावाटको सोलार प्लान्ट सञ्चालनमा आएको थियो भने अन्तिम दिन ३० चैतमा ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । हाल यसको परीक्षण उत्पादन भइरहेको छ । 

परीक्षणमा रहेकासहित नेपालमा विद्युत्को जडित क्षमता तीन हजार एक सय ४५ मेगावाट पुगेको छ । एकै वर्ष धेरै परियोजना सञ्चालनमा आउनु सकारात्मक पक्ष भएको उनको भनाइ छ । यो वर्ष राष्ट्रिय प्रसारण प्रणालीमा एक हजार मेगावाट विद्युत् थपिने अनुमान गरिएको छ । सरकारी तथा निजी क्षेत्रबाट वर्ष ०८१ मा नौ सय ७३ मेगावाट क्षमताको ६४ परियोजना सञ्चालनमा आउने प्राधिकरणको विश्वास छ । प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले ०८१ मा प्राधिकरणकै एक सय १२ मेगावाटको रसुवागढी, ५७ मेगावाटको  तल्लो र माथिल्लो सान्जेन, एक सय दुई मेगावाटको भोटेकोशीलगायतका परियोजना सञ्चालनमा आउने बताए । 

‘वर्ष ०८१ मा प्राधिकरण र निजी क्षेत्रले बनाएको आयोजनाबाट एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने देखिएको छ,’ उनले भने, ‘यो हालसम्म परियोजनाको भौतिक प्रगतिका आधारमा अनुमान गरिएको तथ्यांक हो । कुनै प्राविधिक समस्या नआएमा वर्ष ०८१ मा झन्डै एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिन्छ ।’

आसन्न हिमालयन हाइड्रो एक्स्पो र तेस्रो लगानी सम्मेलनका कारण वर्ष ०८१ ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण अवसर हुने देखिएको छ । इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले आगामी १२, १३ र १४ वैशाखमा हाइड्रो एक्स्पो गर्दै छन् । त्यसलगत्तै १६ र १७ वैशाखमा सरकारले तेस्रो लगानी सम्मेलन गर्दै छ । उक्त दुई कार्यक्रमको ठूलो लाभ ऊर्जा क्षेत्रलाई हुने इप्पान अध्यक्ष गणेश कार्की बताउँछन् ।

भारत र बंगलादेशमा १५ हजार मेगावाट विद्युत् बेच्ने योजनाको मार्गचित्र तयार

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्रको मस्यौदा बनाएर मन्त्रिपरिषद्मा पठाएको छ । उक्त मार्गचित्रमार्फत सन् ०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
  • मार्गचित्रमा १० हजार मेगावाट विद्युत् भारत र पाँच हजार मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने लक्ष्य लिइएको छ । 
  • पुसमा भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ, त्यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सुनिश्चित भएको छ । 
  • बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने गरी पिपिएको प्रक्रिया अघि बढेको छ । 
  • ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएसँगै असारको पहिलो साता पूर्वमा आएको बाढीले एक सय ३३ मेगावाटका ३० जलविद्युत् आयोजना क्षतिग्रस्त भएका थिए ।


 

ad
ad