१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निक्षेपको ब्याजदर घटेको घट्यै

सबैभन्दा बढी एनएमबि बैंकको ७.९७ प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकको ५.६६ प्रतिशत ब्याजदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३५:oo
  • २० वाणिज्य बैंकमध्ये १२ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्, पाँच बैंकको ब्याजदर यथावत् रहँदा एभरेष्ट र एनएमबिले बढाए 
  • चैतमा औसत ७.२५ प्रतिशत कायम भएको व्यक्तिगत मुद्दतीको ब्याजदर वैशाखमा घटेर ७.०७ प्रतिशत कायम 
  • निक्षेप संकलनको तुलनामा कर्जा विस्तार हुन नसकेर अधिक तरलता व्यहोरिरहेका बैंकहरूले निरन्तर घटाए ब्याजदर
  • ग्लोबल आइएमई, प्रभु, लक्ष्मी सन्राइज, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको ब्याजदर समान

१ वैशाखदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर पुनः घटाएर मुद्दतीमा पैसा राखेर ब्याज कमाउन चाहनेलाई निराश पारेका छन् । वाणिज्य बैंकहरूले भदौयता निरन्तर ब्याजदर घटाइरहेका छन् । १ वैशाखदेखि घट्ने नयाँ ब्याजदर पनि शुक्रबार सार्वजनिक गरिएको छ । कुल २० वाणिज्य बैंकमध्ये १२ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने पाँच बैंकको ब्याजदर यथावत् छ । एभरेष्ट र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन् । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार हुन नसकेर अधिक तरलता व्यहोरिरहेका बैंकहरूले ब्याजदर घटाएका हुन् ।

एनआइसी एसिया, ग्लोबल आइएमई, प्रभु, लक्ष्मी सन्राइज, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिटिजन्स, कुमारी, सिद्धार्थ बैंक, सानिमा र प्राइम कमर्सियल बैंकले ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीतर्फ एनआइसी एसिया बैैंकले चैतमा ८.५४ प्रतिशत ब्याजदर दिएकोमा वैशाखलाई ७.७५ प्रतिशत तोकेको छ । एनआइसीले ब्याजदर ०.७९ प्रतिशत विन्दुले घटाएको हो । ग्लोबल आइएमईले ७.६ प्रतिशत पुर्‍याएको ब्याजदर घटाएर ७ प्रतिशत कायम गरेको छ । 

चैतमा औसत ७.२५ प्रतिशत कायम भएको व्यक्तिगत मुद्दती ब्याजदर वैशाखमा घटेर ७.०७ प्रतिशत कायम भएको छ । त्यस्तै, संस्थागततर्फको औसत ब्याजदर ६.०९ प्रतिशतबाट घटेर ५.८७ प्रतिशत कायम भएको छ ।

एनआइसी एसिया, प्रभु, कुमारी, नबिल, सिटिजन्स इन्टरनेसनल, सानिमा र प्राइम बैंकले तोके ६ प्रतिशतभन्दा बढी ब्याजदर

कुन बैंकमा पैसा राख्दा बढी ब्याज पाइन्छ ?
शुक्रबार बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार एनएमबि बैंकले सबैभन्दा बढी ब्याजदर दिने भएको छ । यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.९७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । उच्चतम दरमा ब्याजदर घटाए पनि एनआइसी एसिया बैंकले दिने ब्याजदर दोस्रो धेरै हो । एनआइसी एसियाले ७.७५ प्रतिशत ब्याजदर दिने भएको छ । 

ग्लोबल आइएमई, प्रभु, लक्ष्मी सन्राइज, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको ब्याजदर समान छ । यी बैंकहरूले वैशाखमा ७ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । सबैभन्दा कम ब्याजदर सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले ६.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने नेपाल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत कायम छ । त्यस्तै, नेपाल एसबिआई बैंकको पनि ब्याजदर न्यून छ । यसले ६.५३ प्रतिशत ब्याजदर दिने भएको हो ।

संस्थागत मुद्दतीमा कुन बैंकमा बढी ब्याज पाइन्छ ?
संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकको छ । एनएमबिले ६.९७ प्रतिशत ब्याजदर तोकेको छ । ६ प्रतिशतभन्दा बढीको ब्याजदर तोक्ने बैंकहरूमा एनआइसी एसिया, प्रभु, कुमारी, नबिल, सिटिजन्स इन्टरनेसनल, सानिमा र प्राइम कमर्सियल बैंक छन् । 

ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, सिद्धार्थ बैंक, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, हिमालयन र एभरेष्ट बैंकहरूको ब्याजदर ६ प्रतिशत कायम छ । नेपाल एसबिआई, माछापुच्छ्रे  बैंक, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक र कृषि विकास बैंकको ब्याजदर ६ प्रतिशतभन्दा न्यून छ ।  

ad
ad